सरकारबाट बाहिर रहेपनि कानुन निर्माणका विषयमा सहयोग रहनेछ : कानुन मन्त्री
काठमाडौं : कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए।
२८ औँ अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले शान्तिपूर्वक र सुरक्षित रुपमा निर्वाचन गराउने सरकारको लक्ष्य सबैको सहयोग र सहकार्यका कारण पुरा भएको बताएका हुन्।
आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर नयाँ सोचका साथ मुलुकलाई अघि बढाउन समेत आवश्यक कानुन निर्माणमा आफूले ध्या केन्द्रीत गरेको उनले बताए।
मन्त्री सिन्हाले आगामी दिनमा आफू सरकारबाट बाहिर रहेपनि कानुन निर्माणका विषयका आफ्नो सदैव सहयोग हुने प्रतिबद्धता जनाए। त्यस्तै उनले समाजमा हुने गरेको नकारात्मक टिप्पणीलाई अन्त्य गर्न शिक्षाको माध्यमबाट र सचेतनाको माध्यमबाट काम गर्नुपर्नेमा जोड दिए।
मन्त्री सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिका लागि राज्यले गर्नुपर्ने काम प्रभावकारी रुपमा हुन नसकेको धारणा राखे । हरेक वर्ष मार्च ११ तारिखका दिन विश्वभरका कुष्ठरोग प्रभावित व्यक्तिहरूले जीवनमा नवीन उर्जा र आत्मविश्वासका साथ आफ्नो हक–हित,अधिकार, सम्मान र सह–अस्तित्वका लागि आफैले आवाज उठाएको दिनको रुपमा अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवस मनाइने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस !