रविले खुट्टा टेकाए,  बालेनले जुरुक्कै उठाए

रविले खुट्टा टेकाए,  बालेनले जुरुक्कै उठाए

अहिलेको परिणामले शासन व्यवस्था फेरेको होइन,सत्तामात्र उलटपुलट भएको हो। तर,भूकम्प यसरी आएको छ कि मानौं राजनीतिक व्यवस्था नै परिवर्तन भएको छ।

अरू त अरू, यसपटकको आम चुनावमा यसरी सोहोरिएर झन्डै दुईतिहाइ मत आउला भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) स्वयंलाई पनि लागेको थिएन होला। कसैलाई भन्दा वा सार्वजनिक खपतका लागि कतै बोलिएको भए बेग्लै कुरा। तर,रास्वपाको पक्षमा जनउभार यसरी आयो कि तीन वर्षअघि वैकल्पिक राजनीतिक धार बनेर उभिएको रास्वपा अहिले मूलप्रवाहको नेतृत्व गर्दैछ।

चुनावी मतपरिणामहरू धमाधम आइरहेका छन्। प्रायः सबैमा रास्वपाका उम्मेदवारहरू विजय बनिरहेका छन्। एकाधबाहेकमा रास्वपाले अन्य दल प्रतिस्पर्धी नै नभए जसरी फराकिलो अन्तरमा जितिरहेका छन्। बालेन चुनावी इपिसेन्टर बनेको झापा–५ बाट ६८ हजार ३ सय ८४ मत ल्याई विजयी बनेका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतान्तरले पराजित गरेपछि बालेनको प्रधानमन्त्री बन्ने अबको बाटो खुला भएको छ। र, बालेनको चर्चा चुलिएको छ।

फागुन २१ को चुनावलाई केन्द्रमा राख्दै बालेन रास्वपा भित्रिएदेखि नै चुनावी कम्पन र परकम्पन भइरहेकै हो। सफलता चुम्न बालेन यो बीचमा झापामात्र पुगेनन्,पूर्वीपहाडी उकालो चढ्दै पाथीभरा माताको दर्शनदेखि जनकपुर हुँदै मधेसका पूरै जिल्ला र सुदूरपश्चिमका जिल्ला पुगेर घण्टी बजाएका थिए। कतिपय जिल्लामा रवि साथै लिएर उनले रास्वपाको चुनावी अभियान चलाएका होइन, कुदाएका थिए, सुनामी बेगजस्तै। बालेनमय बनेको थियो, रास्वपाको चुनावी कार्यक्रम। परिणाम पनि त्यस्तै आएको छ। तीन वर्षअघि २१ सिट जितेर संसद् छिरेको रास्वपा अहिले एक्लै दुईतिहाइको यात्रामा अघि बढेको छ। पुराना कांग्रेस,एमाले, माओवादी मिसिएको नेकपा र मधेसकेन्द्रित सबै दलहरू यो सुनामीको मारमा परेका छन्। कतिपय दल र तिनका शीर्ष नेता नराम्ररी पछारिएका छन्।

बालेन वेगसँगै उनको चर्चा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चुलिएको छ। ३६ वर्षकै उमेरमा शासकीय नेतृत्वमा पुग्न लागेको खुसी देशभित्र मात्र होइन,बाहिर पनि छाएको छ। निराशाले निस्सासिएको युवा आकाँक्षा, बिदेसिन बाध्य नेपाली युवाका आशाको पात्र बनेका छन् उनी। बालेनमा त्यस्तो के छ ? आखिर बालेनमय चुनाव र उनको विजयप्रति यति धेरै अपेक्षा बढ्नुको कारण के हो ? र, यसपटक रवि–बालेनले हाँकेको चुनावी परिणाम यो रूपमा कसरी रास्वपाको पक्षमा गयो ? स्वाभाविक जिज्ञासा हो।

यसको पहिलो जवाफ गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोह र हिंसात्मक आन्दोलनमै ठोकिन्छ। सामाजिक सञ्जालको निर्वाध प्रयोग,सुशासन र दलीय भागबन्डा रोकिनुपर्ने आवाज उठाउँदै जेन–जी पुस्ताले जायज माग उठाएका थिए। राज्यले त्यसलाई समयमै सम्बोधन गर्न सकेको भए युवा सडकमा उत्रनुपर्ने अवस्था आउँदैनथ्यो। त्यसमाथि हिंसा भड्काई ताण्डब मच्चाउने तत्वहरूको घुसपैठ हुँदा जेन–जीमाथि गोली वर्षियो र एकैदिन १९ जना कलिला युवा शहादत हुनुपरेको थियो। आक्रोश र बितन्डाले यस्तो रूप लियो कि सिंहदरबार, संसद् भवनदेखि न्यायालय र राज्यका विभिन्न संरचना,व्यक्तिगत सम्पत्ति र संरचना जलाइएको थियो।

त्यसमा को–को दोषी छन् खुट्याउन गठित जाँचबुझ आयोगले चुनाव अघि प्रतिवेदन बुझाउन सकेन,आइतबार कार्की आयोगले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदैछ। प्रतिवेदनले के देखाउँछ,खुल्दै जाला। तर,चुनावअघि प्रष्ट दुईधार देखियो। जेन–जी पुस्ताले तत्कालीन सरकारले हठात गोली वर्षाउँदा क्षति पुगेको भन्दै कारबाहीका लागि अडान राख्दै आएको छ। त्यसको नेतृत्व मूलतः रास्वपाले गरिरहेको छ। अर्को धार तत्कालीन सरकारको नेतृत्व गरेको एमाले र कांग्रेस हो। उसले आन्दोलनमा घुसपैठ भएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने भन्दै आएको छ। युवा आक्रोश यति बढ्यो कि चुनावी मैदानमा हार र जितको एउटा प्रमुख माध्यम यी दुई धार नै देखियो।

दोस्रो, सुशासनको मुद्दा नै हो। अहिलेको परिणामले शासन व्यवस्था फेरेको होइन,सत्ता मात्र उलटपुलट भएको हो। तर,भूकम्प यसरी आएको छ कि मानौं राजनीतिक व्यवस्था नै परिवर्तन भएको छ।

सत्ता जनताको इच्छा हुन्जेल मात्र टिक्ने हो भन्ने शासकहरूले बुझेको देखिएन। सत्ता बन्दुकको नाल वा अन्य तागतले टिक्दैन। क्षणिक टिक्नु बेग्लै कुरा। तर,लोकतन्त्रमा जनताको इन्छामा मात्र सत्ता टिक्छ। विश्वको राजनीतिक इतिहासले यही भन्छ। नेपालको इतिहासले समेत पटक–पटक यसलाई पुष्टि गरेको छ। राणा शासनको पतन होस्,पञ्चायती शासन ढल्दा होस्। मूल कारण जनताको इच्छा र चाहानाले ने सत्ता उलटपुलट गरेका छन्।

जनतामाथि कुशासन थप्दै जाँदा कुनै दिन यस्तो आउँछ,सत्ता मात्र होइन,शासन व्यवस्था नै फेरिन्छ। जनताको इच्छालाई अनदेखा गरेर एकतन्त्र र कुशासनतिर लम्किँदा नै ०६२÷६३ को राजनीतिक परिवर्तन भएको थियो। अहिलेको सत्ता परिवर्तनको प्रमुख कारण पनि दलहरूले जनताको इच्छा बुझ्न नसकेको रूपमा बुझ्न सकिन्छ। भू वा हवाई राजनीति र समयको वेग त सहायक मात्र हुन्।

सत्ता सधैं जनता आँखा वरपर घुम्नुपर्छ। जनताको दैलो वरपर हुनुपर्छ। तिनैको सेवामा तल्लीन हुनुपर्छ। तर,विगतमा त्यसो हुन सकेन/भएन। कांग्रेस,एमाले वा माओवादी प्रायः सबै दलको प्रकृति र प्रवृत्ति एकै देखियो,पार्टीलाई कम्पनीको रूपमा चलाउने,पार्टीको जिम्मेवारी सम्हाल्ने सीमित घेराको बोलवाला,चरम गुट,नातागोता,लोभीपापी र व्यापारिक घराना, स्वार्थी समूहको सीमित घेराबन्दी। यसले जनता र सरकार,पार्टी र नेता,कार्यकर्ताबीच दूरी बढाइदियो। नेतृत्वले जगका कुरा प्रत्यक्ष सुन्नै चाहेन, सकेन वा दिइएन।

अहिले रास्वपा फैलिनु र अरू पछारिनुको अर्को प्रमुख कारण पनि यही हो। मतदाताले नयाँ र परिवर्तन रोजे। पुरानाका कुरा सुन्नै चाहेनन्। कांग्रेसले गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन गरी आफूलाई बदलिएको सन्देश दिन खोजे पनि सफल भएन। थापा स्वंय सर्लाही–४ बाट रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग फराकिलो अन्तरमा पछाडि छन्। विशेष महाधिवेशनको परिवर्तनलाई मतदाताले पत्याएनन् वा कांग्रेसले बुझाउन सकेन। त्यो बिस्तारै 
खुल्दै जानेछ।

तेस्रो तर महत्वपूर्ण कारण बालेनको व्यक्तित्व र उनीभित्रको युवा आकर्षण नै हो। सधैं कालो चस्मा,कालै कपडा र दारीमा देखिने उनको स्वरूप यो चुनावमा बदलियो। उनी जुन ठाउँ र परिवेशमा पुगे, त्यही भेषमा सजिए। मतदातासामु लामो र पट्यारलाग्दो बोलेनन्। ३ देखि ७ मिनेटमा बालेनले सबै सम्बोधन सकिसक्थे। जसलाई मतदाताले मन पराए। इस्युमा बोले।

कसैलाई गाली गरेनन्। मात्र आफ्ना कुरा बुझ्ने गरी भने। त्यसै पनि रास्वपाले उनलाई प्रधानमन्त्रीका रूपमा उभ्याएको थियो। त्यसलाई जनअनुमोदन पनि भएको छ। तर,उनको हाउभाउ प्रस्तुति सरल देखियो। निकै सरल,शिष्ट प्रस्तुति मत माग्ने बेलामा पनि देखाए। जितिसकेपछि पनि उनको प्रस्तुतिमा उन्माद नदेखिनु सुन्दर पक्षका रूपमा लिन सकिन्छ।  बालेनभित्र लुकेका यी पक्षले रास्वपाको वैकल्पिक धारको स्वरूपमै फेरबदल बनाइदियो। रास्वपा स्थापना गर्न, जग बसाउन सञ्चारकर्मी पृष्ठभूमिका रविको कार्यकुशलता र मेहनत गहिरो छ। अघिल्लोपटक ६ महिनामात्र अवधिमा पनि उनले पार्टीलाई सशक्त बनाए। आफू महिनौं जेलनेल बसेर पनि रास्वपालाई खुट्टा टेकाए। बालेनले अहिले रास्वपाको शिर उठाएका छन्।

मधेसी अनुहार पहिलोपल्ट प्रधानमन्त्री बन्दैछन् भनेर खासगरी ३२ सिट बोकेको मधेसमा बालेन क्रेज थप्यो। प्रायः सबै जिल्लाका मतदाताले बालेन हेरे,चुनाव चिह्न घण्टी सम्झे। रास्वपाका अधिक उम्मेदवारलाई भन्दा मतदाताले घण्टीलाई सम्झे,यो तथ्य रास्वपाका जिम्मेवार नेताहरू स्वयं स्वीकार्छन्। यिनै पृष्ठभूमिले एक र्‍यापर, एक इन्जिनियर, काठमाडौं महानगरपालिकाका नगर प्रमुख रहिसकेका बालेनलाई प्रधानमन्त्रीको पदनजिक पुर्‍याइ दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.