प्रधानमन्त्री कपको लिग चरणमा आर्मी अपराजित
वीरगन्जः त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणमा अपराजित रहन सफल भएको छ। दुई खेल अगावै फाइनलमा प्रवेश गरिसकेको आर्मीले बुधबार लिगको अन्तिम खेलमा लुम्बिनीलाई एक विकेटले पराजित गरेको हो।
लिगको ९ खेलमा आर्मीले आठ खेलमा जित हात पार्दा एक खेल वर्षाले रद्द भएको थियो। आर्मी १७ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ। आर्मीले अब १२ अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको सुदूरपश्चिमसँग शुक्रबार उपाधि भिडन्त गर्नेछ। आर्मी लगातार आठ पटक फाइनलमा प्रवेश गरेको हो भने सुदूरपश्चिमले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो।
आठौं पटक फाइनलमा प्रवेश गर्ने क्रममा आर्मीले लुम्बिनीद्धारा प्रस्तुत १३९ रनको लक्ष्य २५.२ ओभरमा पूरा गरेको हो। जनकपुरस्थित रामजानकी मैदानमा आर्मीलाई जित दिलाउन कुशल मल्लले ४१, अर्जुन साउदले २८, भिम सार्कीले १८ र इमरान शेखले अविजित १६ रन बनाए।
लुम्बिनीका सन्तोष यादवले पाँच विकेट हात पारे भने निर्मल गुरुङले चार विकेट लिए। सन्तोषले ६ ओभर बलिङ गर्दै १७ रन खर्चिएर पाँच विकेट लिँदा आर्मीको जित कठिन बनेको थियो। यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो। लुम्बिनीका ओपनर रञ्जित खड्काले सर्वाधिक २८ रन बनाए। कप्तान देव खनालले २३, आकाश त्रिपाठीले २१, प्रज्ववल थापाले १५ रन बनाए।
आर्मीका कुशल मल्लले चार विकेट लिए। नरेन साउद र भिम सार्कीले दुई/दुई विकेट हात पारे। बसिर अहमद र साहब आलमले एक/एक विकेट आफ्नो नाममा लेखाए।
प्रतिक्रिया दिनुहोस !