मानव स्वास्थ्य र चिकित्सा विज्ञानको इतिहासमा केही यस्ता महान् व्यक्तित्व छन्, जसले आफ्नो अद्वितीय सोच, अनुसन्धान र साहसका कारण नयाँ युगको सुरुवात गरेका छन्। यस्तै एक महान् नाम हो- डा. स्यामुएल ह्यानिमेन। आज उनको २७१औं जन्मजयन्ती। उनको जीवनलाई मात्र सम्झिरहेका छैनौं, बरु उनले मानव जातिलाई दिएको एउटा अद्भुत, कोमल र वैज्ञानिक उपचार प्रणाली ‘होमियोप्याथी’लाई पनि सम्मान गरिरहेका छौं।
जन्म, बाल्यकाल र शिक्षा : डा. ह्यानिमेनको जन्म १० अप्रिल १७५५ मा जर्मनीको मेसेन सहरमा भएको थियो। उनका पिता क्रिश्चियन गोटफ्राइड मेसेनको एक प्रख्यात पोर्सिलेन (माटोको भाँडा) कारखानाका चित्रकार र डिजाइनर थिए। उनले छोरालाई सानैदेखि अनुशासन, परिश्रम र सत्यको खोज गर्ने प्रेरणा दिएका थिए। ह्यानिमेनले प्रारम्भिक शिक्षापछि चिकित्सा अध्ययननार्थ ‘युनिभर्सिटी अफ लिपजिग’मा प्रवेश गरे। आर्थिक अभावका कारण उनले विभिन्न भाषाका मेडिकल पुस्तक अनुवाद गरेर अध्ययनलाई निरन्तरता दिए। १० अगस्ट १७७९ मा उनले एर्लांगेन विश्वविद्यालयबाट एलोप्याथी (एमडी)को उपाधि हासिल गरे। उनी अत्यन्त प्रतिभाशाली थिए र विभिन्न १० भाषामा उनको दक्षता थियो।
चिकित्सक जीवन र असन्तुष्टि : डा. ह्यानिमेनले प्रारम्भमा परम्परागत चिकित्सा पद्धति अपनाए। तर, तत्कालीन समयमा प्रयोग भइरहेका उपचार विधिहरू जस्तै अत्यधिक रक्तस्राव गराउने, विषाक्त औषधिको प्रयोग आदिबाट उनी सन्तुष्ट हुन सकेनन्। उनले महसुस गरे कि ती उपचारले रोगीलाई निको पार्नुको सट्टा झन् कमजोर बनाउँछन्। यही असन्तुष्टिले उनलाई केही समय चिकित्सा पेसाबाट टाढा रहन बाध्य बनायो।
महत्वपूर्ण खोज– ‘सिमिलिया सिमिलिवस क्युरेन्चर’ : उनको जीवनको सबैभन्दा महत्वपूर्ण मोड तब आयो, जब सन् १७९० मा उनले डा. विलियम कुलेनको ‘मेटेरिया मेडिका’लाई जर्मन भाषामा अनुवाद गर्दैथिए। त्यसक्रममा सिनकोनाबारे लेखिएको तथ्यले उनको ध्यान तान्यो। पुस्तकमा ‘सिनकोनाको बोक्रा (जसबाट क्विनाइन निकालिन्छ)ले मलेरिया निको पार्छ किनभने यो धेरै तीतो र पेटका लागि टोनिक जस्तो हुन्छ’ भनिएको थियो। ह्यानिमेन यो तर्कमा सन्तुष्ट भएनन्। उनलाई लाग्यो- यदि तीतो र टोनिक हुनाले मात्र मलेरिया निको हुने भए अन्य तीतो पदार्थले पनि मलेरिया निको पार्नुपर्ने थियो, तर त्यस्तो हुँदैनथ्यो। सत्य पत्ता लगाउन ह्यानिमेनले आफैंमाथि प्रयोग गरे। उनले स्वस्थ अवस्थामा सिनकोनाको रस सेवन गरे। प्रयोगका क्रममा उनले आफूमा मलेरियाको जस्तै लक्षणहरू उत्पन्न भएको अनुभव गरे। यसले उनलाई एउटा गहिरो सिद्धान्ततर्फ डोर्यायो- ‘समानले नै समानको उपचार गर्छ।’ यस सिद्धान्तअनुसार, जुन पदार्थले स्वस्थ मानिसमा कुनै लक्षण उत्पन्न गर्छ, त्यही पदार्थ अत्यन्त सूक्ष्म मात्रामा प्रयोग गर्दा बिरामीमा देखिने त्यस्तै लक्षणहरू निको पार्न सक्छ। यो नै होमियोप्याथीको मूल आधार बन्यो।
होमियोप्याथीका प्रमुख सिद्धान्तहरू
डा. ह्यानिमेनले आफ्नो अनुसन्धानलाई व्यवस्थित रूपमा अघि बढाउँदै निम्न प्रमुख सिद्धान्तहरू विकास गरे :–
१. समानताको नियम : रोगको उपचार त्यस्तै लक्षण उत्पन्न गर्ने औषधिबाट गरिन्छ।
२. न्यूनतम मात्रा : औषधि अत्यन्त सानो मात्रामा दिनुपर्छ, जसले शरीरलाई हानि नगरी उपचार गर्न सकोस्।
३. एकल औषधि : एक पटकमा एक मात्र औषधिको प्रयोग गर्नुपर्छ।
४. व्यक्तिगत उपचार : हरेक रोगीको प्रकृति फरक हुन्छ, त्यसैले उपचार पनि व्यक्तिगत हुनुपर्छ।
अमर कृतिहरू : उनको सबैभन्दा प्रसिद्ध कृति ‘अर्गानन अफ मेडिसिन’ हो। सन् १८१० मा पहिलो पटक प्रकाशित यो पुस्तक आज पनि होमियोप्याथीको आधारभूत ग्रन्थ मानिन्छ। यसका साथै उनले ‘मेटेरिया मेडिका प्युरा’ र ‘क्रोनिक डिजिजेज’ जस्ता महत्वपूर्ण पुस्तक लेखेर आफ्नो सिद्धान्त र चिकित्सकीय अनुभवलाई सूत्रबद्ध गरे।
चुनौती, संघर्ष र विश्वव्यापी विस्तार : डा. ह्यानिमेनले जीवनमा धेरै विरोध र संघर्षको सामना गर्नुपर्यो। परम्परागत चिकित्सकहरूले उनको सिद्धान्तलाई अस्वीकार गर्दै आलोचना गरे। तर उनले आफ्नो सत्यमा अटल विश्वास राख्दै अनुसन्धान जारी राखे। अन्ततः उनको सिद्धान्त विश्वभर फैलियो। आज होमियोप्याथी विश्वका ८० भन्दा बढी देशमा प्रचलित छ। विशेषगरी भारत, जर्मनी, संयुक्त अधिराज्य र नेपालमा यसको व्यापक प्रयोग भइरहेको छ।
नेपालमा होमियोप्याथी : नेपालमा पनि होमियोप्याथीको विकास क्रमशः भइरहेको छ। यहाँ धेरै चिकित्सकले यस पद्धतिलाई अपनाउँदै आएका छन्। बिरामीहरूले यसको कोमल, सुरक्षित र प्रभावकारी उपचारबाट लाभ लिइरहेका छन्।
ह्यानिमेनको चिकित्सा दर्शन र सान्दर्भिकता : डा. ह्यानिमेनले चिकित्सा केवल रोग निको पार्ने प्रक्रियामात्र नभई मानव जीवनलाई समग्र रूपमा बुझ्ने कला हो भन्ने स्थापित गरे। उनले भनेका छन्– बिरामीलाई निको पारी स्वास्थ्य लाभ गराउनु नै चिकित्सकको उच्च र एकमात्र लक्ष्य हो। आजको आधुनिक युगमा, जहाँ अत्यधिक औषधिको प्रयोग र ‘साइड इफेक्ट’को समस्या बढ्दो छ, होमियोप्याथी एक सुरक्षित विकल्पका रूपमा उभिएको छ। विशेषगरी पुराना रोगहरू, मानसिक स्वास्थ्य समस्या, बालबालिका र वृद्धवृद्धाको उपचारमा यसको महत्व अझ बढी छ।
अन्तिम जीवन र निष्कर्ष : वैज्ञानिक समुदायबाट केही आलोचना भए तापनि लाखौं बिरामीको अनुभवले यसको प्रभावकारिता प्रमाणित गरेको छ। डा. ह्यानिमेनले आफ्नो जीवनको अन्तिम समय फ्रान्सको राजधानी पेरिसमा बिताए। २ जुलाई १८४३ मा ८८ वर्षको उमेरमा उनको निधन भयो। उनको २७१औं जन्मजयन्ती केवल एउटा स्मरण दिवसमात्र होइन, यो चिकित्सा क्षेत्रको क्रान्तिकारी सोचको सम्मान हो। उनी एक चिकित्सकमात्र नभएर दार्शनिक, वैज्ञानिक र मानवतावादी पनि थिए। उनको सिद्धान्तलाई व्यवहारमा उतार्नु नै उनीप्रतिको साँचो श्रद्धाञ्जलि हुनेछ।
जय ह्यानिमेन, जय होमियोप्याथी ! अस्तु।
मिश्र, वरिष्ठ होमियोप्याथिक कन्सल्टेन्ट हुन्।
प्रतिक्रिया दिनुहोस !