एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पदमुक्त
हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले जिल्ला कमिटीका अध्यक्ष श्रीधर पोखरेललाई पदमुक्त गरेको छ। पार्टीको जिल्ला सचिवालय बैठकले अध्यक्ष पोखरेल विगत पाँच महिनादेखि पार्टीको नियमित काम र सम्पर्कमा नरहेको भन्दै उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। सोमबार बसेको सचिवालय बैठकले पोखरेललाई पदमुक्त गरेको हो।
पार्टीका अनुसार अध्यक्ष पोखरेलले पार्टीलाई कुनै जानकारी नदिइ लामो समयसम्म मौन बसेका थिए। यसबीच उनले सामाजिक सञ्जालमार्फत ‘जिम्मेवारीबाट राजीनामा दिएको’ अभिव्यक्ति सार्वजनिक गरेपछि त्यसप्रति जिल्ला कमिटीले गम्भीर ध्यानाकर्षण जनाएको थियो।
सचिव सिता विष्टद्वारा जारी प्रेस विज्ञप्तिमा पार्टी पंक्ति र सार्वजनिक रूपमा फैलिएको भ्रमको खण्डन गर्दै पोखरेललाई अध्यक्ष पदबाट मुक्त गरिएको उल्लेख छ। पार्टीले जिल्ला कमिटीका उपाध्यक्ष हिदम लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ।
यसैबीच मकवानपुर एमालेले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हका उम्मेदवारका पक्षमा मत माग्न तथा चुनाव व्यवस्थापनमा खटिने नेता–कार्यकर्ता, सदस्य, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।
पार्टीले निर्वाचनमा मतदान गर्ने मकवानपुरका मतदाता, निर्वाचन आयोग, कर्मचारी तथा सुरक्षा निकायप्रति पनि आभार व्यक्त गरेको छ। साथै निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई दिँदै संविधान, लोकतन्त्र, विकास, समृद्धि र सुशासनका पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस !