सम्राट स्पोर्टिङ सेमिफाइनलमा
विराटनगर : घरेलु टोली विराटनगरको सम्राट स्पोर्टिङ क्लब ३८औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै पाहुना टोली भारत झारखण्डको बिरसा मुन्डा स्पोटर््स एकेडेमीमाथि हाबी भएर सम्राटले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। मंगलबार राति सम्पन्न अन्तिम क्वार्टरफाइनलमा झारखण्डलाई ३–१ गोलले निराश बनाउँदै सम्राटले गोल्डकप यात्रालाई थप मजबुत बनाएको हो।
सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बनेको भिडन्तमा पहिलो हाफसम्मको अवधि भने झारखण्डको नियन्त्रणमा रहेको थियो। खेलको सुरुवातमा प्रभावशाली प्रदर्शन गरेको झारखण्ड मध्यान्तरपछि भने निरीह बनेको थियो। पहिलो हाफअघि दुवै टोलीले आक्रमण र प्रत्याक्रमणको रणनीति अपनाउँदै खेललाई तीव्र बनाएका थिए।
सुरुवाती समयमै केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङ फितलो हुँदा सम्राट पहिलो हाफअघिसम्म १–० ले पछि परेको थियो। त्यसको विपरीत झारखण्डको टोलीले सीमित अवसरलाई सदुपयोग गर्दै पहिलो हाफको अन्त्यतिर अग्रता बनाएको थियो। तर, मध्यान्तरपछि भने पाहुना टोलीमाथि सम्राट पूरै हाबी भएको थियोे।
सम्राटका गोलरक्षकले ठम्याउन नसक्दा ४४औं मिनेटमा शंकर किस्कुको सशक्त प्रहारले जाली चुमेसँगै झारखण्ड १–० ले अगाडि बढेको थियो। त्यसपछि दबाबमा परेको सम्राटले पहिलो हाफमा जवाफी गोल फर्काउन सकेन। घरेलु मैदानको फाइदा उठाउँदै खेलिरहे पनि उसका लागि पहिलो हाफ अपेक्षाअनुसार हुन सकेन।
तर, मध्यान्तरपछि सम्राट पूर्णरूपमा फरक लय र मनोबलसहित प्रस्तुत भएको थियो। प्रशिक्षकको रणनीतिक निर्णय र खेलाडीहरूको आक्रामक प्रदर्शनले दोस्रो हाफमा खेलको स्वरूप नै बदलिएको थियो। सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै लगातार आक्रमण बुन्न थालेको सम्राटले झारखण्डको रक्षापंक्तिलाई दबाबमा राख्न सफल भयो।
५०औं मिनेटमा सम्राटले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। सौरव तामाङले दायाँ किनाराबाट दिएको उत्कृष्ट पासलाई मौसम लिम्बूले बक्सभित्रबाट सुन्दर ढंगले गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरी गरेका थिए। बराबरी गोलपछि खेलमा फर्किएको सम्राटका सौरव तामाङले ५९औं मिनेटमा गरेको प्रहार फ्रेमभित्र पर्न सकेन।
त्यसपछि ६७औं मिनेटमा कप्तान अशोक खवासले गरेको कडा प्रहारले पनि लक्ष्य भेट्न सकेन। ७०औं मिनेटमा कोमल खवासको सशक्त प्रहारलाई झारखण्डका गोलरक्षक मनोज मन्डाइले उत्कृष्ट बचाउ गर्दै टोलीलाई केही समयसम्म खेलमा टिकाइराखेका थिए। समय बित्दै जाँदा खेलमा सम्राटले दबदबा बढाउँदै लगेको थियो। रक्षात्मक बनेर खेल जोगाउने प्रयासमा देखिए पनि सम्राटको निरन्तर दबाबका कारण पाहुना टोली झरखण्ड लामो समय टिक्न सकेन। अन्ततः ८६औं मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई २–१ को अग्रता दिलाए।
खेलको इन्जुरी समयमा सम्राटले थप एक गोल गर्दै जितलाई अझ सहज बनायो। प्रताप तामाङले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को जित सुनिश्चित गरेका थिए। उत्कृष्ट प्रदर्शन गरेका तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
सम्राटले दोस्रो हाफमा देखाएको आक्रामकता, बल नियन्त्रण र अवसर सिर्जना गर्ने क्षमताले जितको आधार तयार पारेको थियो। घरेलु मैदान र समर्थकको ऊर्जा समेट्दै खेल्दा टोलीले दबाबलाई अवसरमा बदल्न सफल भयो। यद्यपि, सिर्जना गरिएका धेरै अवसरको सदुपयोग गर्न नसक्नु भने सम्राटका लागि सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस !