कालो सूचीमा रहेका व्यवसायी सांसद निर्वाचित

कालो सूचीमा रहेका व्यवसायी सांसद निर्वाचित

विराटनगर : उदयपुरको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। 

निर्वाचन परिणाम घोषणा भइसकेपछि सार्वजनिक भएको विवरणले राजनीतिक तथा आर्थिक पृष्ठभूमि सम्बन्धी विवादलाई सतहमा ल्याएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै सांसदमा विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ र नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ७ हजार २९० मत पाए। धेरैले अप्रत्याशित मानेको यो जितपछि तामाङको आर्थिक पृष्ठभूमिसम्बन्धी तथ्य बाहिर आएको हो।

कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि बारम्बार चेक बाउन्स प्रकरणमा मुछिएको छ। सोही कारण कम्पनी र त्यसका सञ्चालकहरूलाई विभिन्न समयमा कालो सूचीमा राखिएको उल्लेख छ। केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालो सूचीको नम्बर १०१,५१४ मा रहेको छ। जहाँ सञ्चालकका रूपमा लीला राई र सूर्यबहादुर तामाङ दुवैको नाम उल्लेख गरिएको छ।

केन्द्रका अनुसार २०८० माघ २५ गते मकालु कान्जिरुवा अटो लिंकले त्रिथुङ्गा ट्रेडिङको नाममा माछापुछ्रे बैंकको खाताबाट काटेको २ लाख ५५ हजार रुपैयाँको चेक नसाटिएपछि कम्पनी र सञ्चालक कालो सूचीमा परेका थिए। त्यसअघि पनि कम्पनीबाट काटिएका विभिन्न चेक नसाटिएका विवरणमा छन्। उक्त कम्पनीले २०७९ फागुन १५ गते इस्टन एजेन्सिसको नाममा माछापुछ्रे बैंकबाट काटेको १ करोड ५५ लाख रुपैयाँको चेक नसाटिएपछि कम्पनी र सञ्चालकलाई कालो सूची नम्बर ५७,८२३ अन्तर्गत राखिएको थियो। त्यसैगरी २०८० भदौ ५ गते सुरेश श्रेष्ठको नाममा काटिएको २२ लाख ५० हजार रुपैयाँको चेक पनि नसाटिएको विवरण छ।

प्रेमकुमार श्रेष्ठको नाममा काटिएको १३ लाख ५५ हजार रुपैयाँको अर्को चेक पनि बाउन्स भएपछि २०८० भदौ ६ गते कम्पनी र सञ्चालक पुनः कालो सूचीमा परेका थिए। कर्जा सूचना केन्द्रको अभिलेखअनुसार तामाङको नाम त्यसअघि २०७९ कात्तिक २५ गते समेत चेक बाउन्स प्रकरणका कारण कालो सूची नम्बर ४८,४१० मा राखिएको थियो।

यसरी विभिन्न मितिमा पटकपटक चेक नसाटिने घटना देखिएपछि कम्पनी र सञ्चालक दुवैलाई कालो सूचीमा राखिएको केन्द्रको विवरणमा उल्लेख छ। रास्वपा उदयपुर स्रोतका अनुसार तामाङको व्यवसायमा पछिल्ला वर्षहरूमा आर्थिक समस्या देखिएका कारण यस्तो अवस्था आएको हुनसक्ने बताइन्छ। तामाङ कालो सूचीमा रहेको विषय पार्टीभित्र केही नेताहरूलाई उम्मेदवारी अघि नै थाहा भएको स्रोतको भनाइ छ। उम्मेदवारी दर्ताको क्रममा पनि यो विषयबारे आन्तरिक छलफल भएको बताइन्छ। तर, अन्तिम समयमा उम्मेदवारी दर्ता गरिएको र कसैले औपचारिक उजुरी नदिएका कारण यो विषय निर्वाचन प्रक्रियामा प्रवेश गर्न सकेन।

‘मनोनयनका क्रममा पार्टीभित्र कुरा उठेको थियो। तर, अन्तिममा मनोनयन भयो,’ रास्वपा स्रोतले भन्यो, ‘औपचारिक उजुरी नआएकाले निर्वाचन प्रक्रियामा यसले असर गरेन।’ नवनिर्वाचित सांसद तामाङले भने आफू कालो सूचीमा रहेको विषयबारे जानकारी नभएको बताएका छन्। उनले व्यक्तिगत रूपमा बैंक खाता खोलेर निर्वाचन खर्च गरेको दाबी गर्दै आफूविरुद्ध भ्रम फैलाइएको प्रतिक्रिया दिएका छन्।

‘यदि म कालो सूचीमा भएको भए बैंक खाता खोल्न नपाउनु पर्ने हो,’ तामाङले भने, ‘मैले व्यक्तिगत खाता खोलेर चुनावी खर्च गरेको छु। अहिले जितिसकेपछि कालो सूचीको कुरा उठाएर भ्रम फैलाउने काम भइरहेको छ।’ जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालले पनि तामाङले उम्मेदवारका रूपमा बैंक खाता खोल्न सिफारिस लिएको पुष्टि गरेका छन्। तर, खाता खुलेको वा नखुलेको विषय भने आफूलाई जानकारी नभएको उनले बताए।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार निर्वाचन परिणाम घोषणा भइसकेपछि आयोगले उम्मेदवारको आर्थिक पृष्ठभूमिका विषयमा कारबाही गर्न सक्दैन। कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार यस विषयमा आपत्ति जनाउन चाहने सम्बन्धित पक्षले अदालतको ढोका ढकढक्याउनसक्ने व्यवस्था छ।

धनुषा क्षेत्र नम्बर-१ मा कालो सूचीमा परेका कारण रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी नै खारेज भएको उदाहरणसँग तुलना गर्दा उदयपुरको घटना थप चर्चामा आएको छ। एकातिर कालो सूचीकै कारण उम्मेदवारी खारेज भएको घटना छ भने अर्कोतर्फ कालो सूचीमा नाम रहेका व्यक्तिको निर्वाचन जितले नेपालको निर्वाचन प्रणाली, उम्मेदवार छनोट प्रक्रिया र राजनीतिक दलहरूको जिम्मेवारीका बारेमा नयाँ प्रश्न उठाएको छ।

विज्ञहरुका अनुसार उम्मेदवारको आर्थिक तथा कानुनी पृष्ठभूमि सम्बन्धी जानकारी मतदातासामु स्पष्ट रूपमा सार्वजनिक गर्ने प्रणाली बलियो बनाउन नसकिए यस्ता विवादहरू आगामी निर्वाचनहरूमा पनि दोहोरिन सक्ने खतरा रहनेछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.