समानुपातिक मत : रोल्पामा नेकपा पहिलो, रास्वपा दोस्रो
रोल्पा : रोल्पामा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ। अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी पहिलो भएको छ। नेकपाको तारा चिन्हमा २५ हजार ६२ मत खसेको छ।
रोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो भएको छ। रास्वपाले १३ हजार ६ सय ३८ मत पाएको छ। प्रत्यक्षतर्फ रास्वपा तेस्रो भएको थियो भने नेपाली कांग्रेस निकटमप्रतिद्वन्दी थियो। तर, समानुपातिक मतमा कांगेस तेस्रो स्थानमा सिमित भएको छ। रुख चिन्हमा ११ हजार ४ सय ९९ मत छ। नेकपा एमालेको रुख चिन्हमा १० हजार ९, नेकपा माओवादीको गुलाफमा २ हजार ६ सय १५ मत छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सय ८६, श्रम संस्कृति पार्टीले ७ सय ८८ मत पाएका छन्। सबैभन्दा कम मत जनता लोकतान्त्रिक पार्टी नेपाललाई ३ मत छ। समानुपातिक तर्फ यहाँ ५७ पार्टीका चुनाव चिन्हमा मत खसेको छ। जिल्लामा अस्तित्वमा नदेखिएका पार्टीलाई समेत मत खसेको छ। प्रत्यक्षमा दश दलबाट उम्मेदवार चुनावी मैदानमा थिए।
मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाका अनुसार फागुन २४ गते राती गणना सम्पन्न गरिएको हो। समानुपातिक तर्फ ७० हजार १ सय ५४ मत खसेको थियो। २ हजार ५ सय ७८ मत वदर हुँदा ६७ हजार ५ सय ७६ मत सदर भएको छ। प्रत्यक्ष तर्फको तुलनामा समानुपातिक तर्फ मत बदर कम छ। प्रत्यक्षमा ३ हजार १ सय ४४ मत बदर भएको थियो। प्रत्यक्षतर्फ नेकपाका नेता एवं पुर्वअर्थमन्त्री वर्षमान पुन निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस !