चुनावपछि चर्किँदै कांग्रेस विवाद, समानान्तर गतिविधितर्फ देउवा पक्ष

चुनावपछि चर्किँदै कांग्रेस विवाद, समानान्तर गतिविधितर्फ देउवा पक्ष

काठमाडौं : शेरबहादुर देउवा पक्षले चुनावमा ‘असहयोग’ गरेको घुमाउरो आरोपसहित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा शुक्रबार प्रतिवेदन पेस गरे। ‘चुनावमा कतिपयले मौन बसेर ‘साइलेन्स किलिङ’ को भूमिका निभाउनुभयो, कतिपयले तदर्थता अनि कतिपयले ‘स्याबोटेज’ को कर्ममा सक्रियता देखाउनुभयो,’ शर्माको चुनावी समीक्षा प्रतिवेदनमा देउवा पक्षमाथि आरोप लगाइएको छ। तर, देउवा पक्षीय नेताहरू भने ‘रूख’ मा भोट नहाल्नु भनेर कसैलाई पनि नभनिएको र त्यसैकारण चुनावमा आफूहरू चुप बसेको दाबी गर्छन्।

‘चुनाव चिह्न रूखविरुद्ध भोट माग्न हाम्रो नैतिकताका कारणले पनि मिलेन। र, कांग्रेस बलियो भयो भने भोलि मिलौंला नि भनेर हामीले उहाँहरूलाई चुनावको होलसेल जिम्मेवारी दिएका हौं,’ देउवा पक्षीय नेता मीन विश्वकर्माको दाबी छ। बरु, चुनावमा भएको शर्मनाक हारले विशेष महाधिवेशनको औचित्य समाप्त भएको दाबी गर्दै विश्वकर्मा भन्छन्, ‘अब १५औं महाधिवेशनमा जुट्नुपर्छ। बरु हिजो जुन बिन्दुमा छलफल भएको थियो, त्यहींबाट छलफल अघि बढाएर विवाद समाधान गर्न सकिन्छ।’ 

देउवा पक्षीय नेताहरू अब चुप लाग्न नहुने भन्दै आफ्नो पक्षका गतिविधि अघि बढाउने तयारी गरिरहेका छन्। ‘चुनावमा रूख हार्दा त हामी सबै सकिने हो भनेर चुप बस्यौं, उहाँहरू (गगन थापा) पक्षले नमाने अब समानान्तर गतिविधि अघि बढाउँछौं। १५औं महाधिवेशन गर्छाैं।’ 

गत भदौ २३/२४ को जेन–जी आन्दोलन पछि नै सबैभन्दा पुरानो दल नेपाली कांग्रेस दुई धारमा स्पष्ट देखियो। त्यस लगत्तै निवर्तमान पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्ट पक्षले विशेष महाधिवेशनमार्पmत सभापतिमा गगन थापालाई सर्वसम्मत चयन गरेको थियो। 

सक्रिय हुँदै देउवा पक्ष
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्याशित हार बेहोरेपछि पार्टी सभापति गगन थापाले पदबाट राजीनामा दिए। देउवा पक्षको सहभागिताबिनै विशेष महाधिवेशन गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। प्रत्यक्षतर्फ थापाले नै पार्टीका उम्मेदवारलाई टिकट वितरण गरेका थिए। देउवा पक्षका केही नेताहरूले टिकट पाए पनि अधिकांश बेखुस नै थिए। देउवा आफैं उपचारका नाममा चुनावको मुखमा विदेश उडे। 

यद्यपि, देउवा पक्षले चुनावमा देखिने गरी कुनै रडाको मच्चाएन। तर, पार्टी सभापति थापा आफैंले चुनाव हारे, पार्टीले पनि शर्मनाक हार बेहोर्‍यो। त्यसैकारण, थापाले नेतृत्व कांधमा लिएको ६४ दिनमै राजीनामा दिए। उनको राजीनामा आउनुमा देउवा पक्षको दबाब मुख्य कारण थियो। तर, थापाको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गर्ने तयारी गरेपछि देउवा पक्ष थप आक्रोशित बनेको छ। त्यसैकारण अब, देउवा पक्ष समानान्तर गतिविधिको तयारीमा रहेको देउवा पक्षधर नेताहरू बताउँछन्। 

देउवा निकट नेता विश्वकर्मा थापालगायत नेताको नीति, कार्यशैली र महत्वकांक्षाका कारण पार्टीले शर्मनाक हार बेहोरेको भन्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको तर्क गर्छन्। ‘विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो,’ विश्वकर्मा भन्छन्, ‘अब जाने भनेको १५औं महाधिवेशनमा हो। त्यसका लागि सबै एकठाउँमा बसौं नमिलेका मुद्दामा बहस गरौं। एक भएर अगाडि बढौं।’

  •     देउवा पक्षीय नेताहरू अब चुप लाग्न नहुने भन्दै आफ्नो पक्षका गतिविधि अघि बढाउने तयारी गरिरहेका छन्।
  •     कांग्रेसका निवर्तमान सभापति देउवाको नेतृत्वमा १ सय ६७ जनाको कार्यसमिति थियो। तीमध्ये १ सय ३३ जना अझै पनि पुरानै टिम देउवासँग छन्।
  •     थापाले नैतिकताको आधारमा राजीनामा दिने र नियमित महाधिवेशनमा सभापतिका लागि तयारी गर्ने रणनीति बनाएका थिए। निर्वाचन कार्यकर्ताको घेराभित्र सीमित रह्यो।

देउवा पक्षीय अर्का नेता रामहरि खतिवडा विगतका कमीकमजोरीको समीक्षा गर्दै नेताहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउँछन्। ‘अहिले मेरो गुट, तेरो गुट भनेर जाने बेला छैन, खतिवडा भन्छन्, ‘समग्र देशका प्रजातन्त्रवादी शक्तिहरूलाई एक ठाउँमा राखेर जानुनै हामी सबैको बृहतर हितमा छ।’ फेरि पनि आन्तरिक लफडामा पार्टी अल्झिन नहुने तर्क गर्दै खतिवडा भन्छन्, ‘अब १५औं महाधिवेशनका लागि बृहत्तर एकता गर्नुपर्छ। सबै कुरा मै हुँ भनेर कसैले पनि हिँड्नु हुँदैन। सबैलाई एकताबद्ध बनाएर हिँड्नु नै अहिले कांग्रेसको हित हुन्छ। पुराना नेताहरूलाई सम्मान गरौं, नयाँ साथीहरूसँग हातेमालो गरौं।’null

कसले बोलाउने १५ औं महाधिवेशन ? 
कांग्रेसमा १५औं महाधिवेशन कसको नेतृत्वमा गर्ने भन्ने पनि विवाद पनि चर्किएको छ। संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले नै १५औं महाधिवेशन गर्नुपर्ने दाबी गर्छन्। तर, संस्थापन इतर (देउवा) पक्षीय नेताहरू १४औं महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमिति नै वैद्य भएको भन्दै त्यही कार्यसमितिले महाधिवेशन गर्नुपर्ने तर्क गर्छन्। 

‘हाम्रो पार्टीमा अहिले २ जना सभापति हुनुहुन्छ, एकजना १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा, अर्को विशेष महाधिवेशनका नाममा 
चयन हुनुभएको गगन थापा’ देउवा निकट नेता विश्वकर्मा भन्छन्, ‘विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले पुरानै नेतृत्वले महाधिवेशन बोलाउनुपर्छ भन्ने हाम्रो मान्यता छ।’ 

देउवा निकट अर्का एक नेता भन्छन्, ‘आधिकारिताको विषय अझैं पनि अदालतमा विचाराधीन छ। हामीलाई के विश्वास छ भने, अदालतले पुरानै ठाउँमा कांग्रेसलाई फर्काउँछ। तर, हामी १५औं महाधिवेशनको तयारी गर्छौं। हाम्रो विश्वास यही छ। देउवा नेतृत्वको कार्यसमिति नै वैधानिक हो।’त्यसैकारण देउवा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाउनेसम्मको आन्तरिक तयारी गरेको छ।

१३३ पूर्वकेन्द्रीय सदस्य देउवासँगै 
विशेष महाधिवेशन अघिको तत्कालीन संस्थापन (देउवा) पक्ष कसरी सक्रिय हुने भनेर छलफलमा जुटेको छ। पुरानो कार्यसमितिको बैठक बोलाउनेबारे आन्तरिक छलफल भइरहेको निवर्तमान एक पदाधिकारीले जानकारी दिए। ‘हामी निर्वाचन अघिनै देशभरबाट कार्यकर्ता बोलाएर छलफलमा बस्न खोजेका थियौं,’ उनले भने, ‘तर चुनाव चिह्न रूखविरुद्ध हामी जान सकेनौं र निर्वाचन होस् अनि बैठक बसौंला भनेर रोकिएका थियौं। अब हामीले तयारी गरेका छौं। अर्कोतिर आधिकारिकताको विषय अझै अदालतमा विचाराधीन रहेका कारण कतिपय नेताहरूले अदालतको फैसला कुर्नुपर्ने सल्लाह दिएका कारण पनि हामी आजको भोलि गरी हाल्न सकेका छैनौं।’

कांग्रेसका निर्वतमान सभापति देउवाको नेतृत्वमा १ सय ६७ जनाको कार्यसमिति थियो। तीमध्ये ३४ जना मात्रै विशेषबाट बनेको थापा नेतृत्वको कार्यसमितिमा छन्। बाँकी १ सय ३३ जना अझै पनि पुरानै टिम देउवासँग छन्। पूर्व एक पदाधिकारीले भने, ‘हामीसँग पार्र्टी निर्माण गर्दादेखिका साथीहरू हुनुहुन्छ। सालिन र सौम्य हुनुहुन्छ। हामी विद्रोहका नाममा चर्का भाषण र जुलुस गर्दैनौं। पार्टी विभाजन भएको सन्देश जनतामा नजाओस् भनेर हामी चुप छौं तर अब बोल्ने समय आयो। पार्टीको नामोनिशान मेटाउने प्रयास भयो। हामी यो हुन दिँदैनौं। अब १४औं महाधिवेशनको समितिले नियमित महाधिवेशन गर्छ।’

पहिला देउवा निकट नेता नैनसिंह महर भने कसैले पनि कसैसँग बदला लिने बेला अहिले नभएको बताउँछन्। पार्टीलाई कसरी हुन्छ, एक बनाएर लैजाने समय आएको महर बताउँछन्। ‘हिजोका आग्रह पूर्वाग्रह सबै बिर्सिएर, को कहाँ थियो कसले के गर्‍यो भन्नुभन्दा पनि आजलाई र निकट हुने १५औं महाधिवेशनमा सबैको सहभागिता हुने गरी महाधिवेशनबाट अगाडि बढ्नुपर्छ,’ महर भन्छन्, ‘म व्यक्तिका विषयमा बोल्दिन। जनताको बलियो साथ सहयोग पाउनका लागि पहिला कांग्रेस बलियो बनाउनुपर्छ।’

गगनको राजीनामा, रणनीति के ? 
२७–३० पुसमा भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरेर थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। विशेष महाधिवेशनले पार्टी रूपान्तरणका लागि नयाँ नीतिसमेत पारित गरेको थियो। लगत्तै निर्वाचनमा होमिएको कांग्रेसले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’, ‘अबकी बार सय पार’ जस्ता नारा अघि सारेको थियो। उक्त नाराबमोजिम कांग्रेसले नतिजा हात पार्न सकेन। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट मात्रै ल्यायो।

चुनावी परिणामपछि पूर्वसभापति देउवा पक्षले थापामाथि नैतिकताको प्रश्न उठाएको थियो। थापाले पनि नैतिकताको आधारमा हाल राजीनामा दिने र नियमित महाधिवेशनमा सभापतिका लागि तयारी गर्ने रणनीति बनाएका थिए। तर केन्द्रीय कार्यसमिति भने थापाको राजीनामा स्वीकृत गर्ने पक्षमा देखिँदैन। शुक्रबार बैठकमा बोल्ने जति सबै नेताले सभापतिको राजीनामा स्वीकृत नगर्ने धारणा राखेका थिए। उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्नुपर्ने भनेर प्रस्ताव नै राखे। आइतबार बस्ने बैठकले यसबारे निर्णय गर्नेछ।

थापा निकट एक नेता भने थापाको राजीनामा स्वीकृत गराएर १५ औं महाधिवेशनको तयारीमा लाग्न बाटो खुला गरिदिनुपर्ने बताउँछन्। ‘सभापतिजीले जिम्मेवारीबाट भाग्न खोज्नुभएको हैन। यसलाई स्टन्ट भनेर गलत व्याख्या नगरौं,’ ती नेताले भने, ‘उहाँले १५ औं महाधिवेशनका लागि नेतृत्व बाहिरै बसेर पनि सहयोग गर्नुहुन्छ।’

पार्टीका महामन्त्री प्रदीप पौडेल भने विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको मुख्य जिम्मेवारी नियमित महाधिवेशन गराउने भएकाले सभापतिको राजीनामा स्वीकृत गर्न नहुने तर्क गर्छन्।  ‘सभापतिको राजीनामा बारे अबको बैठकले त्यसको कार्यतालिकामा छलफल गर्छ र एउटा निर्णय लिन्छ,’ पौडेलले भने, ‘विशेष महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्ने कर्तव्य सभापतिको पनि हो। त्यसैले त्यस जिम्मेवारीबाट भाग्ने काम हुन्न। अहिले राजीनामा दिनेभन्दा पनि १५औं महाधिवेशन गराएर मात्र जिम्मा लगाउनुपर्छ। बैठकले सभापतिको राजीनामाको विषय टुंग्याएपछि अरू विषयमा छलफल प्रवेश हुन्छ।’

मौन शेखर समूह 
पार्टीको विशेष महाधिवेशन हुँदासम्म छुट्टाछुट्टै भेलामा अभ्यस्त भइरहने डा. शेखर कोइराला समूह यतिबेला करिब मौन छ। शेखर समूहका अधिकांश नेताले विशेष महाधिवेशन बहिस्कार गरे पनि सभापति थापाको हस्ताक्षरबाट टिकट लिएर निर्वाचन लड्न गएका थिए। स्वयं कोइरालाले पनि मोरङ– ६ मा टिकट पाए, तर नराम्रो हार बेहोरे। निर्वाचनमा हारपश्चात् उनले कुनै प्रतिक्रिया दिएका छैनन्। 

कोइराला निकट राजेन्द्र बजगाईं भने हालको अवस्थामा कसैलाई आरोप नलगाई सबै एक ठाउँमा बसेर निकास दिनु आवश्यक रहेको बताउँछन्। ‘यतिबेला कसले राजीनामा दियो, दिएन भन्ने कुरा हैन,’ उनी भन्छन्, ‘राजीनामाको विषय स्ट्राटेजिकल्ली ल्याइएको छ। किनभने राजीनामाको प्रस्ताव आउनु अगाडिनै अस्वीकृतको प्रस्ताव ल्याइएको छ।’

देउवा सिंगापुरबाट हङकङ

कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्। देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सचिवालयको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गर्नुभएको छ।’

देउवा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएको जनाइएको छ। ‘सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उहाँ हङकङ जानुभएको हो,’ सूचनामा भनिएको छ। हङकङमा थप उपचार गरेर देउवा स्वदेश फर्किने जनाइएको छ। सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको छ।’ देउवा पछिल्लोपटक स्वास्थ्य उपचारका लागि गत फागुन १४ गते सिंगापुर प्रस्थान गरेका थिए। जेन–जी आन्दोलन भएको आक्रमणबाट घाइते भएका देउवा दम्पतीको सिंगापुरमै उपचार भएको थियो। फलोअपका लागि सिंगापुर गएका उनी पारिवारिक भेटघाटमा उतैबाट हङकङ प्रस्थान गरेका हुन्।


नियमित महाधिवेशन नगरी भाग्न पाइन्न 

प्रदीप पौडेल, महामन्त्री

केन्द्रीय समिति बैठकमा २४ जनाले शुक्रबार धारणा राख्नुभएको छ। सबैले सभापति गगन थापाको राजीनामा फिर्ता हुनुपर्ने बताउनुभएको छ। चुनावमा भएको हारका लागि सभापतिले नैतिकता देखाउनुभयो, त्यसको सराहना गर्नैपर्छ। तर विशेष अधिवेशनबाट पाएको म्यान्डेट भनेको नियमित महाधिवेशन गराउनुपर्ने जिम्मेवारी हो, त्यो नेतृत्वले प्राप्त गरेको म्यान्डेड हो। त्यसैले पनि राजीनामा फिर्ता गर्नुपर्छ भन्ने कुरा आएको हो।

केन्द्रीय कार्यसमितिले अस्वीकृत गरिसकेपछि उहाँ जिम्मेवारीमा फेरि फर्किनुपर्ने हुन्छ। केन्द्रीय कार्यसमितिले त्यही जिम्मेवारी महसुस गरेर उहाँको राजीनामा अस्वीकृत गर्ने गरी अगाडि बढेको छ। 

चुनावी परिणाम गगन थापाजी एक्लैको विषय हैन, टिमको विषय हो। सभापतिजीले राजीनामा दिँदा सबैले त्यो जिम्मेवारी महसुस गरेर छोड्नुपर्ने हुन्छ। त्यसैले नियमित महाधिवेशन गराउनुपर्ने जिम्मेवारी हाम्रै हो भन्ने सम्झेर छिटोभन्दा छिटो गर्न तिर लाग्नुपर्छ। 

विशेष महाधिवेशनसँग सहमत नहुनुभएका नेताहरूलाई म भन्न चाहन्छु, त्यो विधिवत् रूपमा भएको महाधिवेशन हो। र, नियमित महाधिवेशन गर्नका लागि भएको थियो। त्यसैले असमझदारीलाई संवाद बाट टुंग्यायांँ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले नियमित महाधिवेशन गर्ने गरी सबैले सहयोग गर्नुपर्छ। त्यसमा समझदारी गरेर, आश्वस्त पारेर सबैलाई समेटेर अगाडि जानुपर्ने विषयहरूमा हामी छलफल गरेर अगाडि बढ्न तयार छौं। 

अहिले नेपाली कांग्रेसको विवाद अथवा जे ठानिए पनि त्यसको समाधान भनेको नियमित महाधिवेशन नै हो। त्यसैले समझदारीबाट विधि निर्माण गरेर नियमित महाधिवेशन गर्नेतर्फ जुटौं। नियमित महाधिवेशन गरेर नयाँ नेतृत्वबाट अगाडि बढ्नुपर्छ। 

नियमित महाधिवेशन छिटोमा जेठ अन्तिममा गर्न सकिन्छ। तयारीका निम्ति केही समय लाग्ने भएकाले असोजको पहिलो सातामा पनि गर्न सकिन्छ। त्यसमा अग्रज नेताहरूसँग हामी छलफलमा बस्छौं र निर्णय गर्छौं। 


विशेषको औचित्य सकियो 

मीन विश्वकर्मा, नेता देउवा पक्ष 

हामीले गत पुसको ३० गते रातिसम्म पनि विशेष महाधिवेशनले पार्र्टीलाई विभाजित गर्छ, निर्वाचनलाई प्रभावित गर्छ, परिणाम अत्यन्तै नराम्रो आउँछ। त्यसो भएको हुनाले निर्वाचनको मुखमा पार्टीलाई विभाजित हुने कुनै पनि काम गर्नु हुन्न भनेका थियौं। यसो भन्दाभन्दै पनि उहाँहरू विभिन्न कुराहरूबाट लोभिएर हो वा प्रभावित भएर हो, दबाब–प्रभावमा परेर अनिष्ट काम गर्न पुग्नुभयो। त्यतिबेला पनि हाम्रो सहमति होइन। पछि पनि उहाँलाई स्वीकारेको होइन।

चुनाव चिह्न रूखका विरुद्धमा भोट माग्न हाम्रो नैतिकताका कारणले मिलेन। बरु, कांग्रेस बलियो भयो भने भोलि मिलौंला नि भनेर हामीले उहाँलाई होलसेल जिम्मेवारी दिएका हौं। तर, उहाँको नीति, कार्यशैली र महत्वकांक्षाका कारण पार्टी अहिलेको अवस्थामा पुग्यो। अब हामीबीच जुन बिन्दुमा बिमति भएको थियो, सबै त्यही बिन्दुमा फर्कियौं भने पार्र्टी मिल्छ।

जुन बिन्दुमा हामी छुटेका थियौं, त्यही बिन्दुमा हामीले आफूलाई रि–कन्फिनेसन गर्ने हो। आत्मसमीक्षा गर्ने हो। त्यही ठाउँमा पुगेर मिल्नुपर्यो। पुरानै बिन्दु भनेको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा पुसको ३० गतेसम्म हामी जुन ठाउँमा थियौं, त्यही ठाउँमा पुग्नुपर्छ। मिलाउँदा मिल्न सकिन्छ। अदालतको विषयमा पनि मिल्न सकिन्छ। कारबाही पनि फिर्ता लिन सकिन्छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.