काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ। आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेर ओलीलाई प्रहरी परिसर काठमाडौंमा लगिएको थियो। लगत्तै नियमित स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिवि अस्पताल पुर्याएको हो।
अस्पतालबाट ल्याएर हिरासतमा राख्ने तयारी भएपनि स्वास्थ्य परीक्षणका क्रममा भर्ना गर्नुपर्ने देखिएको प्रहरी अधिकारीको भनाई छ। ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन्। अस्पताल स्रोतका अनुसार उनको रगत, पिसाब, मुटु, भिडियो एक्सरे लगायतका परीक्षण गरिएको थियो। डाक्टरको सल्लाह र सिफारिस बमोजिम ओलीलाई अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ।
प्रहरीका अनुसार आज सार्वजनिक बिदा भएकाले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थप सम्बन्धी सरकारी वकिल र अदालती प्रक्रियाका लागि आइतबार लगिने छ। लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !