ताप्लेजुङमा मतगणना सुरु
ताप्लेजुङ : ताप्लेजुङमा मतगणना प्रक्रिया सुरु गरिएको छ । जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार सर्वदलीय बैठकले वडागत रूपमा मतगणना गर्ने सहमति गरेपछि मतगणना प्रक्रिया सुरु गरिएको हो । सहमतिअनुसार अहिले सिरीजङ्गा गाउँपालिकाका खेवाङ र पेदाङ क्षेत्रबाट मतगणना कार्य सुरु गरिएको छ । मत गणनास्थललाई तारजालीको घेराबारासहित सुरक्षित बनाइएको छ भने सिसी क्यामेराको समेत व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मतगणनास्थल मात्र होइन, मतपेटिका भण्डारण कक्ष समेत सिसी क्यामेराको माध्यमबाट निरन्तर निगरानीमा राखिएको छ। यसअघि जिल्लाका दुर्गम तथा उच्च हिमाली क्षेत्रका केही मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरी सदरमुकाम ल्याइएको थियो । सबै मतदान केन्द्रका मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि मतगणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
ताप्लेजुङमा प्रतिनिधि सभा सदस्य पदका लागि १३ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । जिल्लामा कुल ९० हजार ३ सय २७ मतदाता रहेका थिए भने निर्वाचनका लागि ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र तोकिएको थियो । बिहीबार सम्पन्न निर्वाचनमा ४६ हजार ४७४ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस !