नवलपुर १ मा रास्वपाका गौतम ३४ हजार मतान्तरले विजयी
नवलपुर : नवलपुर जिल्लाको क्षेत्र नम्बर १ मा रास्वपाका राजन गौतम निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका नेता बालकृष्ण घिमिरेलाई पराजित गरेका हुन्। गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी घिमिरेले १६ हजार २ सय ९३ मत प्राप्त गरे।
गौतमले ३४ हजार ६ सय ५२ मतको अन्तरमा घिमिरेलाई हराएका हुन्। गौतमले हराएका घिमिरे कांग्रेस जिल्ला उपसभापति हुन्। गौतमले यो क्षेत्रमा २०७९ मा पनि प्रतिस्पर्धा गरेका थिए। त्यो बेलामा उनी तेस्रो भएका थिए। यो पटकको निर्वाचनमा यो क्षेत्रमा एमाले तेस्रो भयो।
एमालेका भागिरथ सापकोटाले ९ हजार १ सय ३९ मत प्राप्त गरे। नवलपुर १ कांग्रेस नेता डा शशांक कोइरालाले २०६४ साल देखि लगातार जित्दै आएको क्षेत्र हो। यस अघि नवलपुर २ रास्वपाकै मनिष खनाल विजयी भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !