इरानसँगको 'ग्रान्ड बार्गेन' का लागि लागिपर्ने उपराष्ट्रपति भेन्सको प्रतिबद्धता
जर्जिया : अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानसँगको सम्बन्धमा राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेको 'ग्रान्ड बार्गेन' (वृहत सम्झौता) का लागि आफूले संघर्ष जारी राख्ने बताएका छन् । गत सप्ताहान्तमा पाकिस्तानको इस्लामाबादमा इरानी पक्षसँग भएको उच्चस्तरीय वार्ताको नेतृत्व गरेका भेन्सले वार्ताका क्रममा विपक्षी टोली सम्झौताका लागि इच्छुक देखिएको विश्वास व्यक्त गरेका छन् ।
दशकौँदेखिको अविश्वासका बाबजुद पनि वार्ता सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ। सिएनएनका अनुसार मंगलबार जर्जियाको एथेन्समा आयोजित 'टर्निङ पोइन्ट युएसए' को कार्यक्रममा बोल्दै उपराष्ट्रपति भेन्सले भने, 'अहिलेसम्मको प्रगतिबाट म निकै सन्तुष्ट छु।'
उनले इरानसँगको मुद्दामा राष्ट्रपति ट्रम्पको ठूलो योजना रहेको उल्लेख गर्दै प्रशंसासमेत गरे।'उहाँ (ट्रम्प) कुनै सानोतिनो सम्झौता गर्न चाहनुहुन्न, उहाँको लक्ष्य एउटा वृहत सम्झौता (ग्रान्ड बार्गेन) गर्ने नै हो,' भेन्सले स्पष्ट पारे ।
सम्झौता टुङ्गोमा पुग्न ढिलाई हुनुको कारणबारे प्रष्ट पार्दै उपराष्ट्रपतिले भने, 'राष्ट्रपति ट्रम्प यस्तो सम्झौता चाहनुहुन्छ जहाँ इरानसँग आणविक हतियार नहोस् र उसले आतंकवादलाई राज्यस्तरबाट प्रश्रय दिन बन्द गरोस्। बदलामा इरानी जनताले फस्टाउने अवसर पाउनेछन् र विश्व अर्थतन्त्रमा जोडिन सक्नेछन्। राष्ट्रपतिले यही प्रस्ताव अघि सार्नुभएको हो।'
वार्ताको दोस्रो चरणको समेत नेतृत्व गर्ने अपेक्षा गरिएका भेन्सले यस प्रक्रियालाई सफल बनाउन आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस !