कैलालीमा विद्यालय भवनको शिलान्यास
काठमाडौं : कैलालीको धनगढी उप-महानगरपालिका-१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माणका लागि आज भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंहले शिलान्यास गरेका छन्।
भारत सरकारको आर्थिक सहयोग करिब ३.६ करोड रुपैयाँको लागतमा यस विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना धनगढी उप-महानगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
कैलालीको धनगढी उप-महानगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। उनीहरूले नयाँ संरचनाले धनगढी उप-महानगरपालिका, कैलालीका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
नजिकका छिमेकीका रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।
प्रतिक्रिया दिनुहोस !