इरानले मोज्ताबा खामेनीलाई छान्यो सर्वोच्च नेता, किमले गरे स्वागत

इरानले मोज्ताबा खामेनीलाई छान्यो सर्वोच्च नेता, किमले गरे स्वागत
सुन्नुहोस्

सोल : उत्तर कोरियाले इरानले मोज्ताबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको निर्णयलाई ‘सम्मान’ गर्ने बताएको छ । उत्तर कोरियाले अमेरिका तथा इजरायलले इरानमाथि गरेको आक्रमणलाई ‘अवैध’ भन्दै आलोचना समेत गरेको छ ।

राज्य सञ्चालित समाचार संस्था केसीएनएका अनुसार बुधबार उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्ताले इरानले नयाँ सर्वोच्च नेता चयन गरेको निर्णयप्रति सम्मान व्यक्त गरेका हुन् । नयाँ नेता मोज्ताबा खामेनी दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुन् । समाचारमा जनाइएअनुसार अली खामेनीको २८ फेब्रुअरीमा सुरु भएको अमेरिका–इजरायल आक्रमणमा मृत्यु भएको थियो।

प्रवक्ताले भने, ‘इरानको विज्ञहरूको सभाले नयाँ इस्लामिक क्रान्तिको नेता चयन गरेको आधिकारिक घोषणाबारे हामी इरानी जनताको अधिकार र छनोटको सम्मान गर्छौं ।’ उत्तर कोरियाले अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणलाई कडा शब्दमा निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र सुरक्षालाई कमजोर बनाउने र अन्तर्राष्ट्रिय अस्थिरता बढाउने चेतावनी पनि दिएको छ ।

प्रवक्ताका अनुसार यस्तो आक्रमणले ‘कुनै देशको राजनीतिक प्रणाली र भौगोलिक अखण्डता’ माथि चोट पुर्‍याउने भएकाले यसलाई विश्वभरि निन्दा गर्नुपर्छ । १२ दिनअघि सुरु भएको अमेरिका–इजरायलको युद्धपछि उत्तर कोरियाले मध्यपूर्वमा भएको घटनालाई ‘गुण्डा शैलीको व्यवहार’ भनेर आलोचना गरेको थियो ।
 

यसैबीच केसीएनएले बुधबार उत्तर कोरियाली नेता किम जोङ उनले देशको नयाँ र सबैभन्दा ठूलो नौसैनिक विनाशक जहाज ८८चोए ह्योनबाट रणनीतिक क्रुज मिसाइल परीक्षणको निरीक्षण गरेको पनि जनाएको छ । मिसाइल परीक्षणका क्रममा किमले ‘शक्तिशाली र भरपर्दो आणविक प्रतिरोध क्षमता कायम राख्ने र विस्तार गर्ने’ रणनीतिक कामको महत्वबारे बोलेको केसीएनएले जनाएको छ ।

चोए ह्योन जहाजबाट गरिएको यो दोस्रो मिसाइल परीक्षण हो । गत हप्ता किमले आफ्नो देशले ‘नौसेनालाई आणविक हतियारले सुसज्जित बनाइरहेको’ भन्दै प्रशंसा गरेका थिए ।  संयुक्त राज्य अमेरिकाले दशकौँदेखि उत्तर कोरियाको आणविक कार्यक्रम समाप्त गर्न प्रयास गर्दै आएको छ । तर प्योङयाङले यस्तो हतियार दक्षिण कोरिया र अमेरिकासहितका सहयोगीबाट सम्भावित आक्रमण रोक्न आवश्यक भएको बताउँदै आएको छ ।

हालैका महिनाहरूमा डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियासँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने इच्छा देखाएको थियो । किम जोङ उनले भने, ‘यदि वाशिङ्टनले उत्तर कोरियालाई आणविक शक्ति भएको देशका रूपमा स्वीकार गरेमा दुई देश एकअर्कासँग मिलेर बस्न सक्छन् ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.