काठमाडौं :‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ चुनावमा नेपाली कांग्रेसको यो नारामात्र थिएन, उसले गरेको उज्यालो बिहानीको वाचा पनि थियो। तर, यसपटक प्रतिनिधिसभाको निर्वाचनमा मतदाताले कांग्रेस ‘बदलिएको’ पटक्कै पत्याई दिएनन्। मतपेटिकामा झरेका मतले त्यही पुष्टि गर्छ।
एमालेको ‘समृद्ध देश, साझा गन्तव्य, सुखी जनता, सुदृढ भविष्य’ यो वाचा र घोषणालाई पनि मतदाताहरूले रुचाएनन्। न सुखको उदय हुने आशा गरे नत भविष्यको नै। त्यसैले अधिकांशले सूर्यमा मतदान गरेनन्।
२०४६ पछिका हरेक निर्वाचनमा दलका नेता र पार्टीले यस्ता धेरै वाचा गरे। तर, मतदाताले भने चाहेजस्तो विकास र परिवर्तनको अनुभूति गर्न पाएनन। सुशासन त झन् टाढाको कुरा भयो। भ्रष्टाचार र ‘गुण्डाराज’ अन्त्य हुनुको साटो यी ठूला दलका नेताको संरक्षणमा झन् झांगिँदै गए। यस्तो अवस्था छर्लंग देखेका र भोगेका मतदाताले सत्ताका लागि ‘असैद्धान्तिक र अपवित्र गठबन्धन’ गर्नेहरूलाई किनारा लगाउँदै ‘सजाय दिने मार्ग र हतियार’ मतदानलाई बनाए। जसका कारण सशस्त्र संघर्षको माध्यमबाट उदय भएको माओवादीका धेरै नेताहरूलाई समेत यसपटक पाखा लगाइदिए।
मौन रहेका मतदाताहरू कहिले नेता र पार्टीको व्यवहार बदलिन्छ ? भन्दै भित्रभित्रै प्रश्न त गर्दै थिए नै। सँगसँगै कहिले पूरा हुन्छन् वाचा ? भनेर यी प्रश्नको उत्तर नपाएपछि ‘नाराले परिवर्तन होइन, कर्मले चाहिन्छ’ भन्दै विकल्प खोज्न बाध्य भएको बताउँछन्। तर निर्वाचनमा बहिष्कृत भएका र हारेका धेरैजसो उम्मेदवारहरू मतदाताले नरुचाएकै कारणले मात्र पराजय भोग्नु परेको हो ? भन्ने तर्क र व्याख्या मान्न पटक्कै तयार देखिँदैनन्। बरु आफ्नै नेता कार्यकर्ताहरूबाट ‘घात अन्तर्घात’ भएको आरोप लगाएर तल्लो तहबाट केन्द्रसम्म अनुशासनको डन्डा चलाउने प्रक्रियामा अघि बढेका छन्। त्यसका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट ‘अन्तर्घात’ को नामावली धमाधम सिफारिस केन्द्रमा पठाउन थालेका छन्। यो क्रम देशभरमा १८ स्थानमा विजयी भएको पार्टीदेखि ३ स्थानमा मात्र जित हात पार्ने दलहरू भित्र पनि देखिएको छ।

कांग्रेसीबीच झन्डै कुटाकुट
चुनावी हारजितका कारण प्रजातान्त्रिक मानिने कांग्रेसका ‘नेताहरू बीचमै कुटाकुट र हात हालाहाल’ का घटना देखा पर्न थालेका छन्। यस्तै अराजकताको सुरुवात लुम्बिनी प्रदेशको बाँकेमा देखा परिसकेको छ। बुधबार कांग्रेस पार्टी कार्यालयमा निर्वाचन र मत परिणामको समीक्षा बैठक थियो। त्यही बैठकमा बाँके क्षेत्र नम्बर ३ मा पार्टीका आधिकारिक उम्मेदवार अमरसिंह पुनलाई हराउन भूमिका निभाएको आरोप महासमिति सदस्य लक्ष्मीनारायण शाह माथि लगाइएको थियो।
पाँच वर्ष साधारण सदस्यसमेत नरहने गरी शाहलाई अनुशासनको दण्ड दिने तयारी थियो। त्यसका लागि उम्मेदवारले गरेको सिफारिसलाई क्षेत्रीय समितिले अनुमोदन गर्दै केन्द्रमा पठाउन जिल्लाको बैठक बसेको थियो। तर आरोप लागेका शाहलाई बैठकका बारेमा कुनै जानकारी दिइएको थिएन।
आफू कारबाहीमा पर्न थालेको थाहा पाएपछि उनी हतारहतार काठमाडौंबाट जहाजमा नेपालगन्ज पुगे। बैठक कक्षमा पस्नासाथ ‘तँतँ र मम सुरु भयो’। म्याइन्युट च्यात्न खोजियो। हल्लाखल्लीसँगै पार्टीको बैठकमा अराजकता देखा पर्यो। कुटपिटमा उत्रन खोजेका शाहलाई अर्का पराजित
उम्मेदवार तथा कांग्रेसका जिल्ला सचिव सुधांशु कोइरालाले समातेर रोके। उनले नियन्त्रणमा नलिएको भए कुटाकुट नै हुने अवस्था थियो। ‘आवेशमा आएर हात हालाहाल हुने स्थिति देखिएपछि रोक्नु पर्यो’ कोइरालाले भने।
जानकी गाउँपालिकाका अर्का लुम्बिनी प्रदेश सदस्य राजु यादव पनि मुड्की उठाउँदै प्रदेश सभापतिसमेत रहेका पुन माथि जाइलागेका थिए। जेनतेन थामथुम पारेर हिंसात्मक अवस्था उत्पन्न हुनबाट रोकियो। ‘चुनावका बेला मेरो पक्षमा कसरी भोट घटाउन सकिन्छ ? त्यसरी
लागेका थिए। बैठकमा निकै अराजकता र उद्दण्डता पनि देखाए’ कुटिनुबाट जोगिएका पुनले भने, ‘बैठकपछि उनिहरूलाई अनुशासनको कारबाही गर्ने टुंगोमा पुग्यांै।’
कारबाही सिफारिस गरिएका शाहले आफूलाई माथिल्लो तह केन्द्रमा जान नदिने रणनीति अनुरूप जिल्लामै कारबाही गरेर रोक्न खोेजिएको आरोप लगाएका छन्। बैठकमा हातपात हुन नपाए पनि प्रयास गरिएको शाहले स्वीकारेका छन्।
अनुशासन समिति संयोजक मनप्रसाद आचार्यले शाह र लुम्बिनी प्रदेश अधिवेशन प्रतिनिधि यादवलाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४(क) र (ख) तथा पार्टीको नियमावली २०७६ परिच्छेद १०(२९) को १ (क) र (ङ) बमोजिम पाँच वर्षको लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको छ।
फागुन २१ गतेको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन अन्तर्घात गरेको भन्दै कांग्रेसले कारबाही गर्न सिफारिस गरिएका शाह र यादव त उदाहरणमात्र हुन। आफ्नै पार्टीमा उम्मेदवार हराउने जस्तो अनुशासनहीन प्रवृत्ति र अवस्था लुम्बिनी प्रदेशका धेरै जिल्ला र क्षेत्रमा देखिएको छ। जसमध्ये मधेस प्रदेशको सिरहा पनि हो।
कांग्रेस सिरहा जिल्ला अनुशासन समितिले श्रीकृष्ण यादवसहित पाँच जनालाई कारबाही सिफारिस गरी केन्द्रमा पत्राचार गरिसकेको छ।
उनीहरू माथि सिरहा–२ का उम्मेदवार तथा जिल्ला सभापति रामचन्द्र यादवलाई प्रतिनिधिसभा चुनावमा पूरै असहयोग र अन्तर्घात गरेको आरोप लगाइएको छ। कारबाही सिफारिसमा पर्नेहरूमा श्रीकृष्णसहित महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रीय सदस्य सुभाष यादव दास, महादेव यादव, क्षेत्रीय सचिव शत्रुधनप्रसाद चौधरी र जिल्ला सदस्य नीलकुमार राउत रहेका छन्। चुनावमा सहयोग नगरेको सभापति यादवको भनाइ छ।
आफ्नैका दोष खोतल्दै हारेका अनुहार
निर्वाचनमा हारेका अनुहारहरू सहकर्मी नेता र कार्यकर्ताका दोषहरू खोतल्न थालेका छन्। यस्तो अवस्था देशैभरि छ। नारा फेरिए पनि कथा उही रहन्छ। मतदाताले भोट नदिएर हारेपछि घात भयो भन्ने स्वरमा कति सत्यता छ ? त्यसको पनि समीक्षा गर्नुपर्ने देखिन्छ।
मतदाता त बाटोमै थिए। चौकमा, खेतमा, चियापसलका गफमा। तर नेताका पाइला त्यहाँसम्म पुग्न सकेनन्। ढोका बन्द कसले गर्यो ? जनताले, कि नेताको अहंकारले ? यो प्रश्नको पनि जवाफ अझै आउन सकेको छैन।
मतदातासँग दूरी किन र कसरी बढ्यो ? त्यसको पनि समीक्षा हुन सकेको छैन। स्पष्ट छ, त्यो दूरी कसैले रोकेर होइन, स्वयम् नेताहरूले निर्माण गरेका थिए। जहाँ सुन्ने कान बन्द हुन्छन्, त्यहाँ भेट्ने बाटा आफैं हराउँछन्।
त्यसैले, घात खोज्नु अघि आफ्नै पाइला नाप्नु जरुरी देखिन्छ। कति पटक पुगेका थियौं जनतासम्म ? कति पटक सुनेका थियौं उनीहरूको पीडा ? यसको जवाफ दिन नसक्दा धेरै उम्मेदवार बढारिएका हुन। तर प्रत्येक हारपछि दोहोरिनेछ एउटा बहाना छ ‘हामीलाई हराइयो।’ नेताहरू कहिल्यै स्वीकार्न तयार छैनन् ‘हामी हाम्रै कारणले हार्यौं’ भनेर।
एमालेमा वाकयुद्ध
एमालेका उम्मेदवारहरू केन्द्रीय नेतृत्वको दोधारे नीतिका कारण पनि मैदानमा पछारिएका छन्। उनीहरू पनि एकअर्कालाई दोषारोपण गर्नमै तल्लीन छन्। तर आफ्ना कमजोरी स्वीकार गरिरहेका छैनन्। सिद्धान्त, निष्ठा र आदर्श लिलाम गर्दै निरीह नागरिकको दुःख पीडाबाट धेरै टाढा पुगेका एमाले नेताहरू पराजयको कारण घात अन्तर्घात ठान्छन्।
बाँकेकै ३ नम्बर क्षेत्रमा एमालेको शीर्ष नेतृत्वभित्र देखिएको अराजक चित्र र कमजोरी छर्लंग देखिएको छ। अघिल्लो दिनसम्म पूर्वसांसद दलबहादुर सुनारलाई उम्मेदवारमा निर्विरोध सिफारिस गरिएको थियो। तर केन्द्रीय नेताले रातारात सुनारको टिकट खोसेर सुमन मल्ललाई टिकट दिँदा असन्तुष्ट र आक्रोशित सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई सघाउन पुगे। जसका कारण एमाले पराजित भयो।
यसरी देशभरि नै पराजय भोग्दासमेत एमाले नेतृत्वले नैतिक जिम्मेवारीको बोध गर्दै पदबाट राजीनामा दिन चाहेको देखिँदैन। उल्टो अरू माथि दोष थोपर्ने र पद ओगटिरहने हठले वाकयुद्ध देखा परेको छ।
त्यसको सुरुवात एमाले महासचिव शंकर पोखरेलबाटै भएको छ। गत शनिबारमात्रै पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई कटाक्ष गर्दै फेसबुकमा उदाए र स्टाटर्स लेखे। ‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनु भएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु। ’ यो स्टाटर्सले गहिरो द्वन्द्वको संकेत गर्छ।
योगेशभन्दा असक्षम, जनाधार गुमाउँदै गएका र बदनाम तर आफ्नो पक्षधरलाई टिकट दिने नेतृत्वको बचाउ गर्दै आएका छन् महासचिव पोखरेल।
यस्तै, एमाले नेता गोकुल बाँस्कोटा र शेरबहादुर तामाङले पनि सामाजिक सञ्जालमा एकले अर्कोलाई आक्षेप लगाएर स्टाटस लेखेका थिए।
एमाले नेता सुरेन्द्र पाण्डेले नेतृत्वको रजाइँलाई ‘बन्द कोठा’ को षड्यन्त्र वा सीमित व्यक्तिको क्याल्कुलेसनबाट चल्न नसक्ने ठोकुवा गरेका छन्। उनले पनि मंगलबार आफ्नो फेसबुकबाट उक्त टिप्पणी गरेका हुन्। एकातिर सामाजिक सञ्जाल नियन्त्रणको प्रयास गर्ने र अर्कोतिर तिनै सञ्जालबाट ‘वाकयुुद्ध’ छेड्ने प्रवृत्तिले चरम चुली पार गर्दैछ। हारका कारण खोजेर आत्मसमीक्षा गर्दै संगठन निर्माणमा जुटनु पर्नेमा पुराना दलका नेताहरू उल्टो अराजक ढंगले आरोप प्रत्यारोप गरेको देख्दा बचेको साखसमेत नगुम्ला भन्न सकिन्न।
घण्टीमा मत दिने नेता खोज्दै प्रचण्ड
यो निर्वाचनमा बढारिने खतरा देखेपछि सुरक्षित क्षेत्र खोज्दै रुकुमपूर्व पुगेका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मतदाताले नपत्याएको कुरा स्वीकार गर्नुको साटो आफ्ना कुन नेताले कता भोट दियो ? त्यसको खोजीमा छन्। पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्डले केन्द्रीय सदस्यहरूले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको भन्दै कारबाहीको डन्डा चलाउने उद्घोष गरिसकेका छन्।
उनले रास्वपा अर्थात् घण्टीलाई भोट हाल्नेहरूमाथि कारबाही गर्ने र त्यो पनि केन्द्रीय सदस्यबाटै सुरुवात हुने घोषणा गरेका छन्। यो पार्टीले पनि तल्ला कमिटीलाई समीक्षा रिपोर्ट पठाउन भनेको छ। तर दाहालले यसपटक विचारको संघर्षमा हारेको भने स्वीकार गरेका छन्।
भाषणमा देखेका सबै जनताको मत खोजेर हुन्छ ?
‘निर्वाचन आयो सुनामीझैं। जहाँ लहरले छुट्ट्याएन कसैलाई। तर, केही किनाराहरू आफैं भत्किएका थिए पहिल्यै। पार्टीभित्रै विभाजनका रेखाहरू कोरिएका थिए। तर। भत्केको संगठनको जगमाथि उभिएर एकताको भाषण गरिन्थ्यो’ बाँके क्षेत्र नम्बर १ का कांग्रेस सभापति पोषण केसी भन्छन्, ‘एउटा पक्षलाई पन्छाएर अर्को पक्षले जितको सपना देख्दा, त्यो सपना आधा आँखा बन्द गरेर पूरै आकाश हेर्न खोजेझैं भयो। अधुरो दृष्टिले पूरा परिणाम कहिल्यै देख्दैन। जनता टाढा थिएनन्। तर, नेताहरू टाढिँदै गए। बैठकका भाषणमा मात्र जनता थिए। व्यवहारका निर्णयमा उनीहरूको उपस्थिति हराउँदै गयो। त्यसैले निर्वाचन कार्यकर्ताको घेराभित्र सीमित रह्यो।’
केसीका अनुसार समर्थन र मौन बहुमत अर्कैतिर बग्यो। जो कुनै पार्टीका थिएनन्। उनीहरू नै निर्णायक थिए। तर उनीहरूको मन जित्न कसैले समय दिएनन्। त्यसपछि हार हात पर्यो।
दोषारोपण त सुरु भयो ? तर गहिरो सत्य के हो त ? केसी यथार्थ सुनाउँदै भन्छन्, ‘आधार प्रमाणबिना कारबाही सिफारिस गर्दा संगठन अझै कमजोर हुन्छ। हतारमा दोषी खोज्दा समस्या झन् गहिरिन्छ। यदि वास्तवमै समीक्षा गर्ने हो भने, पहिलो साहस यही हुनुपर्छ। जबसम्म हारलाई षड्यन्त्रको कथामा लुकाइन्छ, त्यसबेलासम्म सुधारको ढोका बन्द रहन्छ। यसले थप समस्या खडा गर्छ।’
बाँके– १ मा पराजित भएका नेका सभापति नारायण गौडेलको भनाइ भने यस्तो छ, ‘मानिस अराजक भएपछि कस्को के लाग्छ। सबै हराउने पक्षमा लागे। तर देखिने गरी प्रमाण भने छैनन्।’ यस्तै अवस्था छ तराई मधेसका निर्वाचन क्षेत्रमा पनि।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि पुरानो संस्थापन पक्ष हराउन लागेको आरोप उम्मेदवारहरूले लगाएका छन्। ‘लुम्बिनी प्रदेशका सबै क्षेत्र र जिल्लाबाट रिपोर्टहरू आउने क्रममा छन्। त्यस आधारमा धेरै ठाउँमा आफ्नै पक्षले अर्को पार्टीका उम्मेदवारलाई भोट मागेको र दिएको जानकारी प्राप्त भइरहेको छ’ प्रदेश सभापति पुनले भने।
प्रतिक्रिया दिनुहोस !