आगोले छिनभरमै मुसहर बस्ती ध्वस्त, गुम्यो सर्वस्व
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका-३ मा बुधबार दिउँसो भएको भीषण आगलागीले अति विपन्न मुसहर समुदायको सिंगो बस्ती नै ध्वस्त बनाएको छ ।
करिब ४५ मिनेटको अन्तरालमै ११ वटा घर पूर्णरूपमा जलेर खरानी भएका छन् । आगोले छिनभरमै मुसहर बस्ती ध्वस्त बनाउँदा ११ परिवार एकैचोटि आश्रयविहीन बनेका हुन् । घटनामा एक करोड १७ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
कोशी लोकमार्गअन्तर्गत गोकुवा चोकबाट करिब डेढ किलोमिटर पूर्वतर्फ रहेको मुसहर बस्तीमा दिउँसो करिब २ बजेतिर अचानक आगलागी सुरु भएको थियो । सोनी ऋषिदेवको घरबाट आगो लाग्न सुरु भएको प्रहरीले जनाएको छ । यद्यपि, आगलागीको ठोस कारण खुलेको छैन । विद्युत सर्टका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ । तर, वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान जारी रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
बस्तीका घरहरु कर्कटपाता र बाँसको टाटीबेराले बनेका थिए । आगो सुरु हुनसाथ त्यसले विराल रूप लियो । केही मिनेटमै आगोले सबै ध्वस्त बनाइदियो । एकआपसमा टाँसिएर बनेका झुरुप्प घरहरूले आगो फैलिन झन् सहज बनाएको स्थानीयले बताएका छन् । आगलागीको सुरुआतसँगै घरभित्र रहेका ग्यास सिलिन्डर विस्फोट हुन थालेपछि स्थिति थप भयावह बनेको थियो । घटनामा मानवीय क्षति भने भएन ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय नेमुवा बाट सई अशोक कार्कीको नेतृत्वमा टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय मोरङ बाट वरिष्ठ सई राजेन्द्र कटवाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो । साथै, विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासले करिब ४५ मिनेटपछि मात्र आगो नियन्त्रणमा आएको थियो ।
तर, आगो नियन्त्रणमा आउँदासम्म बस्तीका अधिकांश घरहरू पूर्ण रूपमा जलेर नष्ट भइसकेका थिए । आगो थप फैलिन नदिन सुरक्षाकर्मी र स्थानीयले जोखिम मोलेर बीचका केही घर भत्काउनु परेको थियो । ‘सिलिन्डर विस्फोट भइरहेका बेला घर भत्काउने निर्णयले थप क्षति हुनबाट जोगाए पनि पहिले नै ठूलो विनाश भइसकेको थियो,’ डीएसपी लामिछाने भन्छन् ।
उनका अनुसार आगलागीबाट सुनील ऋषिदेव र रामदेव ऋषिदेवको जनही ८ लाख रुपैयाँ तथा राजकुमार ऋषिदेवको ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी, सोनी ऋषिदेव, गेमु ऋषिदेव, चैता ऋषिदेव, कमलेश ऋषिदेव र तिलकु ऋषिदेवको जनही १० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । प्रकाश ऋषिदेव, उतिम ऋषिदेव र उमा ऋषिदेवको भने जनही १५ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी लामिछानेले दिए । घटनापछि बस्तीका पीडित परिवारहरू पूर्ण रूपमा बिचल्लीमा परेका छन् ।
भूमिहीन र दैनिक ज्यालादारी मजदुरीमा निर्भर मुसहर समुदायका परिवारहरूको घरसँगै जीवनयापनका सबै आधारहरू समाप्त भएका छन् ।
घरभित्र रहेका लत्ताकपडा, अन्नपात, नगद, सुनचाँदीलगायत दैनिक आवश्यक सामग्री सबै आगोले नष्ट गरिदिएको डीएसपी लामिछानेको भनाइ छ ।
वडा सदस्य लोकनाथ चौधरीका अनुसार आगलागीपछिको दृश्य अत्यन्तै हृदयविदारक बनेको छ । ‘बस्तीभरि रुवाबासी छ । बालबालिका, वृद्धवृद्धा र महिलाहरू त्रासमा छन् । पीडितहरुले शरीरमा लगाएको कपडाबाहेक केही पनि बाँकी रहेन,’ उनले भने । चौधरीका अनुसार अति विपन्न अवस्थामा रहेका ऋषिदेव परिवारहरू आगलागीको विनाशसँगै खुला आकाशमुनि आइपुगेका छन् ।
वडाध्यक्ष तिलकनाथ मण्डलले कमजोर संरचना र अत्यन्तै नजिकनजिक बनाइएका घरहरूकै कारण आगोले छोटो समयमा ठूलो क्षति पु¥याएको बताए । ‘आगो नियन्त्रण गर्न निकै कठिन भयो । केही घर भत्काएर मात्रै थप फैलिनबाट रोक्न सकियो,’ उनले भने, ‘तर, नियन्त्रणमा आउँदासम्म धेरै ढिलो भइसकेको थियो । ऋषिदेव परिवारहरुका लागि ठूलो विपत्ति आइलाग्यो ।’
उनका अनुसार आगलागी भएको समय अधिकांश स्थानीय कामका लागि बाहिर गएका थिए । घरभित्रका सामग्री जोगाउने अवसरसमेत कसैले पाएनन् । ग्यास सिलिन्डर विस्फोटले आगो झन् तीव्र बनेको र जोखिमपूर्ण अवस्थामा सुरक्षाकर्मीले काम गर्नु परेको वडाध्यक्ष मण्डलले बताए ।
घटनाले मुसहर समुदायको असुरक्षित बसोबास र विपद् व्यवस्थापनको कमजोर तयारीलाई उजागर गरेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । विपन्न र भूमिहीन समुदायका लागि सुरक्षित आवास, आगलागी नियन्त्रणको पूर्वतयारी र सचेतना अभावले यस्तो ठूलो मानवीय संकट निम्तिएको उनीहरूको विश्लेषण छ ।
हाल पीडित परिवारहरूलाई नजिकैको जनता आधारभूत विद्यालयमा अस्थायी रूपमा राखिएको छ । तर, दीर्घकालीन समाधानका लागि तत्काल राहत, सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको वडा सदस्य चौधरीले बताए । ‘हामीले सक्दो सहयोग गरिरहेका छौं । तर, यो समस्या स्थानीय तहको क्षमताभन्दा बाहिर गइसकेको छ,’ उनले भने ।
वडाध्यक्ष मण्डलका अनुसार आगलागीले घर मात्र जलाएको छैन, एउटा समुदायको जीवनशैली, सुरक्षा र भविष्य नै संकटमा पारेको छ । समयमै प्रभावकारी राहत र पुनःस्थापनाको व्यवस्था नभएमा पीडित परिवारहरूको अवस्था झन् जटिल बन्दै जाने उनले बताए । ‘हिजोसम्मको जीवन एकैछिनमा खरानी भयो । आगोले सर्वस्व सकिदिएको छ । बस्तीमा शोक, त्रास र अनिश्चितताको माहोल छ,’ मण्डलले भने ।
प्रतिक्रिया दिनुहोस !