स्थानीय न्याय सुदृढीकरणका लागि बाजुराको कोल्टिमा सम्मेलन सुरु
बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन आजदेखि सुरु भएको छ। भोलिसम्म सञ्चालन हुने सम्मेलनको आज उद्घाटन भएको हो।
कार्यक्रममा बाजुराका विभिन्न नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरू, न्यायिक समिति सदस्यहरू तथा छिमेकी जिल्ला अछाम र कर्णाली प्रदेशअन्तर्गत मुगु, कालिकोट र हुम्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
बुढीनन्दा नगरपालिकाका उपप्रमुख तथा सम्मेलन अध्यक्ष राम बहादुर बोहोराले स्थानीय तहमा देखिएका न्यायिक समस्याहरूको समाधान खोज्ने, अनुभव साटासाट गर्ने र न्याय सम्पादन प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए। सम्मेलनमा न्यायिक समितिको कार्यप्रणाली, चुनौती र समाधानका उपायहरूबारे छलफल गरिनुका साथै विभिन्न कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
सम्मेलनले स्थानीय न्याय प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !