प्रधानमन्त्री कप क्रिकेटः १४८ रनले लुम्बिनी विजयी
सिमराः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १४८ रनले पराजित गरेको छ। जनकपुरस्थित रामजानकी बहुउदेश्यीय रंगशालामा भएको खेलमा लुम्बिनीले कोशीलाई फराकिलो रनले पराजित गरेको हो।
कोशीविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ४९ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान देव खनालले ९२ बनाए। शतकबाट आठ रनले चुकेका देवले एक सय बल खेल्दै आठ चौका र एक छक्का प्रहार गरे।
लुम्बिनीका सन्तोष यादवले ४८ र रञ्जित खड्काले ३५ रन बनाए। कोशीका बलर सुजन थपलियाले चार, दीपेश कँडेलले दुई, प्रेम कामत र विपिन महताले १–१ विकेट लिए। दुई सय ५० रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कोशी एक सय एक रनमै समेटियो। कोशीका अंकित सुवेदीले सर्वाधिक ३० रन बनाए।
कोशीविरुद्ध फराकिलो रनले जित हात पार्ने क्रममा लुम्बिनीका सन्तोष यादवले चार, राजेन्द्र बमले तीन, निर्मल गुरुङले दुई र सन्देश थापाले एक विकेट लिए। लुम्बिनीका सन्तोष यादव प्लेयर अफ दि म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत मंगलबार तल्लो मुलपानीमा गण्डकी र बागमतीबीच खेल हुनेछ भने माथिल्लो मुलपानीमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब भिड्दैछन्।
प्रतिक्रिया दिनुहोस !