ताप्लेजुङमा कांग्रेस उम्मेदवार गजेन्द्र प्रसाद तुम्याहाङको अग्रता
ताप्लेजुङ : ताप्लेजुङमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याहाङले अग्रता लिएका छन्। प्रारम्भिक परिणामअनुसार तुम्याहाङ लिम्बुले ५ सय ७१ मत पाएका छन्। नेकपाका खेल प्रसाद बुढाक्षेत्रीले ४ सय ४२ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका क्षितिज थेबेले २ सय ९४ मत प्राप्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ९७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका सन्तोष राईले ४४ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुकसाम लाबुङ लिम्बुले ९ मत प्राप्त गरे। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्र प्रसाद थापाले ३ मत, जनता समाजवादी पार्टीका अरुण लेछर्बोले २ मत, र जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ, जनमुक्ति पार्टीका इन्द्र कुमार लिम्बु, तथा १–१ मत प्राप्त गरेका छन्।
हालसम्म ६१ मत बदर भएको प्रशासनले जनाएको छ। मतगणनास्थललाई तारजालीको घेराबार र सिसी क्यामेरासहित सुरक्षित बनाइएको छ। मतपेटिका भण्डारण कक्षसमेत निगरानीमा राखिएको र प्राविधिक तथा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिएका छन्।
ताप्लेजुङमा प्रतिनिधि सभा सदस्य पदका लागि १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदानमा कुल ४६ हजार ४७४ मत खसेको छ, जुन करिब ५१ प्रतिशत हो। हालसम्म ताप्लेजुङको ६१ वटा वडामध्ये दुईवटा वडाको मतगणना सम्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस !