आन्तरिक पर्यटकको आकर्षणमा ‘शिव भाइरल डाँडा’

आन्तरिक पर्यटकको आकर्षणमा ‘शिव भाइरल डाँडा’
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा अवस्थित ‘शिव भाइरल डाँडा’ पछिल्लो समय आन्तरिक पर्यटनको नयाँ गन्तव्यका रूपमा उदीयमान भएको छ। प्राकृतिक सुन्दरता, धार्मिक आस्था र आधुनिक प्रविधि अर्थात् सामाजिक सञ्जालको प्रभावको संगमले यो डाँडालाई छोटो समयमै चर्चाको शिखरमा पु¥याएको हो। 

महेन्द्र राजमार्गअन्तर्गत पर्ने यो स्थान अर्घाखाँचीको शीतगंगा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको छ। केही वर्षअघिसम्म सामान्य चट्टानी पहाडका रूपमा चिनिने यो क्षेत्र अहिले दैनिक सयौं पर्यटकको गन्तव्य बनेको छ। महेन्द्र राजमार्ग निर्माणका क्रममा चट्टानी पहाड काटेर सडक विस्तार गरिएपछि बनेको यो भू–आकृति सुरुवातमा खासै चर्चामा थिएन। तर, समयसँगै यहाँ खिचिएका आकर्षक तस्बिर तथा भिडियोहरू फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि यसको परिचय व्यापक रूपमा फैलियो। अहिले त अवस्था यस्तो बनेको छ कि, राजमार्ग हुँदै यात्रा गर्ने धेरैजसो सवारी साधन यहाँ केहीबेर रोकिने गर्छन्।

घुमफिरप्रेमी युवादेखि परिवारसहितका यात्रु र धार्मिक आस्थावानसम्मका लागि यो स्थान अहिले ‘जानैपर्ने ठाउँ’ को रूपमा स्थापित भइसकेको छ। यहाँ पुग्नेहरू चट्टानी बनावट, हरियाली परिवेश र माथिबाट देखिने मनोरम दृश्यमा रमाउने मात्रै होइन, सामाजिक सञ्जालका लागि आकर्षक सामग्री पनि सिर्जना गर्छन्।

यस डाँडाको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको धार्मिक स्वरूप हो। स्थानीय बासिन्दा तथा शिवराज नगरपालिकाको सक्रियतामा यहाँ भगवान् शिवको चित्र कोर्ने, नागको मूर्ति स्थापना गर्ने तथा विभिन्न शिवलिंगहरू राख्ने कार्य गरिएको छ। यसले पर्यटकहरूमा आध्यात्मिक आकर्षण थपेको छ। स्थानीय रोन्द्र विक भन्छन्, ‘पहिला यो ठाउँ सामान्य पहाड मात्रै थियो, अहिले भने धार्मिक र पर्यटकीय दुवै हिसाबले चिनिन थालेको छ।’ धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संयोजनले यहाँ आउने आगन्तुकलाई फरक अनुभूति दिलाउने गरेको छ।

हाल दैनिक रूपमा करिब ४ सयदेखि ५ सय जनासम्म आन्तरिक पर्यटकहरू यहाँ पुग्ने गरेका छन्। विशेषगरी सार्वजनिक बिदा, शनिबार र चाडपर्वका अवसरमा यहाँको भीड अझ बढ्ने गरेको छ। यात्रुहरू केही समय वि श्राम लिँदै तस्बिर तथा भिडियो खिच्ने, सामाजिक सञ्जालमा साझेदारी गर्ने र पुनः आफ्नो गन्तव्यतर्फ लाग्ने दृश्य यहाँ सामान्य भइसकेको छ। यसरी सामाजिक सञ्जालकै माध्यमबाट प्रचार–प्रसार झनै तीव्र हुँदै गएको छ।

चोर खोला र धानखोलाको बीचमा अवस्थित यो डाँडा प्राकृतिक बनावटका कारण पनि अत्यन्त आकर्षक देखिन्छ। चट्टानका तहहरू, वरिपरिको हरियाली र माथिबाट देखिने राजमार्गको दृश्यले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउँछ। तर, बढ्दो लोकप्रियतासँगै केही चुनौतीहरू पनि देखिन थालेका छन्। पर्याप्त पूर्वाधारको अभाव, व्यवस्थित पार्किङ स्थलको कमी, सरसफाइको समस्या र सुरक्षासम्बन्धी चुनौतीहरू अझै समाधान हुन बाँकी छन्। अर्घाखाँचीबाट घुम्न पुगेका नवीन केसी भन्छन्, ‘यदि स्थानीय तहले समयमै ध्यान दियो भने यो स्थानलाई अझ व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ।’

यद्यपि, यस क्षेत्रले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सुरु गरिसकेको छ। सडक किनारमा साना चिया–नास्ताका पसलहरू खुल्न थालेका छन्। केही स्थानीयले पर्यटक लक्षित सेवा विस्तार गर्ने योजना पनि बनाइरहेका छन्। यसले रोजगारीका अवसर सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको खपत बढाउने सम्भावना देखिएको छ।

समग्रमा, ‘शिव भाइरल डाँडा’ सामाजिक सञ्जालको प्रभाव, स्थानीय पहल, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको उत्कृष्ट संगमको उदाहरण बनेको छ। यदि आवश्यक पूर्वाधार विकास, व्यवस्थित योजना र दीगो व्यवस्थापनमा ध्यान दिइयो भने, यो स्थान लुम्बिनी प्रदेशकै मात्र होइन, देशकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना बोकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.