प्रतिशको बलिङमा बागमतीको महत्वपूर्ण जित
वीरगन्जः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती प्रदेशले महत्वपूर्ण जित हात पारेको छ। वीरगन्जस्थित नारायणी मैदानमा २०८ रनको लक्ष्य पछ्याएको मधेसलाई १७३ रनमा रोक्दै बागमतीले ३५ रनको जित निकालेको हो।
बागमतीको जितमा प्रतिश जिसीले शानदार बलिङ गर्दै पाँच विकेट लिए। प्लेयर अफ दि म्याच प्रतिशले ९.३ ओभर बलिङ गर्दै ५५ रन खर्चिएर महत्वपूर्ण पाँच विकेट हात पारेका हुन्। प्रतिशको बलिङमा मधेसको ब्याटिङ लाइनअप धरासायी बन्न पुगेको थियो।
प्रतिशले मधेसका कप्तान अनिल साहसहित मयन यादव, पवन सर्राफ, अरनिको यादव र प्रदीप पासवानलाई पेभेलियन फर्काए। यस्तै रिजन ढकालले दुई, कप्तान सन्दीप लामिछाने र सुवास खत्रीले एक/एक विकेट लिए। मधेसका ओपनर मयन यादवले सर्वाधिक ४० रन बनाए। यसैगरी आदिल आलम २७, अनिल साह २६, विशाल सुस्लिङले २१, महमद समीरले १६ रन जोडेपनि जितका लागि पर्याप्त भए।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०८ रन जोडेको थियो। बागमतीका लागि उत्तम मगरले सर्वाधिक ४४ रन बनाएका थिए भने कप्तान सन्दीप लामिछानेले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३६ रन जोडेका थिए। सन्दीपले एक छक्का र चार चौका प्रहार गरे। यसैगरी ओपनर रिङझिङ लामाले २९ र आशुतोष घिरैयाले १८ रन बनाए।
मधेसका पवन सर्राफले तीन विकेट चट्काउँदा आदिल आलम र रञ्जित कुमारले दुई/दुई विकेट लिए। यसैगरी प्रदीप पासवान, विशाल पटेल र अरनिको यादवले एक/एक विकेट लिए। जितसँगै बागमती पाँचौं स्थानमा उक्लिएको छ। बागमतीले आठ खेलबाट आठ अंक बटुलेको छ। मधेस ९ अंकसहित चौथो स्थानमा कायम छ।
प्रतिक्रिया दिनुहोस !