सुदूरपश्चिमसँगको पराजयसँगै उपाधि होडबाट बाहिरियो पुलिस
वीरगन्जः चार पटकको विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ। जनकपुरस्थित रामजानकी मैदानमा आइतबार सुदूरपश्चिमसँग ५६ रनले पराजित भएसँगै पुलिसले प्रधानमन्त्री कपको फाइनल खेल्ने सम्भावना सकिएको हो।
तालिकाको शीर्ष दुई टोलीले मात्रै प्रधानमन्त्री कपको फाइनल खेल्नेछन्। अब एक खेल खेल्न बाँकी रहेको पुलिसको शीर्ष दुईमा पुग्ने सम्भावना सुदूरपश्चिसँगको पराजयसँगै समाप्त भएको हो। तालिकाको तेस्रो स्थानमा रहेको पुलिसले आठ खेलबाट ९ अंक जोडेको छ। पहिलो स्थानमा रहेको त्रिभुवन आर्मीको १३ र दोस्रो स्थानमा रहेको सुदूरपश्चिमको १२ अंक छ। पुलिसले अन्तिम खेलमा मधेसविरुद्ध जित हात पारे पनि शीर्ष २ मा पुग्न सक्दैन।
उपाधि होडमा उभिन पुलिसलाई सुदूरपश्चिमविरुद्धको खेल जित्नपर्ने आवश्यकता थियो। तर सुदूरपश्चिमले दिएको १९२ रनको मध्यम लक्ष्य पछ्याएको पुलिस १३५ रनमै समेटिएको हो। पुलिसका लागि गुलशन झाले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन। कप्तान आरिफ शेख, अमृत श्रेष्ठ र दिलसाद अलीले समान १९ रन बनाए। दिनेश खरेल र शंकर रानाले पनि १०/१० रन जोडे। ओपनर कुशल भुर्तेल शून्यमै आउट भए।
सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान तीन/तीन विकेट लिए भने नारायण जोशी, अशोक धामी र खडक बोहोराले एक/एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४०.४ ओभरमा सबै विकेट गुमाएर १९१ रन जोडेको थियो। सुदूरपश्चिमका लागि नारायण जोशीले ८२ रन बनाउँदै अर्धशतक पूरा गरे।
प्लेयर अफ दि म्याच जोशीले ८० बलमा ६ छक्का र साता चौका प्रहार गरे। खड्का बोहोराले २२, हेमन्त धामीले २०, अशोक धामीले १८, किरण ठगुन्नाले १७ र राजु रिजालले १६ रन बनाए। सुदूरपश्चिमलाई मध्यम योगफलमा रोक्ने क्रममा दिनेश खरेलले चार विकेट लिँदा सागर ढकालले तीन विकेट चट्काए। कुशल भुर्तेलले दुई र गुलशन झाले एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस !