चार महिनामै पायो हर्क साम्पाङको ‘श्रम सँस्कृति पार्टी’ ले राष्ट्रिय दलको मान्यता
काठमाडौं : फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपाति दुबैको नतिजा आई सक्दा ६ वटाले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् । जसमा हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम सँस्कृति पार्टी नेपाल मात्र नयाँ रहेको छ । अरु सबै पुरानै छन् ।
प्रत्यक्षमा तीन सिट जितेको श्रम सँस्कृतिले समानुपातिकमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउँदै राष्ट्रिय दलमा दर्ज भएको हो । राष्ट्रिय दलको मान्यता कायम राख्ने पुरानामा प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १८ सिट जितेको नेपाली कांग्रेस, नौं सिट जितेको नेकपा एमाले, आठ सिट जितेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र प्रत्यक्षमा एक सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी छन् । पुराना चार दल विघटित प्रतिनिधिसभामा पनि राष्ट्रिय दलकै रुपमा थिए ।
चार महिनाअघि मात्रै जन्मिएको हर्क साम्पाङको श्रम संस्कृति छोटो समयमै आफूलाई राष्ट्रिय दलका रुपमा स्थापित गराउन सफल भएको छ । श्रम सँस्कृति पार्टी माटो चुनाव चिन्हमा गत कार्तिक १६ गते निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको थियो । धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावमा होमिएका साम्पाङको दलले कोशी प्रदेशका २८ मध्ये तीन सिटमा जित निकालेको हो ।
कोशीमा रास्वपाले १६ सिट जित्दा कांग्रेस, एमाले र श्रम संस्कृतिले तीन–तीन सिट आफ्नो पक्षमा पारे । साम्पाङ आफै सुनसरी–१ बाट निर्वाचित भए । भोजपुरमा धु्रवराज राई र खोटाङमा आरेन राई विजयी भएका छन् । समानुपातिकमा तीन लाख ८५ हजार ७४१ मत ल्याउँदै श्रम संस्कृतिले ‘थ्रेसहोल्ड’ कटाएको हो । तीन प्रतिशत थ्रेस होल्ड कटाएको श्रम सँस्कृतिले समानुपातिकमा कम्तीमा तीन सिट पाउने छ ।
प्रतिक्रिया दिनुहोस !