काठमाडौं : २०७९ पुस १० गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन कक्ष सधैँझैं व्यस्त थियो। वैदेशिक उडानबाट ओर्लिएका यात्रुहरू सामानसहित बाहिरिने हतारोमा थिए। त्यही भीडबीच चिनियाँ नागरिक ली वाङ सुङ दुईवटा सुटकेस बोकेर आएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार बाहिरबाट सामान्य देखिने ती सुटकेसभित्र ७३ वटा बट्टा थिए, जसमा ७३० थान ‘भेप’ (इलेक्ट्रिक सिगरेट) राखिएका थिए। तर, ती भेप धुवाँ उडाउन नभई बहुमूल्य पहेंलो धातु सुन लुकाउन प्रयोग गरिएको पाइयो।
विमानस्थल भन्सार कार्यालयमा जाँचका क्रममा एक्स–रे स्क्रिनमा ती भेपभित्र अस्वाभाविक रूपमा बाक्ला वस्तुहरू देखिए। नियमअनुसार शंकास्पद देखिएका सामान खोलेर जाँच गर्नुपथ्र्यो। तर, ‘रेड च्यानल’ मा राखिएको उक्त सामान खोलिएन र जफत गरिएको भन्दै सुरक्षित राखियो। जफत गरिएको सामान गोदाममा राख्नुपर्नेमा तत्कालीन प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठको कार्यकक्षमा राखियो। त्यसपछि सुन ल्याउने र छुटाउने समूहको भेटघाट तथा टेलिफोन सम्पर्क तीव्र भयो। सुन ल्याउने चिनियाँ नागरिक ली वाङ सुङको राहदानीसमेत प्रमाण लोप गर्ने बदनियतले फिर्ता गरियो। प्रमुख भन्सार अधिकृत श्रेष्ठले २०७९ माघ १९ गते मात्र उक्त सामान मुद्दा र लिलामी शाखामा पठाएका थिए।
त्यसपछि भेपलाई गोदामको यस्तो कुनामा सारियो, जहाँ सीसीटिभी क्यामेराको पहुँच थिएन। सुरक्षा गार्ड निर्मलकुमार विकले नायब सुब्बा मधुसूदन पोखरेल समेतको मिलेमतोमा एउटा भेप झिकेर कोटेश्वरको सुनचाँदी पसलमा जाँच्दा ९९.६ लाल सुन भेटिएपछि त्यसको सिक्री बनाएको खुल्यो।
अख्तियारका अनुसार २०७९ पुस १० गतेदेखि नै पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल भनिने रेशम महरा यो प्रकरणमा जोडिएका थिए। महरा बाबु–छोरामार्फत सुन छुटाउने प्रयास गरिएको थियो। यस क्रममा चिनियाँ नागरिक दावाजीन वाङ, ली वाङ सुङ, बेल्जियन नागरिक दावा छिरिङ र निमा गुरुङसँग उनीहरूको पटक–पटक भेट र फोन सम्पर्क भएको देखिन्छ। दावाजीन वाङ नै सुनका मालिक भएको र महरा बाबु–छोरा, भन्सार कर्मचारी तथा तस्करबीच २५६ पटकसम्म फोन सम्पर्क भएको तथ्य खुलेको छ।
यस प्रकरणमा तत्कालीन भन्सार विभागका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई समेत प्रभावमा पारिएको थियो। योजनाबद्ध रूपमा सुनयुक्त भेप गायब पारी गोदाममा सुन नभएका भेप राखेर लिलाम गरियो। काठमाडौंका सुनचाँदी पसल, भारतीय बिचौलिया र नेटवर्कको प्रयोग गरी उक्त सुन बिक्री गरियो।
यसमा भन्सारका नासु रेवन्त खड्का, व्यापारी दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल र भारतीय नागरिक साहेवराव पाण्डुरङ मरगसहितको मिलेमतो देखिएको छ। सुन काठमाडौंको ओटुस्थित पशुपति सुनचाँदी पसलमा बिक्री गरिएको थियो, जुन भारतीय नागरिक पाण्डुरङको हो। सुन बेचेर आएको रकम दीपिका थापा, प्रेरणा थापा, ललिता थापा र डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालिको खातामा जम्मा गरिनुका साथै राम केशव थापा क्षेत्री र अमृत कार्कीको नाममा जग्गा खरिद गरिएको पाइएको छ। उक्त भेपमा कुल ८ किलो ४८० ग्राम सुन भएको र त्यसको बजार मूल्य ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ कायम गरिएको छ।
अख्तियारले यस प्रकरणमा पूर्वसभामुख महरा र उनका छोरा राहुलसहित २८ जना र एक ट्राभल एजेन्सीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रतिवादी बनाइएकाहरूमा तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरू रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ, नासुहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेल छन्।
यस्तै, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा र दीपिका थापाविरुद्ध पनि मुद्दा चलाइएको छ। विदेशी नागरिकहरू दावाजीन वाङ, ली वाङ सुङ, दावा छिरिङ र साहेवराव पाण्डुरङलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो दाबी गरिएको छ।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले पूर्वसभामुख महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया दिनुहोस !