अफगानिस्तानको अस्पतालमा हवाई हमलापछि भारतले दियो कडा प्रतिक्रिया
काठमाडौं : भारतले अफगानिस्तानको राजधानी काबुलस्थित अस्पतालमा पाकिस्तानद्वारा गरिएको भनिएको आक्रमणप्रति कडा आपत्ति जनाएको छ। भारतले उक्त घटनालाई “कायरतापूर्ण” र “नरसंहार” को संज्ञा दिँदै निन्दा गरेको हो।
हवाई हमलापछि भारती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर विरोध जनाएको छ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो हिंसाको कायरतापूर्ण र अनैतिक कार्य हो, जसका कारण ठूलो संख्यामा सर्वसाधारण नागरिकले ज्यान गुमाएका छन्। कुनै पनि परिस्थितिमा सैन्य लक्ष्य मान्न नसकिने स्थानलाई निशाना बनाइएको थियो।'
मन्त्रालयले पाकिस्तानले उक्त घटनालाई सैन्य कारबाहीका रूपमा प्रस्तुत गर्न खोजिरहेको आरोपसमेत लगाएको छ। भारतले यस आक्रमणलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष हमला भएको उल्लेख गर्दै दोषीलाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ।
यसअघि अफगानिस्तानको तालिबान सरकारले काबुलस्थित लागुऔषध पुनर्स्थापना अस्पतालमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाएको थियो जसमा सयौं मानिसको मृत्यु भएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा परी ४०० बढी मानिसले ज्यान गुमाएका छन्।
यता पाकिस्तानले भने आफ्नो सेनाले काबुल र नान्गारहारमा रहेका आतंकवादलाई समर्थन गर्ने अफगान तालिबानका सैन्य अड्डामा लक्षित आक्रमण गरेको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस !