नेकपाका दुवै उम्मेदवारसहित २७ जनाको जमानत जफत
नवलपुर : फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा नवलपुरमा नेपाली कम्युनिस्ट पार्टीका दुबै क्षेत्रका उम्मेदवारको जमानत जफत भएको छ। नेकपाका २ उम्मेदवारसहित जिल्लामा २७ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत कमल ज्ञवालीले बताए। जसमध्ये दुवै क्षेत्रमा गरी ८ जना स्वतन्त्र उम्मेदवार छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका लोकप्रसाद भुर्तेलले जम्मा १ हजार २ सय ४५ मत प्राप्त गरेका थिए। नेकपालाई यो क्षेत्रमा श्रम संस्कृति पार्टीले उछिनेको छ। श्रम संस्कृति पार्टीका उम्मेदवार भिमचन्द्र गुरुङले १ हजार ७ सय २ मत ल्याएका छन्।
यो क्षेत्रमा रास्वपाका राजन गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएका थिए। यहाँ कुल ८१ हजार ५ सय ५८ मत सदर भएको थियो भने ३ हजार १ सय ५८ मत बदर भएको थियो। उम्मेदवारले आफ्नो जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ। दोस्रो स्थानमा रहेको कांग्रेस र तेस्रो स्थानमा रहेको एमाले बाहेक अरू सबै दलको जमानत जफत भएको हो।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा पनि नेकपाका उम्मेदवार गणेशमान महतोको उम्मेदवारी जफत भएको छ। उनले जम्मा १ हजार ५ सय ३८ मत प्राप्त गरे। श्रम संस्कृतिका उम्मेदवार कमल चापागाईंले १ हजार १ सय ६४ मत प्राप्त गरे।
यस क्षेत्रमा रास्वपाका मनिष खनाल ४१ हजार ३ सय ४७ मत प्राप्त गरि विजयी भएका थिए। यो क्षेत्रमा कुल ७६ हजार २ सय ३० मत सदर भएको थियो भने ३ हजार ४ सय ६२ मत बदर भएको थियो। यस क्षेत्रमा दोस्रो भएको एमाले र तेस्रो भएको काँग्रेस बाहेक अरू सबै दलका उम्मेदवारको जमानत जफत भएको छ।
प्रतिक्रिया दिनुहोस !