१६ महिनामा निर्माण सकिनु पर्ने पुलको पाँच वर्षमा २१ प्रतिशत मात्र काम

१६ महिनामा निर्माण सकिनु पर्ने पुलको पाँच वर्षमा २१ प्रतिशत मात्र काम
सुन्नुहोस्

बाजुरा : मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको छ । निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा र यात्रुहरूले विशेष गरी वर्षायाममा सास्ती भोग्दै आएका छन् ।

पुल निर्माणमा ढिलासुस्ती भएपछि प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायालगायतको टोलीले स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि निर्माण कम्पनीलाई काम तीव्र बनाउन कडा निर्देशन दिँदै तीन महिनाभित्र उल्लेखनीय प्रगति देखाउन अल्टिमेटम दिइएको छ ।

सम्झौता अनुसार १६ महिनाभित्र सम्पन्न हुनुपर्ने पुल हालसम्म २१ प्रतिशत मात्र भौतिक प्रगति भएको सडक डिभिजन कार्यालयले जनाएको छ । इन्जिनियर देबेन्द्र स्वारका अनुसार निर्माण ढिलाइ हुनुमा बजेट वा प्राविधिक समस्या नभई ठेकेदारको लापरबाही मुख्य कारण भएको बताए ।

२०७८ कार्तिक १५ गते धनगढीस्थित टिडिआर–जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा ठेक्का सम्झौता गर्दै २०७८ फागुन १५ भित्र निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अवधि सकिएको लामो समय बितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन । पटक–पटक ताकेता गर्दा पनि प्रगति नदेखिए पछि आर्थिक वर्ष २०८२ फागुन ३० गतेसम्म म्याद थप गरिएको थियो ।

हालसम्म ९० लाख ५६ हजार रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको भए पनि निर्माण कार्यमा अपेक्षित गति देखिएको छैन । निर्माणस्थलमा राखिएका केही सरिया बाढीले बगाउँदा क्षति पुगेको समेत कार्यालयले जनाएको छ ।

पुल नबन्दा बाउली खोलामा वर्षायाममा पानीको बहाव बढेपछि यातायात पूर्णरूपमा अवरुद्ध हुँदै आएका छन् । बिरामी, गर्भवती महिला तथा आकस्मिक अवस्थामा रहेका नागरिकले समयमै स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका छन् । विद्यार्थीहरू जोखिम मोलेर खोला पार गर्न बाध्य छन् भने कृषकहरूले उत्पादन बजारसम्म पुर्‍याउन नसक्दा आर्थिक नोक्सानी व्यहोर्नु परेको छ ।

सवारीसाधनहरू खोलाको किनारमै रोकिने हुँदा यात्रुहरू घण्टौँ पैदल हिँड्न बाध्य हुने गरेका छन् । वर्षायाममा दुर्घटनाको जोखिम उच्च रहने गरेको स्थानीय बताउँछन् । पुल अभावले पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तहसहित बडीमालिका नगरपालिका–७ र ८ का बासिन्दा तथा हुम्ला, मुगु र कालिकोटका सर्वसाधारण समेत प्रभावित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी निरौलाले अब पनि काममा प्रगति नभए कानुनी कारबाहीका साथै ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति प्रमुख रोकायाले पनि ढिलासुस्ती अस्वीकार्य भएको जनाउँदै अनुगमनलाई निरन्तरता दिइने बताए ।

जिल्ला प्रशासन कार्यालय बाजुराले अधुरा रहेका निर्माण आयोजनाहरू समयमै सम्पन्न गराउन समन्वय तीव्र बनाइएको जनाएको छ । यसैबीच, नजिकैको अनाई खोलामा निर्माण गरिएको पक्की पुल भने एक वर्षमै सम्पन्न भई सञ्चालनमा आएको छ । समयमै काम भए विकास सम्भव हुने यसको उदाहरणका रूपमा हेरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.