राज्यबाट उपेक्षित लोपोन्मुख महाउत समुदाय : अभाव र अपमानबीच संघर्षको कथा

राज्यबाट उपेक्षित लोपोन्मुख महाउत समुदाय : अभाव र अपमानबीच संघर्षको कथा

मगन्तनपूर्वा (बाँके) : अरूको ढोकामा उभिएर बिहान–साँझको दुई छाकका लागि हात फैलाउनुपर्ने जीवन कति पीडादायी होला ? एकछिन मन थामेर कल्पना गरौं। न गाँसको ठेगान न बासको सहारा। न कसैको आड न भरोसा। यस्तो अवस्थामा राज्यको उपस्थिति त अझ टाढाको विषय बनिरहेको छ। आश्वासन दिने धेरै तर काम गर्ने थोरै हुँदा अभाव र अपमानका दिनहरू घिस्रिँदै बितिरहेको एउटा अन्तहीन यात्राजस्तो देखिन्छ मगन्तनपूर्वाका महाउतहरूको जीवन।

यही कठोर यथार्थका बीच बाँकेको डुडुवा गाउँपालिका–६, मगन्तनपूर्वाको सीमावर्ती बस्तीमा एउटा सानो तर उज्यालो भविष्यको किरण देखिँदैछ—११ वर्षीय ऋषि महाउतको रूपमा। छाप्रोछेउको सडकमा साथीहरूसँग खेलिरहेका ऋषि आफ्नो कथा यसरी सुनाउँछन्, ‘आमाले मलाई काठमाडौं लैजानुभएको तीन वर्ष भयो। अहिले कक्षा ३ मा पढ्दै छु। मागेरै भए पनि आमाले मलाई पढाउनुभएको छ, विद्यालयको शुल्क पनि उहाँले नै तिर्नुहुन्छ।’

यो लोपोन्मुख समुदायका अर्का ११ वर्षीय बालक कबिर महाउत भने आफ्नै गाउँको एउटा निजी विद्यालयमा अध्ययनरत छन्। उनका दाजु मेराज यस वर्ष कक्षा ७ मा पुगेका छन्। मेराज आफ्नो चाहना सुनाउँदै भन्छन्, ‘मलाई कम्प्युटर सिक्ने र पछि प्रहरी बन्ने इच्छा छ। मेरा मामा पनि प्रहरीमा हुनुहुन्छ, त्यसैले मलाई यो पेसा धेरै मन पर्छ।’ सीमावर्ती बस्तीमा भइरहने झै–झगडाका कारण आफूलाई असुरक्षित महसुस गर्ने यी बालकले भविष्यमा समाजलाई सुरक्षाको अनुभूति दिलाउने लक्ष्य बोकेका छन्। उनका भनाइहरू उज्यालो भविष्यतर्फ उन्मुख किताबका पानाजस्तै लाग्छन्, जहाँ कतै आमाका अधुरा सपना त कतै भोलिको भरोसा समेटिएको छ।

सुनिता महाउतको कथा र व्यथा भने अझ गहिरो पीडाले भरिएको छ। मागेरै गुजारा चलाउने उनको सानो संसारको आधार मानिएका श्रीमान् (विवेकका बाबु) को असामयिक निधनपछि घरको ढुकढुकी नै रोकिएजस्तो भएको उनी बताउँछिन्। विवेक सानै हुँदा बुबा गुमाएको यस परिवारमा कमाउने व्यक्तिको अभावले असंख्य संकट थपिदिएको छ। ८ वर्षका नाबालक विवेकको आँखामा बाल्यकालीन सपनाभन्दा बढी अभावको छायाँ देखिन्छ। घरको मूल स्तम्भ ढलेपछि कमाइ रोकियो र भोकको पीडा झन् बढ्यो। एउटी आमामाथि जिम्मेवारीको भारी थपिएको छ। ‘आजको छाक कसरी टार्ने र भोलि बिहानसम्म कसरी कुर्ने ?’ भन्ने चिन्ताले आफू थिचिएको सुनीता बताउँछिन्।

हुन त यो बस्ती परिवर्तनको उज्यालोतिर उन्मुख छ, तर यहाँका धेरै बासिन्दाको मुहारमा मुस्कान झल्किने स्पष्ट संकेत अझै देखिँदैनन्। कतिपयको हकमा उज्यालोभन्दा अँध्यारो नै गाढा बन्दै गएको छ। तिनैमध्येकी सुनिताका लागि जीवन केवल बाँच्नु मात्र नभई प्रत्येक दिनको संघर्ष बनेको छ। श्रीमान्को मृत्युले खुसीसाथ बाँच्ने आधार खोसिएको र विवेकले बाल्यकालको हाँसो बुझ्न नपाउँदै अभावको कठोर पाठ सिक्नुपरेको छ।

घरको मूल खम्बा ढलेपछि आइपरेका समस्याहरू सुनिताका लागि चुनौती बनेका छन्। ‘आजको छाक कसरी टार्ने ? ’ जस्ता अनगिन्ती प्रश्नहरू उनको दिनचर्या बनेका छन्, जुन हरेक साँझ र बिहान दोहोरिइरहन्छन्। सुनिता बिस्तारै त्यो भारले थिचिँदै गए पनि उनले हार मानेकी छैनन्। उनको मौन संघर्ष र सन्तानका लागि बाँच्ने अडान केवल दुःखको कथा मात्र नभएर अदृश्य साहसको उदाहरण पनि हो। मगन्तनपूर्वाका धेरै कुनाहरूमा जहाँ विकासका पाइला पुग्न बाँकी छ, त्यहाँ सुनिता जस्ता धेरैको जीवन एउटा प्रश्नचिह्न बनेर उभिएको छ।

उनी हरेक बिहान अभाव र भोकसँग लड्न तयार हुन्छिन्, तर परिस्थिति सधैं अनुकूल हुँदैन। ‘छोरीहरूलाई पढाउन सकिनँ, अहिले छोरो विवेकलाई जेनतेन पढाउँदै छु,’ लामो सास तान्दै उनी भन्छिन्, ‘महिनाको १२ सय रुपैयाँ शुल्क लाग्छ। कि मजदुरी गर्नुपर्छ कि त माग्न जानुपर्छ, अरू उपाय छैन।’ 

मागेरै भए पनि उनले छोरालाई गाउँकै एउटा निजी विद्यालयको कक्षा १ मा भर्ना गरेकी छन्। आमाले मागेर हुर्काएका विवेकको मनमा पनि उज्यालो सपना छ। अभावबीच पनि अरूको पीडा बुझ्ने संवेदना उनीमा देखिन्छ। विवेक भन्छन्, ‘मैले धेरै पढेँ भने पढ्न नपाएकाहरूलाई सहयोग गर्नेछु।’ उनको यो भनाइ केवल बालसुलभ इच्छा मात्र नभई पुस्तौंदेखिको पीडाबाट उम्रिएको करुणा र आशा हो।
नेपालगन्जको पूर्व–दक्षिण किनारामा अवस्थित यो महाउत समुदाय धुलो, हिलो र घामसँगै अभावमा पसिना बगाइरहेको जाति हो। पुस्तौंदेखि मागेर जीवन धान्दै आएको यो समुदाय अहिले विस्तारै आफ्नो नियति आफैं लेख्न थालेको छ। कुसंस्कारका जालाहरू चुँडाउँदै उनीहरू नयाँ बिहानको खोजीमा छन्। रेखा यही परिवर्तनको एउटा सजीव प्रतीक हुन्। अवधि मातृभाषा भए पनि उनी स्पष्ट नेपाली बोल्छिन्। विद्यालयको ढोका नदेखेकी उनले जीवनका पाठ सडकमै सिकिन् तर पुख्र्यौली मगन्ते पेसा भने चटक्कै छोडिन्।

अहिले उनी आफ्नै श्रमले बनाएको सानो घरमा सम्मानपूर्वक बस्छिन्। ‘मैले त पढ्न पाइनँ, तर भिख माग्न पनि गइनँ,’ उनी भन्छिन्, ‘छोराहरूलाई जसरी भए पनि पढाउने अठोट छ।’ 

उनका तीन छोरामध्ये दुई जना अंग्रेजी माध्यमको विद्यालयमा पढ्छन्। बाल्यकालमै बालबालिकालाई माग्न पठाउने चलनविरुद्ध रेखाजस्तै नयाँ पुस्ताले अहिले प्रश्न उठाउन थालेको छ। २२ वर्षीया अनिता महाउत पनि रेखाकै मार्ग पछ्याउँदै छिन्। एक छोरा र एक छोरीकी आमा अनिता भन्छिन्, ‘बरु ज्याला–मजदुरी गर्छु, तर अरूको ढोका अगाडि हात फैलाउन मन लाग्दैन।’ आर्थिक अभावकै कारण आफूले कक्षा ५ मै पढाइ छोडेर विवाह गर्नुपरेको 
पीडा उनले सुनाइन्।

निर्वाचनका बेला नेताहरूले गरिबका नाममा बाँड्ने आश्वासन अहिले मगन्तेहरूको कानमा गुन्जिरहेको छ। तर बस्तीका धेरै गरिबहरू पैसा नभएकै कारण शिक्षाबाट वञ्चित हुनुपरेको तितो यथार्थ सुनाउँछन्। उनीहरू भन्छन्, ‘नेता र मन्त्रीका भनाइको कुनै अर्थ छैन, चुनावमा आश्वासन दिनेहरू धेरै आए र गए।’ गाउँमा टेलिफोन टावर जडान भएपछि कतिपयले मोबाइलमार्फत संसार बुझ्न थालेका छन्। सामाजिक सञ्जालमा भाइरल हुने नेताका भाषण र ‘समाजवाद’का कुरा सुन्दा उनीहरू प्रश्न गर्छन्, ‘कस्तो हुन्छ समाजवाद ? हाम्रो बस्तीमा त अभाव र अशिक्षाबाहेक अरू कुनै ‘वाद’ आएको छैन।’ राजनीतिक दलका नेताहरूले सधैं झुटो बोलेर भोट मागेका कारण उनीहरूमा अब कसैप्रति विश्वास बाँकी छैन।

नेपालगन्ज सहरबाट करिब ५ किलोमिटर टाढा डुडुवा गाउँपालिका–६ मा ११२ महाउत परिवार बस्दै आएका छन्। बाँके र बर्दियामा फैलिएको यो अतिविपन्न समुदायमा अहिले चेतनाको प्रकाश बल्न थालेको छ। यस लोपोन्मुख समुदायलाई सूचीकृत गराउन उनीहरूले धेरै पटक काठमाडौं धाए, मन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए, तर अहिलेसम्म कतैबाट सुनुवाइ भएको छैन। ३३ वर्षीय केलाराम महाउत बस्तीमा परिवर्तनको संवाहक बनेका छन्। ‘पढाइ छोडेर माग्न जाने परम्परा मानिनँ, एसएलसी पास गरेर अहिले कलेजमा जागिरे छु,’ उनी भन्छन्। उनी यस बस्तीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने पहिलो व्यक्ति हुन्। 

अहिले अन्य ५ जनाले पनि एसइई पास गरिसकेका छन्, जसमा गायत्री महाउत उच्च शिक्षा अध्ययनरत छिन्। केलारामले ‘मगन्ता सुधार समूह’ गठन गरेर नेतृत्व गरे पनि राज्यको बेवास्ताले गर्दा उनी अहिले निराश देखिन्छन्। यस समुदायमा विवाह गर्दा केटा पक्षले केटीका अभिभावकलाई नगद दिनुपर्ने कठोर चलन थियो, जसले महिलालाई इच्छाविपरीत विवाह गर्न बाध्य पाथ्र्यो। तर, अहिले यो चलन हटेर गहना दिने संस्कार सुरु भएको छ। बस्तीभित्र अझै पनि परम्परा जोगाउनुपर्ने र परिवर्तन अँगाल्नुपर्ने दुई धार छन्, तर समयसँगै परिवर्तनको धार बलियो हुँदैछ। 
पहिले जस्तो घरघरमा माग्दै हिँड्ने र मागेको पैसा जाँडरक्सीमा सकाउने प्रवृत्ति कम हुँदै गएको छ। कतिपयले कमाएको पैसाले पक्की घरसमेत बनाएका छन्। ‘अरूसँग हात फैलाउनुभन्दा आफ्नै पसिनामा विश्वास गर्न थालेका छौं,’ स्थानीय खेदु माहुत भन्छन्।

रोचक कुरा के छ भने, जहाँ अन्य समाजमा छोरा जन्मिँदा खुसी मनाइन्छ, महाउत समुदायमा छोरीको जन्मलाई घरको उज्यालो मानिन्छ। छोरी जन्मेको खुसीमा मिठाई बाँडिन्छ। यहाँ दाइजोको बोझ छैन, बरु विवाहमा जुट्ने रकम नवदम्पतीको भविष्य निर्माणमा खर्च गरिन्छ। यो समुदाय गरिबी र अशिक्षाको घेरामा भए पनि केही सामाजिक मान्यतामा असाधारण देखिन्छ। घर छोडेर गएकी महिलालाई पुनः सम्मानका साथ स्वीकार गर्ने र नियमभन्दा बढी मानवतालाई महत्व दिने उनीहरूको आफ्नै संस्कार छ। यद्यपि, धेरै सन्तान जन्माउनेलाई सम्मान गर्ने पुरानो सोच भने अझै पूर्णरूपमा हटिसकेको छैन।

बस्तीमा ५० वर्षीया मलती महाउत आफ्नै आँगनबाट परिवर्तन नियालिरहेकी छिन्। ‘घर अगाडि पक्की सडक बन्यो, अब बर्खामा हिलो हुँदैन,’ उनी खुसी व्यक्त गर्छिन्। घरघरमा बिजुली पुगेपछि अँध्यारो हटेको छ र जाँडरक्सी छाड्नेहरूको संख्या बढेकाले बस्तीको स्वरूप फेरिएको छ। तर, अझै पनि कमाइको निश्चित बाटो नहुँदा बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरेको दुःख उनी सुनाउँछिन्।

यही बस्तीकी अनिता महाउत पनि आत्मसम्मानका साथ बाँच्न चाहन्छिन्। ‘म माग्न जान्नँ, बरु ज्याला–मजदुरी गर्छु,’ उनी दृढ स्वरमा भन्छिन्। आफ्ना अधुरा अक्षरहरू अब सन्तानका कापीमा पूरा हुने आशामा उनी छिन्। रिना महाउत पनि आफ्ना सन्तान र आफन्तका नानीहरू विद्यालय गएको देखेर खुसी छिन्। ‘मैले त पढ्न पाइनँ, तर मेरा सन्तानले पढ्दैछन्,’ उनी भन्छिन्। यहाँ छोरीहरू सरकारी विद्यालय र छोराहरू बोर्डिङ स्कुल जाने चलन बढ्दैछ। जीविकोपार्जनका लागि कोही विदेश त कोही स्थानीय होटल र क्यासिनोमा श्रम गरिरहेका छन्।

१८ वर्षीय आशिष महाउतका पाइलाहरू पनि नयाँ समयतर्फ उन्मुख छन्। पहिले बस्तीको नाम लिन लाज मान्ने उनी अहिले परिवर्तन देखेर गर्व गर्छन्। नाला बनेपछि डुबानको समस्या हटेको छ र टेलिफोन टावरले उनीहरूलाई संसारसँग जोडेको छ। आशिषका बुबाले वैदेशिक रोजगारीबाट फर्केर खेत किनेका छन्, जहाँ अहिले समृद्धिको आशा रोपिएको छ। लोपोन्मुख अवस्थामा रहेको र राज्यको औपचारिक सूचीमा अझै नसमेटिएको यो महाउत समुदाय अहिले आफ्नै साहस र पसिनाले कुसंस्कारको अँध्यारो चिर्दै आत्मसम्मानको उज्यालोतिर  लम्किरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.