चितवन दुई विकेटले विजयी
सिमरा : चितवनले तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिहीबार मकवानपुरलाई दुई विकेटले पराजित गरेको छ। जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा मकवानपुरले प्रस्तुत गरेको १३४ रनको लक्ष्य १९.२ ओभरमा आठ विकेट गुमाएर पूरा गर्दै चितवनले महत्वपूर्ण जित निकालेको हो।
चितवनको जितमा दिपेश श्रेष्ठ र सुदीप अर्यालले विष्फोटक ब्याटिङ गरे। दिपेशले १० बलमा तीन छक्का प्रहार गर्दै २२ रन बनाए। सुदीपले ९ बलमा दुई छक्का र दुई चौकासहित २२ रन जोडे । यसैगरी डेनिल गुरुङले ३१ र रिजन काफ्लेले २६ रन बनाए।
यसअघि टस जितेर ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा सात विकेट गुमाउँदै १३३ रन बनाएको थियो। मकवानपुरका लागि रोहित ठाकुरले अविजित २८, रामनरेश गिरीले २७, गौरव खड्काले २१, विशेषबिक्रम थापाले १८ र युविन बुढाथोकीले १४ रन बनाए।
चितवनका दीपेश श्रेष्ठले तीन विकेट लिँदा सुदीप अर्याल र क्रिजन गुरुङले दुई/दुई विकेट लिए। दीपेश प्लेयर अफ दि म्याच घोषित भए। उनलाई जीतपुरसिमरा उमपहानगरपालिकाका कार्यपालिका सदस्य अर्जुन रसाईली र युवा व्यवसायी किसन ढकालले पुरस्कृत गरे । शिक्षक बसन्त ढकालले जनकपुर बोल्ट्सको जर्सी हस्तान्तरण गरे।
चितवनको जितसँगै समूह ‘बी’ को खेल रोमाञ्चक बन्न पुगको छ। यस समूहमा आयोजक जीतपुरसिमरा स्पोर्ट्स क्लब, चितवन र मकवानपुर छन्। चितवन र मकवानपुरले एक/एक खेल जितिसकेका छन्।
प्रतियोगिता अन्तर्गत शुक्रबार आयोजक र चितवनबीच खेल हुनेछ। उक्त खेलमा चितवन विजयी भएमा सहजै फाइनलमा पुग्नेछ भने आयोजक विजयी भएमा नेट रनरेटका आधारमा एउटा टोली फाइनलमा जानेछ। समूह ‘ए’ बाट भने सर्लाही फाइनलमा पुगिसकेको छ।
प्रतिक्रिया दिनुहोस !