कोरियाली रोजगारी जोगाऔं
श्रमकै लागि बिदेसिने नेपालीको पहिलो रोजाइमा पर्छ, दक्षिण कोरिया।सरकारी प्रक्रियाबाट जान पाइने र ठगिने सम्भावना कम हुँदै हो, आकर्षक पारिश्रमिकले कोरिया आकर्षक गन्तव्य भएको छ।दक्षिण कोरिया गइहाल्न भने अरू श्रम गन्तव्य मुलुक जाँदाजस्तो सजिलो छैन।
भाषा परीक्षा दिनुपर्छ।सीपको परीक्षणमा पनि खरो उत्रिन सक्नुपर्छ।त्यतिले मात्रै पनि कोरिया जाने अवसर नपाइन सक्छ।परीक्षा उत्तीर्ण भइयो, तर जान पाइएन भन्ने धेरै नेपाली युवाको गुनासो र दुःखेसोमात्रै छैन, आक्रोश पनि छ। त्यो आक्रोशलाई उनीहरूले बेलाबेला आन्दोलनमार्फत प्रकट पनि गर्छन्।त्यस्तो आन्दोलनको क्रममा दुई जनाको ज्यानै गइसकेको छ।
वास्तवमा दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)बारे नेपाल र कोरियाबीच सम्झौता छ।सोहीअनुसार नेपाली युवा कोरिया जाने हुन्।तर आवश्यकताको आधारमा मात्रै कोरियाले नेपाली युवा मगाउँछ।यहाँ धेरैले भाषा परीक्षा उत्तीर्ण गरे वा सीप परीक्षणमा पनि योग्य देखिए भन्दैमा उसले नलैजान पनि सक्छ।
त्यहाँका उद्यम व्यवसायमा खाँचो परे मगाउँछ, नत्र मगाउँदैन।माग गर्ने वा लैजाने प्रक्रिया पनि पारदर्शी नै छ।पहिला भाषा परीक्षा उत्तीर्ण गरे र सूचीमा परेकाहरूले नै पहिलो प्राथमिकता पाउँछन्।यत्ति कुरा नबुझ्दा नेपाली युवाले व्यर्थैको टाउको दुखाउने र ज्यानै फाल्ने आन्दोलन गरे।यसमा न सरकारले युवालाई यति कुरा बुझाउन सक्यो न भाषा प्रशिक्षण केन्द्रहरूले।भाषा प्रशिक्षण केन्द्रहरूले त बरु ‘ग्यारेन्टी’ नै गरिदिँदा युवामा भ्रम भएको छ।
अहिलेसम्म १ लाख २१ हजारभन्दा बढी नेपालीले कोरियामा रोजगारी पाइसकेका छन्।यो संख्या आफैंमा एउटा ठूलो उपलब्धि हो।सम्भावना अरू थप युवाको पनि छ।तर युवाहरूले आन्दोलन गरिरहँदा बरु दक्षिण कोरिया झस्किएको छ।अहिलेसम्म विदेशी कामदारमध्ये नेपालीलाई उसले प्राथमिकता दिएको छ।आन्दोलन चलिरहने हो भने बरु एकजना पनि नेपाली लिन्छौंसम्म भन्न कोरियालीले भ्याइसके।कूटनीतिक वार्ता गरी नेपाली अधिकारीले नेपाली युवालाई प्रक्रियाबारे बुझाउने र आन्दोलन रोक्ने प्रतिबद्धता गरेका छन्।त्यसैका भरमा अहिलेसम्म दुई देशबीचको सम्झौता टिकेको छ।बरु आन्दोलन जारी रह्यो भने आउँदा दिनका अरू अवसर फुस्किन सक्छन्।
दुई देशको सम्बन्धमा असर गर्ने र थप युवाको रोजगारीको अवसर गुम्न सक्ने सम्भावना ख्याल गर्दै युवाहरूले आन्दोलन रोक्नुपर्छ।सरकारले युवालाई बुझाउन सक्नुपर्छ।भाषा प्रशिक्षण केन्द्रहरूको व्यवसाय पनि भोलिका दिनमा चौपट हुन सक्ने भएको हुँदा उनीहरूले सत्य बुझाउनुपर्छ।भ्रम चिर्नुपर्छ, फैलाउनु हुँदैन।बिचौलियाको कुनै गुञ्जायस नभएको र पारदर्शी यत्तिको प्रणाली नै अन्त्य हुने गरी आन्दोलन भयो भने राष्ट्रिय बेइज्जतै हुन सक्छ।आन्दोलन होइन, शान्ति र धैर्यलाई नेपालीको पहिचान बनाउनुपर्छ।जसरी रोजगारमा पुगेका नेपाली युवाले इमान्दारी र मेहनतले कोरियालीको मन जितेका छन्, त्यसको निरन्तरताका लागि पनि आन्दोलनको प्रवृत्ति अन्त्य हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !