विराट गोल्डकपमा पुलिसको कठिन जित
विराटनगर : विराटनगरमा जारी ३८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
सहिद रंगशालामा सोमबार राति सम्पन्न क्वार्टरफाइनल खेलमा सडन डेथसम्म धकेलिएको रोमाञ्चक प्रतिस्पर्धामा चीरप्रतिद्वन्द्वी मछिन्द्र फुटबल क्लबलाई हराउँदै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो । खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्ने अवसरलाई पूर्णरूपमा सदुपयोग गर्न नसक्दा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल १–१ को बराबरीमा सकियो ।
कठिन जित निकालेको पुलिसले खेलभरि मछिन्द्रभन्दा केही बढी अवसर सिर्जना गरे पनि निर्णायक क्षणमा चुकेको देखियो । अर्कोतर्फ, मछिन्द्रले पनि केही महत्वपूर्ण अवसर गुमाउँदा खेलको निर्णय लिन सडन डेथको सहारा लिनुपर्यो ।
निर्धारित समयपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै टोलीले निर्णायक गोल गर्न सकेन । त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा समेत दुवै टोलीले ५–५ गोल गर्दै बराबरी कायम गरेपछि खेल सडन डेथमा पुगेको थियो । जहाँ पुलिसले अन्ततः बाजी मार्यो ।
सडन डेथको निर्णायक क्षणमा पुलिसका सुजन मगरले आत्मविश्वासका साथ गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि मछिन्द्रका श्याम मुर्मुले बराबरी गर्ने अवसर पाए पनि उनको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले उत्कृष्ट रूपमा बचाउ गरे । यही बचाउ खेलको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । उत्कृष्ट प्रदर्शन गरेका चौधरीले ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
टाइब्रेकरमा पुलिसका राम वाजी, सञ्जीव लामा, भरत शाह, जोन विष्ट र शत्रुधन चौधरीले गोल गरेका थिए । मछिन्द्रका तर्फबाट रोहित चन्द, दिवाकर चौधरी, रोमन भुजेल, विशाल भण्डारी र देवेन्द्र तामाङले सफल प्रहार गरेका थिए ।
त्यसअघि खेलको २९औं मिनेटमा धीरेन्द्र शाहले पुलिसलाई अग्रता दिलाएका थिए । ओसेन्द्र कटवालको पासलाई उत्कृष्ट रूपमा सदुपयोग गर्दै उनले पहिलो गोल गरेका हुन् । तर, त्यो अग्रता धेरै समय टिकेन । खेलको ३४औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले डिबक्स भित्रबाट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
प्रतियोगितामा विभागीय टोलीहरूबीचको प्रतिस्पर्धा अपेक्षाकृत कमजोर देखिएको छ । पुलिस बाहेक अन्य विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार सम्राट स्पोर्टिङ क्लब विराटनगर र भारत झारखण्डको बिरसा मुण्डा स्पोट्र्स एकेडेमीबीच प्रतिस्पर्धा हुने गोल्डकप आयोजक विराट गोल्डकप ट्रस्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !