शेरधनले महाधिवेशन प्रतिनिधि रोकेका ध्रुवले अर्कै पार्टी फेरेर उनैलाई हराई दिए

शेरधनले महाधिवेशन प्रतिनिधि रोकेका ध्रुवले अर्कै पार्टी फेरेर उनैलाई हराई दिए

भोजपुर : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । उनले नेकपा (एमाले) का पूर्व मुख्यमन्त्री शेरधन राईलाई १ हजार ९ सय १३ मतान्तरले पराजित गर्दै पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार ध्रुवराज राईले १६ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शेरधनले १४ हजार ७ सय ५० मत प्राप्त गरेका छन् । निकै प्रतिष्पर्धात्मक निर्वाचनमा नेपाली कांग्रेसका बालकृष्ण थापा तेस्रो स्थानमा रहे । उनले ८ हजार ६ सय ७० मत प्राप्त गरे । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझा ६ हजार १ सय २ मतसहित चौथो र नेकपाका अजम्बर राई काङमाङ ५ हजार ६ सय २८ मतसहित पाँचौँ स्थानमा रहे ।

यस निर्वाचनमा भोजपुरबाट १२ राजनीतिक दलका उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका थिए । राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८ सय १२, जसपाका गोपालकुमार राईले २ सय ५६, मंगोल नेशनल अर्गनाइजेशनका चन्द्रप्रसाद राईले २ सय ४६, नेकपा (माओवादी) का देवानराज राईले २ सय ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक नेपालले १ सय ९७, नेपाल मजदुर किसान पार्टीका राजाराम बासीले ६६ र आम जनता पार्टीका युवराज थापाले ३५ मत प्राप्त गरेका छन् ।

null

पालिका अध्यक्षमा हार व्यहोरेका ध्रुवको संसदीय ‘कमब्याक’
टेम्केमैयुङ गाउँपालिकाका पूर्व अध्यक्ष ध्रुवराज राईले २०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजय व्यहोरेका थिए । तर यस पटकको संसदीय निर्वाचनमा उल्लेखनीय मतसहित विजयी हुँदै उनले राजनीतिक रूपमा बलियो ‘कमब्याक’ गरेका छन्।

कुनै समय शेरधन राईकै राजनीतिक अभियानमा सक्रिय रहेका ध्रुवले आफ्नै पूर्व नेतालाई पराजित गर्नु भोजपुरको चुनावी राजनीतिमा उल्लेखनीय घटनाका रूपमा हेरिएको छ । भोजपुर बहुमुखी क्याम्पसमा दुई पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति भएका राई २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनलाई पराजित गर्दै ‘चुनावी नेता’ का रूपमा परिचित बनेका थिए ।

निर्वाचनमा विजयी भएपछि उनले युवापुस्ताको आकांक्षा, भोजपुरको विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘भोजपुरबासीको विश्वास र नयाँ पुस्ताको सपनालाई साकार पार्ने गरी काम गर्नेछु,’ उनले सुनाए ।

एमालेको महाधिवेशनताका पार्टीभित्र बढ्दो असन्तुष्टिका कारण पार्टी परित्याग गरेका राई पछिल्लो समय हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका थिए । एमालेको बलियो आधार मानिएको भोजपुरमा उनले लोकप्रिय मत प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेका हुन् ।

शेरधनको लगातार दोस्रो हार
भोजपुरबाट छैटौं पटक चुनावी मैदानमा उत्रिएका शेरधन राईले लगातार दोस्रो पटक प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका छन् । यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी पूर्व माओवादी केन्द्रका सुदन किरातीसँग २ हजार ३ सय ८५ मतान्तरले पराजित भएका थिए । त्यतिबेला किरातीले २८ हजार ५ सय ७८ मत प्राप्त गर्दा शेरधनले २६ हजार १ सय ९३ मत पाएका थिए ।

कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री रहेका शेरधन राईले २०५६ सालको प्रतिनिधिसभा निर्वाचन, २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रदेशसभा निर्वाचन जितेका थिए । तर २०६४ सालको संविधानसभा, २०७९ सालको प्रतिनिधिसभा र हालको निर्वाचनमा भने पराजित भएका छन् । हालै सम्पन्न एमालेको ११औं महाधिवेशनबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सचिवमा निर्वाचित भएका थिए ।

ध्रुवलाई सुदन किरातीको समर्थन
यस पटकको निर्वाचनमा ध्रुवराज राईलाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता तथा पूर्वमन्त्री सुदन किरातीको समर्थन रहेको थियो । माओवादी केन्द्र विभाजनपछि प्रचण्डसँगको सहकार्य अन्त्य गरेका किरातीले भोजपुरमा ध्रुवलाई समर्थन गरेका हुन् । किरातीले ‘जेन–जी पुस्ताको राजनीतिक चेतना र भोजपुरको समृद्धिको आकांक्षालाई सम्मान गर्दै’ ध्रुवलाई साथ दिएको बताएका छन् ।

उनले भने, ‘भोजपुरमा ध्रुवलाई समर्थन गरेका छौँ, समानुपातिकतर्फ भने देशव्यापी रूपमा सहभागिता जनाएका छौँ’ यस पटकको प्रतिनिधिसभा निर्वाचनमा भोजपुरमा ४५.२५ प्रतिशत मात्र मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरका अनुसार कुल १ लाख २५ हजार ७ सय ६६ मतदातामध्ये ५७ हजार ५ सय ९९ मत खसेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.