आस्था र पर्यटनको नयाँ गन्तव्य आदित्य मोक्षधाम

आस्था र पर्यटनको नयाँ गन्तव्य आदित्य मोक्षधाम

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–२ अन्तर्गत पर्ने कुशादेवी दारीमबोट क्षेत्र पछिल्लो समय धार्मिक तथा आध्यात्मिक गतिविधिको नयाँ केन्द्रका रूपमा परिचित बन्दै गएको छ।प्राकृतिक सुन्दरता, शान्त वातावरण र धार्मिक चेतनालाई एकैसाथ समेटेर निर्माण भइरहेको आदित्य मोक्षधाम मन्दिर अहिले आस्था, अध्यात्म र ग्रामीण विकासको संगमस्थलका रूपमा चर्चा कमाइरहेको छ।साथै स्थल आस्था, अध्यात्म र विकासको संगमसमेत बनेको छ।

पहाडी भू–भागको रमणीय वातावरणमा अवस्थित मोक्षधाम परिसरले धार्मिक महत्वसँगै पर्यटकीय आकर्षणसमेत थपेको देखिन्छ।हरियाली जंगल, खुला प्राकृतिक दृश्य, शान्त परिवेश तथा व्यवस्थित संरचनाले यहाँ पुग्ने जो–कोहीलाई आत्मिक शान्तिको अनुभूति गराउने स्थानीयहरूको भनाइ छ।

विशेषगरी रातिको समयमा आकर्षक बत्तीले सजिएको मन्दिर परिसर तथा माथिबाट देखिने मनमोहक दृश्यले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाइरहेको छ।पछिल्लो समय सार्वजनिक भइरहेका ड्रोन भिडियोहरूले आदित्य मोक्षधामलाई धार्मिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेका छन्।

मन्दिर निर्माणको मूल परिकल्पना मानिसलाई आध्यात्मिक चेतना, धार्मिक संस्कार र आत्मिक शान्तितर्फ उन्मुख गराउनु रहेको आयोजक पक्षले जनाएको छ।आधुनिक जीवनशैली, बढ्दो मानसिक तनाव तथा भौतिकतामुखी सोचका कारण मानिसहरूमा आत्मिक असन्तुलन बढ्दै गएको निष्कर्षसहित धर्म, ध्यान र साधनामार्फत सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले मोक्षधाम स्थापना गरिएको बताइन्छ।

  • काभ्रेपलाञ्चोकको पनौती–२ स्थित कुशादेवी दारीमबोटमा निर्माणाधीन आदित्य मोक्षधाम धार्मिक तथा आध्यात्मिक केन्द्रका रूपमा चर्चामा छ।
  • प्राकृतिक सुन्दरता, हरियाली जंगल, शान्त वातावरण र आकर्षक संरचनाले मोक्षधामलाई पर्यटकीय गन्तव्यसमेत बनाएको छ।
  • मोक्षधामको उद्देश्य मानिसलाई ध्यान, साधना, धर्म र आत्मिक शान्तितर्फ उन्मुख गराउनु रहेको छ।
  • धार्मिक पर्यटन विस्तारसँगै साना व्यापारमा पनि आर्थिक गतिविधि बढ्न थालेको छ।

मन्दिरका संरक्षक रामे˘वर थापाका अनुसार यो स्थल केवल पूजा गर्ने स्थानमात्र नभई मानिसलाई आत्मचिन्तन, मानवता र अध्यात्मसँग जोड्ने केन्द्रका रूपमा विकास गरिँदै रहेको बताए उनले भने, ‘मानिसले भौतिक सुख प्राप्त गरे पनि आत्मिक शान्तिबिना जीवन पूर्ण हुँदैन।आदित्य मोक्षधाम मानिसलाई सकारात्मक सोच, शान्ति र आध्यात्मिक ऊर्जासँग जोड्ने अभियान हो।हामी यसलाई धार्मिक तथा सामाजिक चेतनाको केन्द्रका रूपमा विकास गर्न चाहन्छौं।’

स्थानीय बासिन्दाका अनुसार मोक्षधाममा दैनिक रूपमा विभिन्न जिल्लाबाट श्रद्धालुहरू दर्शनका लागि पुग्ने गरेका छन्।भक्तजनहरू पारिवारिक सुख–शान्ति, स्वास्थ्य, समृद्धि तथा मनोकामना पूरा हुने विश्वासका साथ यहाँ आउने गरेका छन्।यहाँ नियमित पूजा–आराधना, दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान गर्दा मानसिक शान्ति प्राप्त हुने धार्मिक विश्वास समेत रहेको पाइन्छ।विशेषगरी ध्यान, साधना तथा प्राकृतिक वातावरणमा समय बिताउन चाहनेहरूका लागि यो स्थल आकर्षणको केन्द्र बन्दै गएको छ।

धार्मिक महत्वसँगै मोक्षधामले स्थानीय समुदायको आर्थिक तथा सामाजिक जीवनमा समेत सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ।दर्शनार्थी तथा पर्यटकको आगमन बढेसँगै स्थानीय होटल व्यवसाय, यातायात, कृषि उत्पादन तथा साना व्यापारिक गतिविधिमा चहलपहल बढ्न थालेको स्थानीयहरू बताउँछन्। ग्रामीण क्षेत्रमा धार्मिक पर्यटन विस्तार हुँदा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।यसले स्थानीय युवालाई गाउँमै आर्थिक गतिविधिमा जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ।

त्यस्तै, धार्मिक तथा सांस्कृतिक गतिविधि विस्तार हुँदा स्थानीय संस्कार, परम्परा र सामाजिक एकतामा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ।समाजमा धर्म, नैतिकता र मानवीय मूल्यप्रति चेतना अभिवृद्धि गर्न मोक्षधामले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।आयोजक पक्षले आगामी दिनमा ध्यान केन्द्र, साधना स्थल, अतिथि विश्रामस्थल तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ।यस क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य समेत राखिएको छ।

पछिल्लो समय नेपालमा धार्मिक पर्यटनको सम्भावना बढ्दै गइरहेका बेला आदित्य मोक्षधामजस्ता परियोजनाले ग्रामीण क्षेत्रको पहिचान, आर्थिक गतिविधि तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने देखिन्छ।आस्था, प्रकृति र आधुनिक प्रस्तुतीकरणलाई एकै सूत्रमा बाँधेर अघि बढाइएको आदित्य मोक्षधामले काभ्रेपलाञ्चोकको धार्मिक तथा पर्यटन क्षेत्रलाई नयाँ पहिचान दिने अपेक्षा गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.