घरजग्गा कारोबारमा मौसमी प्रभाव
काठमाडौं : घरजग्गा कारोबारमा मौसमी प्रभाव देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नेपालको घरजग्गा बजारको अवस्थाको प्रतिवेदनअनुसार आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार न्यून हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च पुग्ने गरेको छ। उक्त प्रतिवेदन भूमिसुधार तथा व्यवस्थापन विभाग, आन्तरिक राजस्व विभाग र नेपाल राष्ट्र बैंकको तथ्यांकका आधारमा तयार गरिएको जनाइएको छ।
आर्थिक वर्ष २०७८/०७९ लाई आधार वर्ष बनाएर केन्द्रीय बैंकले घरजग्गा कारोबार अध्ययन गरेको हो। प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/०८२ को तथ्यांक विश्लेषण गरिएको छ।
प्रत्येक आर्थिक वर्षको चौथो त्रैमासमा सबैभन्दा उच्च कारोबार हुने गरेको पाइन्छ। विगत तीन आर्थिक वर्षको औसतलाई हेर्दा प्रतित्रैमास ८७ हजार ३५४ वटा कारोबार हुने गरेका छन्। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा हालसम्मकै सबैभन्दा बढी अर्थात् १ लाख १४ हजार ७६९ वटा कारोबार दर्ता भएका छन्। त्रैमासिक वृद्धिको तुलना गर्दा प्रत्येक आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबारमा केही गिरावट वा सुस्तता देखिने गरेको छ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को तेस्रो त्रैमासमा उच्च वृद्धि देखिए पनि आर्थिक वर्ष २०८१/८२ मा भने चौथो त्रैमासमा सबैभन्दा बढी त्रैमासिक वृद्धिदर कायम भएको छ। विश्लेषण गरिएका १२ त्रैमासिक अवधिहरूमध्ये आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा सबैभन्दा उच्च ३८.१३ प्रतिशतको वृद्धि देखिएको थियो भने आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा अघिल्लो त्रैमासको तुलनामा ३२.३९ प्रतिशतको उच्च गिरावट रेकर्ड गरिएको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनसार पछिल्लो १२ त्रैमासिक अवधिको तथ्यांकअनुसार नेपालमा राजीनामा अन्तर्गत हुने घरजग्गा कारोबारको संख्यामा बढ्दो क्रम देखिएको छ। मधेस प्रदेशमा राजीनामा कारोबारको संख्या र कुल क्षेत्रफलका आधारमा अग्रस्थानमा रहेको छ भने कोशी र लुम्बिनी प्रदेशले त्यसलाई पछ्याएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा कारोबार संख्या न्यून देखिएको छ।
आर्थिक लगानी र कारोबार रकमको मूल्यका आधारमा भने बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ, जहाँ आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा मात्रै ५१ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ। समीक्षा अवधिमा देशव्यापी रूपमा कुल १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको प्रतिवेदनले देखाएको छ। जग्गाको आकारका सम्बन्धमा, मधेस प्रदेशबाहेक अधिकांश स्थानमा २.५ देखि १० आनासम्मका साना र मध्यम प्लटहरूको माग बढी देखिएको छ। तर, मधेस प्रदेशमा २० आनाभन्दा ठूला प्लटहरूको कारोबार बढी हुनुले त्यहाँ कृषि र औद्योगिक प्रयोजनका लागि ठूलो जग्गाको प्राथमिकता रहेको स्पष्ट पार्छ।
- नेपालको घरजग्गा कारोबारमा स्पष्ट रूपमा मौसमी प्रभाव देखिएको छ। आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार सुस्त हुने र चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति रहेको छ।
- पछिल्लो तथ्यांकअनुसार २०८१/८२ को चौथो त्रैमासमा हालसम्मकै उच्च १ लाख १४ हजारभन्दा बढी कारोबार दर्ता भएका छन्। तर, पहिलो त्रैमासमै ३२ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।
- प्रदेशगत रूपमा मधेस प्रदेश कारोबार संख्या र क्षेत्रफलका आधारमा अग्रस्थानमा रहेको छ। बागमती प्रदेश भने कारोबार मूल्यका हिसाबले सबैभन्दा अगाडि देखिएको छ।
महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा भने ५ देखि १० आनाका जग्गाहरू सबैभन्दा बढी किनबेच हुने गरेका छन्। तथ्यांकअनुसार नेपालको कुल घरजग्गा कारोबार संख्यामा महानगरपालिकाहरूको हिस्सा करिब ४.१ प्रतिशत रहेको छ। क्षेत्रफलका आधारमा महानगर क्षेत्रको योगदान कुल कारोबार भएको जग्गाको करिब १.९ प्रतिशत मात्रै देखिएको छ। अर्कोतर्फ कुल कारोबार रकमको हिसाबले भने महानगरपालिकाहरूको हिस्सा करिब १३ प्रतिशत रहेको छ, जसले राष्ट्रिय औसतको तुलनामा महानगरपालिकाभित्र घरजग्गाको मूल्य निकै उच्च रहेको छ।
यता, उपमहानगरपालिकामा हुने घरजग्गा कारोबारको राष्ट्रियस्तरसँग तुलना गर्दा प्रत्येक त्रैमासमा औसत कारोबार संख्याको हिस्सा ९.८५ प्रतिशत छ। कारोबार भएको कुल क्षेत्रफलको हिस्सा औसत ५.७५ प्रतिशत र कुल घोषित मूल्यको हिस्सा ९.२८ प्रतिशत छ। तथ्यांकअनुसार महानगरपालिकाहरूको तुलनामा उपमहानगरपालिकाहरूमा कारोबारको संख्या र क्षेत्रफलको हिस्सा बढी देखिए तापनि कुल कारोबार मूल्यको हिस्सा भने न्यून रहेको छ। यसले महानगरपालिकाहरूको तुलनामा उपमहानगरपालिका क्षेत्रमा घरजग्गाको मूल्य तुलनात्मक रूपमा कम रहेको संकेत गर्दछ।
घरजग्गामा वित्तीय लगानी वृद्धि
आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/८२ को बीचमा घरजग्गा कर्जामा ७२.४१ प्रतिशत र आवासीय कर्जामा ६१.५५ प्रतिशतको वृद्धि देखिएको छ। पछिल्लो पाँच वर्षमा नेपालको घरजग्गा कर्जा प्रवाह १.७ गुणाले वृद्धि भई १ खर्ब ६० अर्ब ३६ करोड रुपैयाँबाट २ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
घरजग्गा कर्जाको वार्षिक वृद्धिदर आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २४.५ प्रतिशतको उच्च विन्दुमा पुगेको थियो। विगत चार आर्थिक वर्षको औसतलाई हेर्दा घरजग्गा कर्जा त्रैमासिक रूपमा २.७० प्रतिशत र वार्षिक रूपमा १२.४८ प्रतिशतले बढेको देखिन्छ, तर आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा देखिएको वृद्धिदर औसतभन्दा कम हुनुले यस क्षेत्रमा कर्जाको माग केही सुस्त रहेको संकेत गर्दछ।
२ करोड (२० मिलियन) रुपैयाँभन्दा कमका आवासीय घर कर्जाहरूमा पनि उल्लेख्य वृद्धि देखिएको छ र विश्लेषण गरिएका सबै १२ वटा त्रैमासिक अवधिहरूमा यसको कुल कर्जामा अन्य घरजग्गा कर्जाको तुलनामा बढी हो। कुल आवासीय घर कर्जा १.६ गुणाले वृद्धि भएको छ।
आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा २५८.४६ अर्ब रहेकोमा आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा ४१७.६१ अर्ब रुपैयाँ पुगेको छ। विशेषगरी घरजग्गा क्षेत्रमा उछाल आएको समय अर्थात् आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा यस्तो कर्जाको वार्षिक वृद्धिदर २६ प्रतिशतसम्म पुगेको थियो।
राजस्व संकलनमा अस्थिरता
सरकारले घरजग्गाबाट संकलन गर्ने राजस्वमा केही अस्थिरता देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २३ अर्ब ७ करोड पुगेको राजस्व घटेर ८ अर्ब २ करोडसम्म झरेको थियो। पछिल्लो समय भने यसमा क्रमिक सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा त्रैमासिक राजस्व १५ अर्ब रुपैयाँको बीचमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस !