पैसा झिक्न प्रमाण मागेपछि दिदीको कंकाल लिएर बैंक पुगे भाइ
काठमाडाैं : भारतको ओडिशास्थित केओन्झार जिल्लाबाट एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसले मानवीय संवेदना र बैंकिङ प्रणालीमाथि ठूलो प्रश्न खडा गरेको छ। घटना सोमबार दिउँसोको हो, जब ५२ वर्षीय जितु मुन्डा बैंक खाताबाट पैसा निकाल्न आफ्नी दिदीको कंकाल काँधमा बोकेर बैंकभित्र प्रवेश गरे। यो दृश्य देखेर त्यहाँ रहेका बैंक कर्मचारी र उपस्थित ग्राहकहरू स्तब्ध भए। उक्त बैंक ओडिशा ग्रामीण बैंकको पाटना ब्लकअन्तर्गत मल्लीपोशी गाउँको शाखा थियो।
जितु मुन्डा पाटना ब्लकै दियानाली गाउँका बासिन्दा हुन्। उनी आफ्नी दिदीको बैंक खातामा रहेको १९,३०० रुपैयाँ निकाल्न चाहन्थे। उनकी ५६ वर्षीया दिदी कलरा मुन्डाको विवाह छिमेकी जाजपुर जिल्लाका सुकरु मुन्डासँग भएको थियो।
कलरा र सुकरुको एउटा छोरा थियो। तर श्रीमान् र छोरा दुवैको मृत्यु भएपछि उनी माइती (दियानाली) फर्केकी थिइन् र ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेकी थिइन्। केही महिनाअघि कलराले आफ्नो एउटा बाच्छो बेचेर प्राप्त भएको १९,३०० रुपैयाँ खातामा जम्मा गरेकी थिइन्।
तर उनकाे दुई महिनाअघि मृत्यु भएकाे थियाे। उनकाे मृत्यु पछि भाइ जितु रकम निकाल्न बैंक पुगेका थिए। तर पैसा निकाल्न खोज्दा बैंकका म्यानेजरले कुरा सुन्न अस्वीकार गरेपछि यस्तो कदम उठाउन बाध्य भएको जितुको भनाइ छ।
'मैले बैंक म्यानेजरलाई धेरै पटक सम्झाउन खोजेको थिएँ कि मेरी दिदीको दुई महिनाअघि नै मृत्यु भइसक्यो। जब बैंक म्यानेजरले मेरो कुरा सुन्न अस्वीकार गरे र खातावालालाई नै ल्याउन वा कानुनी उत्तराधिकारीको कागजातसहित मृत्युको प्रमाण पेस गर्न ढिपी गरे, तब निराश भएर म उनीहरूलाई प्रमाण देखाउन कंकाल नै लिएर आएँ।' जितुले भने ।
उनी तीन किलोमिटर पैदल हिँडेर गाउँको मसानघाट पुगेका थिए र दिदीको अवशेष निकाले, । त्यसलाई जुटको बोरामा राखे र चर्को गर्मीमा काँधमा बोकेर बैंक पुगे। बैंक परिसरमा यो दृश्य देखेर कर्मचारी र ग्राहकहरू थरथर काँपे। बैंकले तुरुन्तै प्रहरी र बीडीओ (ब्लक विकास अधिकारी) लाई बोलायो। प्रहरी र बीडीओले जितुलाई उनको कुरा सुनिने आश्वासन दिँदै कंकाललाई पुनः मसानघाटमै राखेर आउन भने। त्यसपछि जितु फेरि काँधमा कंकाल बोकेर तीन किलोमिटर पैदल हिँड्दै मसानघाट पुगेका थिए ।
ओडिशा ग्रामीण बैंकका म्यानेजर सुशान्त कुमार सेठीले भने, 'जब जितु पैसा निकाल्न आए, मैले सम्बन्धित व्यक्ति यहाँ उपस्थित हुनुपर्छ भनेँ। सुरुमा उनले दिदीलाई पक्षघात भएको र आउन नसक्ने बताए। जब मैले बैंक कर्मचारी तपाईंको घरमै जान्छन् भनेँ, तब मात्र उनले दिदीको मृत्यु भइसकेको बताए।'
म्यानेजरका अनुसार दिदी बितेकाे दुई महिनामा जितु कहिल्यै पैसा निकाल्न आएका थिएनन्। कलराका अन्य दुई कानुनी उत्तराधिकारी पनि थिए र उनीहरू पनि पैसा निकाल्न बैंक आएका थिए, त्यसैले बैंकले जितुसँग कानुनी कागजात मागेको थियो। अप्रिल २८ मा अनुसन्धानपछि जितु र कलराका अन्य दुई कानुनी उत्तराधिकारी (भाइ र बहिनी) लाई खातामा जम्मा भएको १९,४१० रुपैयाँ हस्तान्तरण गरिएकाे छ , भने प्रहरीले उनीहरूलाई उक्त रकम आपसमा बराबर बाँड्न सल्लाह दिएको छ।
ओडिशाका राजस्व मन्त्री सुरेश पुजारीले यस घटनाको जानकारी पाएपछि यो 'दाना माझी' काण्डपछिको दोस्रो ठूलो दुःखद घटना भएको बताएका छन्। उनले जिल्ला कलेक्टरले यस विषयको जाँच गरिरहेको र बैंक म्यानेजरको व्यवहारका लागि उनीमाथि कडा कारबाही गरिने जानकारी दिए।
यसैबीच, केओन्झार जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। प्रशासनले भनेको छ, 'जनताको अधिकार र गरिमाको रक्षा गर्नु जिल्ला प्रशासनको मूल उद्देश्य हो।'
जिल्ला प्रशासनले जितु मुन्डालाई 'डिस्ट्रिक्ट रेडक्रस फन्ड' बाट ३०,००० रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ। साथै, उनलाई मृत्यु दर्ता र कानुनी उत्तराधिकारीको प्रमाणपत्र पनि जारी गरिएको छ। प्रशासनले भविष्यमा कुनै पनि निर्दोष व्यक्तिले यस्तो अवस्थाको सामना गर्न नपरोस् भन्ने कुरामा आफू प्रतिबद्ध रहेको जनाएको छ।
-बीबीसी हिन्दीबाट
प्रतिक्रिया दिनुहोस !