राजाबास गाउँमा राजगोमनको उद्धार
बर्दिबास : धनुषा र महोत्तरीको सिमाना छुट्याउने रातु नदी सभ्यताको किनारले चुरेको हरियालीले पानी र हावामात्र होइन, दुर्लभ वन्यजन्तुको जीवन पनि जोगाइरहेको छ । यही क्षेत्रको बर्दिबास नगरपालिका–३ राजाबास गाउँमा हालै देखिएको करिब ११ फिट लामो र झन्डै ६ किलो तौलको राजगोमन (किङ कोब्रा) सर्पको उद्धारले चुरे क्षेत्रको वास्तविक पहिचान फेरि एकपटक उजागर गरेको छ ।
मिथिला वाइल्डलाइफ ट्रस्टका सुबोध आचार्य र गौतम मण्डलसहित सब–डिभिजन वन कार्यालय लालगढ धनुषाको संयुक्त टोलीले बाख्रा खोर नजिकै दाउरामुनि लुकेर बसेको उक्त सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको थियो । उद्धारपछि सर्पलाई नजिकैको सामुदायिक वनमा प्राकृतिक बासस्थानमै पुनस्र्थापित गरिएको छ ।
एक दशको अन्तरालमा एक सय बढी सर्प उद्धार गरेर प्राकृति बासस्थानमा छाडिएको मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डल सुनाउछन् । उनका अनुसार चुरे क्षेत्र प्राय : ‘पानीको मुहान’ र ‘हावाको शुद्धीकरण केन्द्र’का रूपमा मात्र हेरिन्छ । तर, चुरे राजगोमनजस्ता दुर्लभ र संवेदनशील प्रजातिको पनि मुख्य आ श्रयस्थल हो ।
‘यो सर्पले जंगलको अलि उकालो– ओरालो, फुस्रो माटो, शान्त स्थान राजगोमनले मन पराउछ । यो सबै विशेषता चुरे पहाडसङ छ । आहारा खोजिका लागि चुरेका बस्ती नजिकै आउछन्’, उनले भने, ‘कतिपय अवस्थामा सडक दुर्घटनामा परेर सर्प मर्छ भने कतिपय स्थानमा स्थानीयले टोक्छ भने मारिदिन्छन् । पछिल्लो समयमा जनचेतना बढेपछी उद्धारका लागि फोन आएपछि हामी पुग्छौं । उद्धारपछि सुरक्षित स्थानमा लगेर प्राकृतिक अवस्थामा छाड्ने गर्छौं ।’
राजाबासमा देखिएको यो सर्प बस्ती नजिक आउनुको मुख्य कारण चुरे क्षेत्रको वन विनाश, बासस्थानको खुम्चिँदो दायरा र मानवीय गतिविधि बढ्नु हो । वन क्षेत्र घट्दै जाँदा यस्ता वन्यजन्तु सुरक्षित आ श्रय खोज्दै बस्तीमा पसेका उदाहरण बढिरहेका छन् ।
उद्धार टोलीले स्थानीयलाई सर्पको व्यवहार, यसको महत्त्व र देखिएमा कसरी सुरक्षित रहन सकिन्छ भन्नेबारे आधारभूत जानकारीसमेत दिने गरेको छ । उनीहरूले सर्पलाई नमार्न, टाढा रहन र तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गर्ने गरिएको अध्यक्ष मण्डलले सुनाए ।
नेपालको संघीय संरचनामा वन्यजन्तु संरक्षणको जिम्मेवारी अब स्थानीय तह र डिभिजन वन कार्यालयमा पनि केन्द्रित भएको छ ।
प्रतिक्रिया दिनुहोस !