एकीकृत घुम्ती शिविरबाट ५ सय बढी नागरिक लाभान्वित
रुकम पूर्व : सिस्ने गाउँपालिकाले स्थानीय नागरिकलाई गाउँमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर आज वडा नम्बर ४ मा सम्पन्न भएको छ।
गाउँपालिकाले वडा नम्बर ४ को वडा कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत शिक्षा, रोजगार, कृषि, स्वास्थ्य, सामाजिक सुरक्षा, पशुपन्छी, राजस्व लगायतका शाखाबाट विभिन्न सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
शिविरमा १४९ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरी औषधि उपचार गरिएको थियो भने २०३ जना कृषकहरूलाई तरकारीका बिउबिजन वितरण गरिएको जनाइएको छ। त्यस्तै १३६ वटा पशुपन्छीको उपचार, परामर्श तथा औषधि वितरण गरिएको छ। शिविरकै क्रममा १८ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
यसैगरी ४९ जनाको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता गरिएको छ भने ७ जना हिंसा प्रभावितहरूलाई परामर्श सेवा प्रदान गरिएको थियो।
साथै, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारी फारम भर्न सहजीकरण गरिएको र विभिन्न निर्माणाधीन आयोजना तथा विद्यालयहरूको अनुगमन समेत गरिएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !