ट्रम्प चीन भ्रमणमा जाँदै, सी जिनपिङसँग विशेष वार्ता हुने
काठमाडौं : इरानसँगको बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्। चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्प आगामी मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहने पुष्टि गरेको छ।
यो करिब नौ वर्षपछि कुनै पनि अमेरिकी राष्ट्रपतिको पहिलो चीन भ्रमण हुनेछ। ट्रम्पको यो भ्रमण यसअघि मार्च महिनामै तय भए तापनि मध्य-पूर्वमा चुलिएको तनावका कारण स्थगित गरिएको थियो।
भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा मध्य-पूर्वको वर्तमान स्थिति र विशेषगरी 'स्ट्रेट अफ हर्मोज'को विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
हालै इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि चीनको भ्रमण गरेका थिए। यसअघि चीनले हर्मोज जलडमरू विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग भएको उल्लेख गर्दै यसको नाकाबन्दी गर्ने कार्य सही निर्णय नहुने स्पष्ट पारेको थियो।
प्रतिक्रिया दिनुहोस !