मुसहर बस्तीमा ललिताको शैक्षिक क्रान्ति
दुई छोराको साथ लागेर विद्यालय भर्ना भएकी २७ वर्षीया ललिता मुसहरले हालै एसईई परीक्षा दिएर आफ्नो समुदायमा शिक्षाको नयाँ ज्योति बालेकी छिन्।
भनिन्छ, ‘तँ आँट, म पुर्याउँछु’ तर २७ वर्षीया ललिता सदा (मुसहर) को जिन्दगीमा कल्पना गर्न पनि कठिन थियो। परिवार चलाउन मुस्किल पर्ने ललिताले दुई छोरालाई स्कुल पठाइन्। उनीहरूको साथ लागेर आफूले पनि स्कुल पोसाक लगाइन्।
सन्तानसँगै किताब बोकेर स्कुल आउजाउ गरिन्। हालै उनले निकै संघर्ष गर्दै विद्यालय शिक्षा परीक्षा (एसईई) तहको परीक्षा दिन सफल भएकी छिन्। कक्षा ११ पढ्ने रहर पालेकी छिन्। उनले महोत्तरीको बर्दिबास नगरपालिका—२ एकीकृत नमुना मुसहर बस्ती नजिकैको जनता माध्यमिक विद्यालयमा पढेकी हुन्। उनको संघर्ष, अठोटले भुइँमान्छेहरूलाई भने उत्साहित बनाएको छ।
हार्नलाई ललिताको हातमा केही थिएन तर जित्नलाई त पूरै संसार छ। पढेर गरिबीलाई हराउने र दुनियाँलाई जित्न उनी एक प्रकारले स्कुल पढेर अदृश्य रूपमा युद्ध नै लडिरहेकी छिन्। पुस्तौनी शिक्षाबाट वञ्चित उनको परिवारमात्रै होइन समुदाय नै शिक्षाको उज्यालो ज्योतितर्फ लम्किरहेको छ। जसको नेतृत्व उनको काँधमा छ।
मुसहर बस्तीमा तीन सय बढी जनसंख्या छ। त्यसमध्ये महिलामा उनीमात्रै कक्षा १० भन्दा बढी पढेकी दोस्रो महिला हुन्। उनको जेठो छोरो १४ वर्षका ब्रह्मदेव सदा कक्षा ५ को परीक्षा दिएर कक्षा ६ को पढाइको तयारीमा छन्। उनको भाइ १२ वर्षीय रोहन सदाले दाइ ब्रह्मदेवलाई पछ्याइरहेको छ। रोहन कक्षा ४ को परीक्षा पास गरेर कक्षा ५ पढ्ने तयारीमा छन्। ललिता यतिखेर एसईई परीक्षाको नतिजाको प्रतीक्षासँगै यो फुर्सदको समयमा खसी पालेर सदुपयोग गरिरहेकी छन्। उनी भन्छिन्, ‘कक्षा १० को आन्तरिक परीक्षामा सबै विषयमा पास गरेकी छु। फाइनल परीक्षामा राम्रै लेखेकी छु। नतिजा मेरो पक्षमा आउँछ भन्ने विश्वास छ।’
पूर्व—पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास चोकभन्दा डेढ किलोमिटर दक्षिणमा एकीकृत नमुना मुसहर बस्ती पर्छ। जहाँ ललिताको बसोबास छ। ललिताले घरायसी समस्याका कारण स्कुल छोड्दै, पढ्दै कक्षा १० सम्म पढ्न सफल भएकी छिन्। कक्षा २ मा पढ्दै गर्दा आमाले छाडिन्। पढाइ छुट्यो। अर्काको घरमा काम गर्दै उनी हुर्किइन्।
१२ वर्षको उमेरमा ललितालाई पेट पाल्न काठमाडौंमा गलैंचा बुन्ने कारखानासम्म पुग्नुपरेको थियो। एक वर्षमा त्यहाँ कठिन अवस्थामा उनको बालापन बित्यो। दसैंमा काठमाडौैंबाट घर आएको बेला गाउँकी शिवो सदाले उनको दुःखलाई खुसीमा परिणत गर्ने कुरा सुनाइन्। उनले गाउँकै युवा रामेकवाल सदासाग विवाह गराइदिने कुरो सुनाइन्। विवाहपछि जीवनको दुःख टर्ने कुराबाट प्रभावित भएर ललिता विवाह गर्न राजी भइन्। गाउँलेहरू बसेर ललिता र रामेकवालबीच विवाह गराइदिए। जतिबेला ललिता बल्ल १४ वर्षको उमेरकी थिइन्।
रोग, भोक, शोकले पुस्तौनी थलिएको मुसहर बस्तीकी एक पात्र ललितालाई जीवन बाँच्न कठिन थियो। त्यसमाथि पढ्नुको कुरा त कसैले कल्पना नै गर्न सकिँदैन। मधेसको दलितमा पनि महादलित जात मुसहर हो। गाउँमा पानी लिन जाँदा पनि ललिताले छुवाछूतको व्यवहार खेपेकी थिइन्। ललिताजस्तालाई स्कुलमा गएर पढ्नु त टाढाको कुरो भयो। तर, उनको पढ्ने र दुनियाँ बुझ्ने सपनाले सधैँ चिथोरिरह्यो।
‘विवाहपछि ज्याला मजदुरी गर्ने, जंगलबाट दाउरा ल्याउने अनि परिवार चलाउन थालेँ। १५ वर्षकै उमेरमै जेठो छोरो जन्मियो। त्यसपछिको डेढ वर्षमा अर्को कान्छो छोरो जन्मियो। दुवै छोरालाई हुर्काएँ,’ उनी भन्छिन्, ‘अनि अब पढ्नुपर्छ भनेर २०७४ सालमा स्कुलमा नाम लेखाएँ। सँगै पढ्न थालेँ। नियमित पढ्दै आज कक्षा १० सम्म पढेँ। अब कक्षा ११ मा पढ्छु।’
२०७३ सालमा हास्य कलाकार धुर्मुस र सुन्तली आएर बस्ती बनाए। त्यो बेला पढ्नुपर्छ भनेर सबैलाई स्कुल भर्ना गराए। त्यो बेला ललिता स्कुलमा गएर पढ्न थालेकी थिइन्। धेरैले पढाइ छोडे। तर उनले छोराहरूसँग स्कुल जाने कामलाई निरन्तरता दिइरहिन्। यसमा बस्तीका स्थानीय तथा सो स्कुलका शिक्षक मञ्जय सदाले सहयोग गरेका थिए।
उनको पढाइमा उनका श्रीमान् रामेकवालको ठूलो सहयोग, साथ छ। परिवार चलाउन उनका श्रीमान् ऋण काढेर कतार गए। त्यहाँबाट पनि कमाएर घर चलाउन सहयोग गरेका थिए। अहिले गाउँमै ज्याला मजदुरी गर्छन्।
ललितालाई छोरा स्याहार्दै बस्तुभाउ पाल्नु र स्कुल गएर पढ्नु निकै चुनौतीपूर्ण काम रहेको छ। पढेर नर्स बन्ने सपनाले उनलाई स्कुल डोर्याइरहेको छ। उनी भन्छिन्, ‘हामी तीन जना स्कुल पढ्ने छौं। श्रीमान् एक्लै कमाउने हुनुहुन्छ। घर खर्च जुटाउन निकै समस्या भइरहेको छ। खर्च अलि जुट्यो भने सजिलो हुन्छ पढ्नलाई।’
प्रतिक्रिया दिनुहोस !