प्रधानमन्त्री कप क्रिकेट : कर्णाली र गण्डकीको खराब सुरुवात
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार जारी खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेशले खराब सुरुवात गरेका छन् । वीरगन्जस्थित नारायणी मैदानमा टस जितेर कोशीविरुद्ध ब्याटिङ थालेको गण्डकीले २४ ओभरमा ६ विकेट गुमाउँदै ६२ रन जोडेको छ ।
गण्डकीको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कोशीका दिपेश कंडेलले चार विकेट लिएका छन् । आठ ओभर बलिङ गरेका दिपेशले तीन मेडनसहित १४ रन खर्चिएर चार विकेट लिएका हुन् । कोशीविरुद्ध खराब प्रदर्शन गरेको गण्डकीको सुरुवाती ब्याट्सम्यानको प्रदर्शन कमजोर रहयो ।
गण्डकीका ओपनर गौरव विक शून्यमै पेभेलियन फर्किदा किब्रीन श्रेष्ठ र दिनेश बुढामगरले एक÷एक रन बनाए । गण्डकीका दीपक डुम्रेले १५ रन र मुस्कान थापाले १० रन जोडे । यतिबेला गण्डकीका ओपनर अर्जुन कुमाल २३ रन बनाएर खेलिरहेका छन् भने उनलाई कप्तान विपिन खत्रीले साथ दिइरहेका छन् । उता रामजानकी रंगशालामा टस जितेर ब्याटिङ रोजेको कर्णालीले २२ ओभरमा पाँच विकेट गुमाएर ६७ रन जोडेको छ ।
कर्णालीका ओपनर रवीन्द्र शाहीले १८ रन र सुनिल धमलाले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कर्णालीका निश्चल रावल र विपिन रावल शून्यमै पेभेलियन फर्किए भने बिपिन शाहीले एक रन बनाए । कर्णालीका अर्जुन घर्ती र दिपेन्द्र रावत यतिबेला क्रिजमा छन् । एपीएफका अभिषेक गौतमले चार विकेट चट्काएका छन् । ६ ओभर बलिङ गरेका अभिषेकले १७ रन खर्चिएर चार विकेट लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस !