मधेसमा ८ जनाको सवारी चालक अनुमतिपत्र निलम्बन हुँदै
सिमराः मधेस प्रदेशमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको अनुमति पत्र निलम्बनको प्रक्रिया थालिएको छ। बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बिहीबारदेखि उक्त प्रक्रिया सुरु गरेको हो।
कार्यालयले पहिलो चरणमा ८ जनाको चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था कार्यालय वीरगन्जलाई पत्राचार गरेको छ। पत्राचार गरिएका ती ८ चालकको ट्राफिक नियम उल्लंघन अभिलेख प्रणालीमा पाँच पटकभन्दा बढी नियम उल्लंघन गर्नेहरु रहेको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहले टीभीआरएस प्रणालीबाट पहिचान भएका ८ जना चालकको अनुमति पत्र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ४ को दफा ६० बमोजिम निलम्बनका लागि पठाइएको बताए। उक्त ऐनमा चालकले पालना गर्नुपर्ने सर्तहरु पाँच पटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्न सक्ने व्यवस्था रहेको सिंहले जानकारी दिए।
मधेसमा पहिलो पटक सवारी चालक अनुमतिपत्र निलम्बनको प्रक्रिया थालिएको हो। यस प्रक्रियाले सवारी चालकलाई जिम्मेवार र जबाफदेही बनाउने कार्यालयका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेतको भनाइ छ। ‘पटकपटक ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने चालकलाई यो प्रक्रियाले जिम्मेवार र जवाफदेही बनाउँछ’, बस्नेतले भने, ‘जसका कारण दुर्घटना र जनधनको क्षति न्यूनीकरणमा मद्दत पुग्छ।’
बस्नेतले अबदेखि चालकको काम कारबाहीलाई निगरानी गर्ने र लापरबाही गर्ने सवारी चालकलाई कारवाही गरिने बताए। प्रदेशका आठ जिल्ला र मातहतका कार्यालयलाई समेत टीभीआरएस प्रणाली जाँच गरेर कारबाही सुरु गर्न निर्देशन गरिएको बस्नेतले जानकारी दिए। ‘जिल्ला र मातहतका कार्यालयमा समेत त्यस्ता चालकको पहिचान गर्ने काम सुरु भइसकेको छ’ बस्नेतले भने ‘प्रणालीबाट पुष्टि भएका चालकको अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा पठाउने काम सुरु हुन्छ।’
प्रदेश ट्राफिक कार्यालयले थालेको अभियानले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। जितपुरसिमरा उपमहानगरपालिका-२ का रुपेश थापाले ट्राफिक कार्यालयले राम्रो कामको सुरुवात गरेको बताए। जरिवाना मात्रै गरेर छोड्दा दोहोरिने गरेको लापरबाहीलाई यो प्रक्रियाले पूर्ण रूपमा नियन्त्रण गर्नेमा आफू विश्वस्त रहेको थापाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !