चितवन जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा
वीरगन्ज : तेस्रो जीतपुरसिमरा क्रिकेट कपको उपाधीका लागि चितवन र सर्लाही भिड्ने भएका छन् । समूह ‘ए’ को अन्तिम खेलमा शुक्रबार आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई पराजित गर्दै चितवन उपाधी नजिक पुगेको हो ।
फाइलनको यात्रा तय गर्ने क्रममा चितवनले आयोजकलाई दुई विकेटले पराजित गर्यो । जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा आयोजकले प्रस्तुत गरेको १४६ रनको लक्ष्य चितवनले १६.५ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो ।
चितवनका लागि सुदीप अर्यालले अविजित ३०, रोशन झाले २८, आर्या महतोले २२, डेनिल गुरुङले १३, प्रतिक श्रेष्ठले १२ र रिजन काफ्लेले १० रन बनाए । आयोजकका बलर राहुद यादव, अजय पटेल र रोशन पोखरेले दुई-दुई विकेट लिए । रेहान जाकिर र रेयाज शेखले एक-एक विकेट हात पारे ।
चितवनका गौतम केसीले तीन विकेट लिँदा सुमित शर्मा र जेनिश महतले एक-एक विकेट लिए । खेलको प्लेयर अफ दि म्याच चितवनका सुदीप अर्याल घोषित भए । उनलाई युवा व्यवसायी प्रफुल्ल शमशेर राणाले पुरस्कृत गरे । यसैगरी मनिष सापकोटाले जनकपुर बोल्ट्सको जर्सी प्रदान गरे ।
प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा हुने प्रतियोगिताको समापन समारोहमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, नेपालका पूर्व कप्तान विनोद दास समेत सहभागी हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस !