कोशीमाथि एपीएफको पाँच रनको रोमाञ्चक जित

कोशीमाथि एपीएफको पाँच रनको रोमाञ्चक जित
सुन्नुहोस्

वीरगन्जः विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार कोशी प्रदेशमाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ। जनकपुरस्थित रामजानकी मैदानमा २२५ रनको लक्ष्य पछ्याएको कोशीलाई २२० रनमा रोक्दै एपीएफले रोमाञ्चक जित निकालेको हो।

जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक रहेको कोशीले लगातार दुई विकेट गुमाएपछि प्रतियोगिताकै पहिलो जितको सम्भावना टरेको थियो। प्रतियोगितामा आठ खेल खेलिसकेको कोशीले हालसम्म एक खेलमा पनि जित निकाल्न सकेको छैन।
बलियो एपीएफविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको कोशीका ओपनर अंकित सुवेदी र सुमन श्रेष्ठले सम्झन लायक प्रदर्शन गरे। पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेका अंकितले ७२ र सुमनले ६५ रन बनाए।

खतरा बन्दै गएको उनीहरुको साझेदारीलाई एपीएफका अभिषेक गौतमले खेलको २६औं ओभरमा तोडे। प्लेयर अफ दि म्याच अभिषेकले लगातार ओपनर अंकित र शिवांस बजगाईंको विकेट लिएपछि कोशीको पाली धरमराउन पुगेको थियो। १२८ रनको स्थितिमै चार विकेट गुमाएको कोशीलाई रोहन साहले सम्हाल्ने प्रयास गरे पनि सकेनन्।

कोशीका आशिष मगरले १७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। जसका कारण पहिलो जित नजिक पुगेको कोशी पराजित हुन पुग्यो। एपीएफका अभिषेक गौतमले चार विकेट लिए। कप्तान रोहित पौडेलले दुई तथा अमर रौतेला र भुवन कार्कीले एक/एक विकेट हात पारे।

यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको एपीएफले ४७.५ ओभरमा सबै विकेट गुमाएर २२५ रन जोडेको थियो। एपीएफका लागि सन्दीप जोराले ७२ रनको इनिङ खेलेका थिए। सन्दीपले ९४ बलमा एक छक्का र आठ चौका प्रहार गरे। यसैगरी सुमित महर्जनले पनि ५७ रन बनाउँदै अर्धशतक पूरा गरे। अमर रौतेलाले २७, कप्तान रोहित पौडेलले २० र युवराज खत्रीले ११ रन जोडे।

कोशीका सुजन थपलियाले तीन विकेट लिए भने विपिन महतो र दीपेश कँडेलले एक/एक विकेट हात पारे। रोहन साहले एक विकेट लिए। जितसँगै एपीएफ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उसले आठ खेलबाट ९ अंक जोडेको छ। जसमा तीन जित, तीन पराजय र एक खेल वर्षाले अनिर्णित बनेको थियो। कोशीको भने यो सातौं पराजय हो। आठ खेलमा एक खेल वर्षा बाधक हुँदा मधेससँग अंक बाँडेको कोशीले त्यसयताका सात वटै खेलमा पराजय भोगेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.