सडक सुरक्षाप्रति बढ्दो लापरबाही : मधेसमा ३ वर्षमा १४ सयभन्दा बढीले गुमाए ज्यान

सडक सुरक्षाप्रति बढ्दो लापरबाही : मधेसमा ३ वर्षमा १४ सयभन्दा बढीले गुमाए ज्यान
फाइल तस्बिर

जनकपुरधाम : मधेस प्रदेशमा पछिल्ला वर्षहरूमा सडक सुरक्षाको अवस्था निकै भयावह र चिन्ताजनक बन्दै गएको छ। सवारी साधनको प्रयोगमा बढ्दो लापरबाही र कमजोर ट्राफिक व्यवस्थापनका कारण सडकहरू ‘मृत्यु मार्ग’ बन्न थालेका छन्, जहाँ बर्सेनि हजारौंले अकालमै ज्यान गुमाउनु परिरहेको छ।

तथ्यांक हेर्ने हो भने मधेस प्रदेशका ८ जिल्लामा पछिल्लो तीन वर्षमा मात्रै सवारी दुर्घटनामा परी १ हजार ४ सय ३ जनाको मृत्यु भएको छ भने २९ हजार ६ सय ३० जना घाइते भएका छन्। यो अवधिमा कुल १८ हजार २ सय ६७ वटा सवारी दुर्घटना भएका छन्, जसमध्ये सबैभन्दा बढी जोखिम मोटरसाइकल र टिपरका कारण देखिएको छ।

सडकमा गुड्ने ‘यमराज’ मानिने टिपरले निम्त्याएका केही प्रतिनिधि घटनाले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएका छन्। गत फागुन ११ गते जनकपुरको व्यस्त सडकमा गुडिरहेको टिपरले ठक्कर दिँदा ट्राफिक प्रहरी जवान चन्द्रकला महतोको घटनास्थलमै मृत्यु भयो। आफ्नै सहकर्मीले चलाएको मोटरसाइकल पछाडि बसेर ड्युटीमा जाँदै गर्दा उनले ज्यान गुमाउनुपर्‍यो । त्यस्तै, पुस ३० गते जनकपुरकै मिल्स एरियामा टिपरकै ठक्करबाट ७५ वर्षीय वृद्ध राजकिशोर यादवले ज्यान गुमाए।

व्यस्त बजार क्षेत्रमा दिउँसै टिपर कुदाउन दिने प्रशासनिक निर्णय नै दुर्घटनाको मुख्य कारक रहेको ट्राफिक प्रहरी अधिकारीहरू स्वीकार्छन्। जिल्ला ट्राफिक कार्यालय धनुषाका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार, बजार क्षेत्रमा ठूला सवारी निषेध गर्ने प्रयास भए पनि जिल्ला सुरक्षा समितिको निर्णयले टिपर चल्न दिँदा जोखिम बढेको हो। धनुषामा मात्रै चालु आर्थिक वर्षको माघसम्म टिपरको ठक्करबाट ६ जनाको मृत्यु भइसकेको छ।

तथ्यांकअनुसार मधेस प्रदेशमा पछिल्लो तीन वर्षमा १७ हजार ८ सय ४४ वटा मोटरसाइकल दुर्घटना भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा ५ हजार ९ सय २६ वटा दुर्घटना भएकोमा गत वर्ष यो संख्या बढेर ७ हजार २ सय १ पुगेको छ। त्यस्तै, तीन वर्षमा १ सय ६९ वटा टिपर दुर्घटनामा परेका छन्।

सडक दुर्घटना बढ्नुमा चालकको लापरवाही, तीव्र गति, मादक पदार्थ सेवन र सुरक्षा सतर्कताको कमी मुख्य कारण रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका प्रवक्ता डिएसपी वकिल बहादुर सिंह बताउँछन्। प्रहरीले सडक सुरक्षाका लागि पछिल्लो ३ वर्षमा ४४ हजारभन्दा बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि चालकहरूको व्यवहारमा अपेक्षित सुधार आउन सकेको छैन।

यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ३० हजारभन्दा बढी चालकलाई कारबाही गरी सरकारले ४७ करोड ९४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। 

तर, बढ्दो राजस्व र जनचेतनाका कार्यक्रमले मात्र सडकमा बगिरहेको रगत रोक्न सकेको देखिँदैन। एकातिर प्रशासनिक कमजोरी र अर्कोतिर चालकको चरम लापरवाहीले मधेसका सडकहरूमा अकालमै ज्यान गुमाउनेहरूको संख्या रोकिनुको साटो झन् लम्बिँदै गएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.