युवा शक्ति

रुबीको राजनीतिक छलाङ

युवा शक्ति

रुबीको राजनीतिक छलाङ

आर्थिक अभाव, जातिगत विभेद, सामाजिक बन्देज र पछौटे सोचले प्रगति र सामर्थको मुख थुन्न नसक्ने कुरालाई रुबीले प्रमाणित गरेकी छिन्।

अहिले देशैभरि निकै चर्चित र सम्मानित नाम बनेको छ, रुबी ठाकुर। २५ वर्षको उमेरमा प्रतिनिधिसभाको उपसभामुख जस्तो सम्मानित पदमा निर्वाचित भएकी रुबीले विरासतमा राजनीति पाएकी होइनन्। उनले आफ्नो मेहनत, सामाजमा गरेको लगानी र असल व्यक्तित्वले अहिले देशकै ठूलो ओहदामा पुग्न सफल भएकी हुन्। 

जनकपुरधाम उपमहानगरपालिका—१४ मुजेलिया निवासी रुबीले श्रम संस्कृति पार्टीबाट संसदीय राजनीतिमा पाइला टेकेकी हुन्। उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा सदस्य निर्वाचित भएकी हुन्। 

पिता सोगारथ ठाकुर र आमा रेणु ठाकुरका ६ सन्तानमध्ये रुबी साइँली छोरी हुन्। आर्थिक रूपले कमजोर परिवारमा जन्मिएकी रुबीको परिवारमा बुवाआमाको संघर्ष निकै बढी रह्यो। बुवा सोगारथ जीविकोपार्जनका लागि इँटाभट्टामा काम गर्थे भने पछि उनले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिँदै सैलुन व्यवसाय खोले। 

सैलुनमा दिनरात काम गरेर उनले आठ जनाको परिवारलाई एक्लै कमाएर पालेका थिए। तर, छोराछोरी ठूलो हुँदै जाँदा गर्जो टार्न असहजता आउन थाल्यो। पारिवारिक आवश्यकताहरूको बोझले सोगारथलाई बिदेसिन बाध्य बनायो। उनी रोजगारीका लागि बिदेसिए। आमा गृहिणी भए पनि अर्काको दुई बिघा खेत बटैयामा लिएर खेती गर्थिन् र घरपरिवार सम्हालेकी थिइन्।

निकै असहजता, पारिवारिक कठिनाइ र सामाजिक परिवेशको बन्धनले बाँधिएर हुर्केकी रुबीले चार बहिनी र दुई भाइसँगै सामान्य अध्ययन गरेकी थिइन्। उनको बुवाले विदेशबाट पठाएको रकम नै आम्दानीको मुख्य स्रोत थियो। 

२०७४ सालमा गाउँकै विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेकी रुबीले अगाडिको पढाइ सर्लाहीको बलरा गएर गर्ने निधो गरिन्। त्यतिबेला उनका आफन्तहरूले छोरीलाई अगाडि पढाउने कुरालाई खासै मन पराएनन्। आमा रेणुलाई सबैले सम्झाउँथे, छोरीलाई बढी पढाउनु हुँदैन, घर गृहस्थी सिकाउनु पर्छ। तर, विरोध र अभावका बीच पनि रुबीले पढ्ने धोको पूरा गरेरै छाडिन्। बलरा पोलिटेक्निकबाट तीनवर्षे डिप्लोमा (इन्जिनियरिङ) पढाइ पूरा गरिन्। पारिवारिक जिम्मेवारीले पढाइ सकेलगत्तै जनकपुरकै वास्तु आर्किटेक्टर कन्सल्टेन्सीमा काम गर्न सुरु गरेकी रुबी सांसदमा छानिनुभन्दा अगाडिसम्म काममै थिइन्। २० हजार रुपैयाँ मासिक पाउने गरेकी रुबीले सात महिना कन्सल्टेन्सीमा काम गरिन्।  

‘घर परिवारको जिम्मेवारी निकै बढी भएकोले कमाएको पैसा थोरबहुत आफ्नो खर्चको लागि राखेर बाँकी घरमै पढाउँथे,’ रुबी भन्छिन्, ‘हाम्रो परिवार निकै परिश्रमले चलको परिवार हो।’श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङको गतिविधिलाई सामाजिक सञ्जालबाट निकै मन पराएकी रुबीले काम गर्ने नेता मान्दै आएकी थिइन्। चुनावी अभियानको क्रममा हर्कसँग धनुषामा भेटिएकी रुबी उनको भाषणबाट निकै प्रभावित भइन् र सामाजिक परिवर्तनका लागि उनीसँग जोडिने निधो गरिन्। ‘ म उहाँका कामहरू र उहाँले धरानमा गरेका परिवर्तन र विकासका विषयहरूमा सामाजिक सञ्जालबाट अवगत भएको थिएँ र उनको कायैशैलीबाट निकै प्रभावित पनि भएको थिएँ’, रुबी थप्छिन् ‘हर्क साम्पाङ काम गर्ने नेता हुन् र उनले फरक शैलीमा काम गर्छन् भन्ने लागेरै उनीसँग आएको हो।’

उनी चुनावी प्रचारप्रसारमा हर्कको पार्टीलाई समर्थन गर्दै उत्रिइन् र धनुषा ४ मा उनको परिचय निकै कम दिनमा स्थापित भयो। पार्टीले उनलाई मधेसी जनजाति क्लस्टरबाट समानुपातिक सांसदमा सिफारिस गरेपछि रुबीको जीवनले एउटा नयाँ मोड लियो। 

पछि सांसदमात्रै नभई उपसभामुखकै पदमा उनी निर्वाचित भएपछि रुबीको सफलता देशकै युवाको लागि प्रेरणादायी बन्यो।

उनले राजनीतिमा एक्कासी स्थान पाउँछु भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर, उनी देशकै कान्छी सांसद बन्न पुगिन्। पछि सांसदमात्रै नभई उपसभामुखकै पदमा उनी निर्वाचित भएपछि उनको यो सफलता देशकै युवाको लागि प्रेरणादायी बन्यो। कुनै बेला छोरीलाई नपढाउन सुझाव दिने आफन्तहरू अहिले आमा रेणुलाई दिनका दिन फोन गरेर, भेटेर बधाई दिने गर्छन्। उनका भाइहरूलाई सबैले सम्मान गर्न थालेका छन्। भर्खरमात्रै एसईई दिएका भाइ शनिकुमार ठाकुरले सबैभन्दा पहिला फेसबुकबाट दिदी ठूलो राजनीतिक पदमा पुगेको थाहा पाएका थिए। उनलाई साथीभाइहरू, छरछिमेकी सबैले बधाई दिन थालेपछि उनको खुसीको ठेगान नै रहेन। 

रुबी निकै साधारण छिन् र त्योभन्दा पनि साधारण छ उनको परिवार र उनीहरूको रहनसहन। परिवारमा आमा र भाइहरूलाई त उपसभामुख पदको गरिमाका विषयमा समेत खासै थाहा थिएन् किनकि राजनीतिक रूपमा सक्रियता नै थिएन। चार धुर जग्गामा बनेको सानो घरबाट ठूलो र उज्ज्वल भविष्य लिएर बाहिर निस्केकी रुबी जनकपुरको मात्रै नभई मधेसकै सान बन्न सफल भएकी छिन्। 

आर्थिक अभाव, जातिगत विभेद, सामाजिक बन्देज र पछौटे सोचले प्रगति र सामर्थको मुख थुन्न नसक्ने कुरालाई रुबीले प्रमाणित गरेकी छिन्। उनको सफलता पछाडि लुकेको संघर्षले युवा वर्गलाई हौसला प्रदान गर्दछ। मधेसमा व्याप्त दाइजो प्रथा, छोरीहरूसँग गरिने विभेद र सामाजिक कुरीतिहरूको विरोधमा सशक्त रूपमा आवाज उठाउने गरेकी उपसभामुख रुबी ठाकुर युवा पुस्तका लागि प्रेरणाको स्रोतमात्रै नभई समाजमा सकारात्मक परिवर्तनको रोल मोडेल पनि हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.