धनगढीका मेयर हमालले आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई दिए झन्डै २४ लाखको शैक्षिक सामग्री
मेयर हमालले उक्त रकम उपमहानगरभित्रका ४७ आधारभूत, मावि र नमुना माविहरुका ११ हजार १५२ जना विद्यार्थीलाई वितरण गरेका हुन ।
धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफुले पाएको सरकारी सेवा सुविधा सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्टेशनरीका लागि वितरण गरेका छन । धनगढीमा मेयर निर्वाचित भएपछि उनले आर्थिक वर्ष २०७८/८९ यता २३ लाख ९७ हजार सेवा सुविधा बाफतको रकम सामुदायिक विद्यालयका विद्यार्थीको स्टेशनरीका लागि वितरण गरेका हुन ।
मेयरको निर्वाचन अघि नै उनले आफुले पाउने सेवा सुविधा नलिने घोषणा गरेका थिए । उनले सेवा सुविधा नलिने भनेपछि सरकारी रकम उनको खातामा आउने गरेको थियो। मेयर हमालले उत्तर रकम उपमहानगरभित्रका ४७ आधारभूत, माध्यमिक र नमुना माध्यमिक विद्यालयका ११ हजार १५२ जना विद्यार्थीलाई वितरण गरेका हुन्।
मेयर हमालले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै चालू आर्थिक वर्षको सेवा-सुविधा बापतको ९ लाख ३६ हजार र आफ्नो व्यक्तिगत ५ लाख १७ हजार गरी साढे १४ लाख रुपैयाँ (१४ लाख ५३ हजार) वितरणको तयारी भइरहेको जानकारी दिए। सामुदायिक विद्यालयमा कापी-कलम र स्टेशनरी अभावका कारण मात्र पनि पढाइ प्रभावित भएको देखेपछि आफूले यस्तो कदम चालेको उनले बताए।
‘उपमहानगरले पहिलो पटक आधारभूत तहको परिक्षा आफै सञ्चालन गर्दा १ निजी र १६ सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो । त्यसको समिक्षा गर्दा सामुदायिक विद्यालयमा सामान्य स्टेशनरीको पनि अभावका कारण बालबालिका असफल हुने गरेको थाहा पाएँ, अनि मैले यो निर्णय लिएँ,' उनले पत्रकार सम्मेलनमा भने।
‘एक जना शिक्षकले त स-साना छात्राहरु बुवाको पाईन्टमा डोरी बाँधेर आउने गरेको कथा सुनाएपछि मैले आफ्नो पारिश्रमिक सामुदायिक विद्यालयका विद्यार्थीका लागि स्टेशनरीमा खर्च गर्ने निर्णय गरे’ मेयर हमालले भने। उनले अहिले पनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको परिवार स्टेशनरी सम्म पुगाउन नसक्ने अवस्थामा रहेका बताए ।
विगत तीन वर्षदेखि औसत ८ प्रतिशत मात्र उत्तीर्ण नतिजा रहेको आधारभूत तहको परीक्षाफल यस वर्ष बढेर ५० प्रतिशत पुगेको छ। मेयर हमालको यस्तो कल्याणकारी कार्य देखेपछि सामुदायिक विद्यालयका शिक्षकहरूको मेहेनतका कारण नतिजामा सुधार आएको हाे ।
प्रतिक्रिया दिनुहोस !