कार्यसम्पादन बैठकमा गगन थापाले नाम प्रस्ताव गर्ने तयारी
‘नयाँ कांग्रेस’मा पनि दलको नेता आफूनिकट बनाउन हानथाप
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसदीय दलको नेताको नाम सोमबार बस्ने कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव गर्दैछन् । उनले कार्यसम्पादन समितिको बैठकमा नाम प्रस्ताव गरेर सहमति जुटाउने प्रयास गर्ने भएका छन् ।
सहमति जुटाउनका लागि प्रस्ताव पेस गर्ने प्रयोजनले सोमबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । सहमहामन्त्री तथा संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले पनि कार्यसम्पादन समितिको बैठकमा सभापतिले सहमति जुटाउन नाम प्रस्ताव गर्ने बताए ।
संसदीय दलको नेतामा आकांक्षी रहेकी वासना थापाले सर्वसम्मत नभए निर्वाचन प्रक्रियामा सहभागी हुने बताउँदै भनिन्, ‘कार्यसम्पादन समितिमा सहमति जुटाउने प्रयास भइरहेको सुनिन्छ । सहमति भयो भने मलाई पनि मान्य हुनेछ । त्यसपछि दिउँसो १ बजे दलको बैठक बसेर अनुमोदन गर्ने कुरा छ । अब ढिलोमा भोलिसम्म हाम्रो संसदीय दलले नेता पाउनेछ ।’
कांग्रेसमा दलको नेताका लागि तीन जनाले दाबी गरिरहेका थिए । यद्यपि, नेता अर्जुननरसिंह केसी अहिले प्रतिस्पर्धामा छैनन् । सहमति भएको खण्डमा पार्टीले गरेको सर्वसम्मत निर्णय मान्ने उनको भनाइ छ । उनले भने, ‘म संसदीय दलको नेताको निर्वाचन लड्दिनँ । मेरो आग्रह के छ भने, दलको नेता चयन गर्दा निश्चित मापदण्ड बनाएर मात्र गरियोस् ।’
गत शुक्रबार रसाइली नेतृत्वको निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको थियो तर विविध कारण देखाउँदै त्यसलाई स्थगित गरियो । पछि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका तीन जना सदस्य रहने गरी सहमति खोज्ने समिति बनाइएको थियो । सोही समिति अहिले सर्वसम्मत गराउने प्रयासमा जुटेको छ ।
समितिका एक सदस्यका अनुसार, ‘हामीले आकांक्षीहरूसँग व्यक्तिगत र सामूहिक छलफल गरेर सहमति जुटाउने प्रयास गरेका छौं । संसदीय दलको नेताका लागि कुन व्यक्ति उपयुक्त हुन्छ भन्ने विषयमा सहमति जुटाएर सभापतिलाई बुझाइसकेका छौं । हामीले नाम बुझाएपछि नै सभापतिले कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।’ प्रस्तावित नाममा सर्वसम्मत हुन्छ कि हुँदैन भन्ने प्रश्नमा ती पदाधिकारीले भने, ‘हामीले दिएको व्यक्तिको नाम नै बैठकमा प्रस्ताव हुनेछ । त्यसमा सहमति जुटे ठीक छ नत्र निर्वाचन प्रक्रियामा जानेछौं ।’
सभापति थापाको रुचिमा प्रत्यक्ष निर्वाचित मोहन आचार्य छन् भने उपसभापति शर्माको रोजाइमा आङदेम्बे रहेका छन् । आचार्य इन्जिनियर हुनुका साथै निर्माण व्यवसायी (रसुवा कन्स्ट्रक्सनका मालिक) हुन् । आङदेम्बे भने लामो समयदेखि राजनीतिमा सक्रिय छन् र उनी देउवानिकट मानिन्छन् । उपसभापति शर्माले आङदेम्बेलाई रोज्नुको कारण पार्टीको इतर पक्षलाई पनि समेट्ने प्रयास भएको बुझिएको छ ।
शर्मानिकट एक पदाधिकारी भन्छन्, ‘पार्टीमा निर्वाचनपछि जुन परिस्थिति सिर्जना भएको छ, अब सबै नमिल्नुको विकल्प छैन । त्यसका लागि फराकिलो मन बनाएर अघि बढ्नुपर्छ । निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेता आङदेम्बेलाई दलको नेता बनाउँदा डा. शेखर कोइराला पक्षबीचको दूरी पनि मेटिने विश्वास छ ।’
यता डा. कोइरालाले पनि पार्टीमा परिपक्व र अग्रज व्यक्तिलाई दलको नेता बनाउनुपर्ने सुझाव दिएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममार्फत उनले सभापति थापालाई दलको नेता बनाउँदा पार्टीको धरातल बुझेको र सबै पक्षको भावनालाई समेट्न सक्ने परिपक्व व्यक्ति छान्न अनुरोध गरेका छन् ।
प्रक्रिया अस्वाभाविक लम्बियो : खड्का
संसदीय दलको नेता चयन प्रक्रिया ढिलाइ भएको विषयमा नेता पूर्णबहादुर खड्काले असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रक्रिया अस्वाभाविक रूपमा लम्बिएको टिप्पणीसमेत गरेका छन् । खड्काले संसदीय दलको नेता चयन पार्टीको आन्तरिक र सार्वभौम अधिकारभित्र पर्ने विषय भएको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए ।
‘संसदीय दलको नेता चयनको कार्यमा देखिएको अस्वाभाविक ढिलाइ र अन्योल दलको सार्वभौम अधिकारमाथिको ठाडो हस्तक्षेपको परिणाम हो, यो कार्य तत्काल बन्द गरियोस्,’ उनले भने ।
नेपाली कांग्रेसको विधानअनुसार संसदीय दलको नेता चयन प्रक्रिया केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा दलका सदस्यहरूले स्वतन्त्र रूपमा गर्नुपर्ने खड्काले बताएका छन् । उनले पछिल्लो गतिविधिहरूले पार्टीभित्र अनावश्यक अन्योल र असन्तुलन सिर्जना गरेको उल्लेख गर्दै यस्तो ‘हुन्डरी मच्चाउने’ शैली कसैको हितमा नहुने बताए ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !







