विदेश होइन, नेपालमै केही गर्ने अठोट

सोलुखुम्बुमा तेक्वान्दोको जग बसाल्ने न्हवाङ

सोलुखुम्बुमा तेक्वान्दोको जग बसाल्ने न्हवाङ

भाग्यले मानिसलाई कहाँ, कतिखेर र कसरी डोहोर्‍याउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन। कहिले कुनै अनपेक्षित मोडले बाटो बदलिदिन्छ। भनिन्छ, समय निरन्तर अगाडि बढिरहेको हुन्छ र त्यससँगै हाम्रो गति, सोच र निर्णय पनि दौडिरहेका हुन्छन्।

मान्छेले योजना बनाउँछ, सपना देख्छ र तयारी गर्छ। तर, जीवनले कहिलेकाहीँ ती योजना उल्ट्याइदिन्छ। यस्तै अवस्था आयो, न्हवाङ केसाङ लामाको जीवनमा पनि। रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका न्हवाङले सोलुखुम्बुमा पुगेर तेक्वान्दोको विकास गर्छु भन्ने कुरा कल्पनै गरेका थिएनन्। समयको गतिसँगै उनी सोलुखुम्बु पुगे। त्यहाँ तेक्वान्दो खेलको जग बसाए। खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पनि पुर्‍याए। 

काठमाडौंमा बस्दै आएका न्हवाङ २०७३ सालमा सोलुखुम्बु पुगेका थिए। थुलुङ दूधकोशी गाउँपालिकामा तेक्वान्दो प्रशिक्षण सुरु गर्ने योजना बनाए। नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ मानिसहरूकाबीचमा न्हवाङ केही समय त अलमल्लमा परे। तर, जुन लक्ष्य र उत्साह पुगेर त्यहाँ पुगेका थिए, त्यसलाई फत्ते नगरी हुँदैन्थ्यो। यही कुरालाई मनन गरेर उनले खेलाडी खोज्ने काम गरे। यो काममा गाउँपालिकाले पनि सहयोग गर्‍यो। त्यसपछि सोलुखुम्बु जिल्लामै पहिलो पटक तेक्वान्दो सिकाउने काम उनले सुरु गरे। 

केही समयपछि उनी नेचा सल्यान गाउँपालिकामा तेक्वान्दो प्रशिक्षकका रुपमा नियुक्त भए। उनले त्यहाँ २०७९ सालसम्म प्रशिक्षण गराए। २०७५ सालमा नेपाल तेक्वान्दो संघको सोलुखुम्बु जिल्लाको तदर्थ कमिटी गठन भयो। उनले त्यसको नेतृत्व लिए।

२०७८ मा भएको निर्वाचनमा उनी अध्यक्षमा नियुक्त भए। २०८२ को सुरुवाती समयसम्म सोलुखुम्बुमा रहेका उनले तीन सयभन्दा बढी खेलाडी उत्पादन गरेका छन्। अहिले दूधकुण्ड नगरपालिकासँगै अन्य तीन पालिकामा पनि तेक्वान्दो विस्तार भएको छ। जिल्लाका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। सोलुखुम्बुका खेलाडीले सातौं राष्ट्रिय खेलकुद, आठौं राष्ट्रिय खेलकुदसँगै विभिन्न प्रदेशस्तरीय, जिल्लास्तरीयलगायतका प्रतियोगितामा पनि सहभागिता जनाइसकेको न्हवाङ बताउँछन्। सोलुखुम्बुमा तेक्वान्दो विस्तार गर्न केन्द्रीय संघले पनि सहयोग गर्दै आएको छ। संघले विभिन्न खेलकुद सामग्री प्रदान गरेको उनले बताए। 

जागिर छाडेर प्रशिक्षणमै सक्रिय
२०७९ मा नगरपालिकाको जागिर छाडेर न्हवाङ काठमाडौं आए। काठमाडौं आएपछि उनी तेक्वान्दो प्रशिक्षणमै सक्रिय रहँदै आएका छन्। उनले नव गुरुकुल, शुभकामना, त्रिपुरा, डायमन्ड र होली एञ्जल स्कुलमा तेक्वान्दो प्रशिक्षण गराउँदै आएका छन्।

null

उनले चार सयभन्दा बढी खेलाडीलाई प्रशिक्षण गराउँदै आएका छन्। साना बालबालिकालाई तेक्वान्दो सिकाउँदा छुट्टै अनुभव हुने न्हवाङ बताउँछन्। ‘साना बालबालिकाको उमेर नै चञ्चल हुन्छ। उनीहरूलाई खेलप्रति ‘कन्सन्ट्रेसन’ गराउन निकै मेहनत पनि चाहिन्छ’, उनी भन्छन्, ‘आफ्नो मेहनत अनुसार खेलाडीले राम्रो गर्दा भने खुसी लाग्छ।’

डोजाङ खोल्ने लक्ष्य
न्हवाङको दैनिकी निकै व्यस्त छ। विभिन्न स्कुलमा समय दिनुपर्दा उनी व्यस्त हुन्छन्। विद्यालयका साना बालबालिकालाई प्रशिक्षण गराउँदै आएका उनको लक्ष्य डोजाङ खोल्ने छ। ‘विद्यालयहरूमा त खेलाडी उत्पादन गर्दै आएको छु। आफ्नै डोजाङ खोलेर खेलाडी उत्पादन गर्ने लक्ष्य छ’, न्हवाङ भन्छन्, ‘नेपालमै बसेर तेक्वान्दोमै केही गर्नुपर्छ भन्ने सोच छ। विदेश चाहिँ जादिनँ। जे सक्छु, देशमै बसेर गर्छु।’

सात वर्षको उमेरदेखि खेलकुदमा 

न्हवाङले सात वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेका हुन्। रामेछापमा जन्मिए पनि उनी पढाइका लागि काठमाडौंमा बसेका थिए। कपनमा श्याम थापाबाट प्रशिक्षण लिएका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरे।

२०६८ सालसम्म सक्रिय खेलाडी जीवन बिताएका उनले त्यसपछि भने प्रशिक्षणलाई अगाडि बढाए। उनले २०७० मा राष्ट्रिय खेलकुद परिषद्को खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले आयोजना गरेको स्वयंमसेवक प्रशिक्षक तालिम लिएपछि पनि प्रशिक्षणमा लाग्न सहज भएको उनी बताउँछन्। 

रेफ्रीमा पनि सक्रिय
न्हवाङ तेक्वान्दोमा सक्रिय रुपमा लागेको दुई दशभन्दा बढी समय भइसक्यो। खेलाडी हुँदै प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका उनी राष्ट्रिय रेफ्री पनि हुन्।

सन् २०१२ देखि रेफ्री गर्दै आएका उनले विभिन्न राष्ट्रिय प्रतियोगितासँगै नेपालमा आयोजना भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। उनले कोरियन एम्बेस्डर, माउन्ट एभरेष्टलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलतापूर्वक रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन्। 

सेल्फ डिफेन्सका उत्कृष्ट प्रशिक्षक
न्हवाङ तेक्वान्दोसँगै सेल्फ डिफेन्सका पनि प्रशिक्षक हुन्। मोरक्ककोमा सन् २०१७ मा भएको प्रतियोगितामा उनले प्रतिस्पर्धा गरेका थिए। लगातार दुई फाइट जितेर फाइनलमा स्थान बनाएका उनी पोर्चुगलका खेलाडीसँग पराजित भएपछि रजत पदकमा सीमित भएका थिए। सन् २०२२ मा उनले सेल्फ डिफेन्सको उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि पाएका थिए।

पोल्यान्डका खेलाडीलाई नेपालमा ल्याएरसमेत उनले सेल्फ डिफेन्स सेमिनार सञ्चालन गरेका थिए। उनले १९ जिल्लामा आत्मरक्षा तालिम दिइसकेका छन्। उनी तेक्वान्दोकै कारण सेल्फ डिफेन्समा पनि जोडिन पाएको बताउँछन्। ‘तेक्वान्दो पनि मार्सल आर्ट्सकै एउटा विधा हो। मार्सल आर्ट्स सेल्फ डिफेन्स पनि हो। तेक्वान्दोमा सिकेको कलाले नै सेल्फ डिफेन्समा काम गर्न सहज भयो’, न्हवाङ भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.