रोयल इनफिल्डको नयाँ गरिल्ला ४५० नेपालमा
काठमाडौं : रोयल इनफिल्डले आफ्नो नयाँ अर्बन पर्फर्मेन्स रोडस्टर मोटरसाइकल गरिल्ला ४५० नेपाली बजारमा सार्वजनिक गरेको छ। दैनिक सहरी यात्रा, घुमाउरा सडक तथा लामो दूरीका यात्रालाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर वर्गमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ। गरिल्ला ४५० तीन भेरिअन्ट- एपेक्स, ड्यास र फ्ल्यास तथा आठ फरक रङमा उपलब्ध हुनेछ। नेपालका लागि मोटरसाइकलको आधिकारिक बिक्री तथा वितरण सुरु भइसकेको छ।
रोयल इनफिल्डका सार्क क्षेत्रीय व्यवसाय प्रमुख दीपक काकरले नेपालमा गरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले नेपालको सडक र युवा पुस्ताको रुचिलाई ध्यानमा राखेर यो मोटरसाइकल तयार गरिएको उल्लेख गर्दै सहरी तथा स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उपयुक्त विकल्प बन्ने विश्वास व्यक्त गरे।
गरिल्ला ४५० मा ४५२ सिसी क्षमताको एकल सिलिन्डर, तरल शीतलन प्रणालीयुक्त ‘शेर्पा’ इन्जिन जडान गरिएको छ। यसले ८ हजार आरपीएममा ४० पीएस शक्ति तथा ५ हजार ५ सय आरपीएममा ४० एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार ३ हजार आरपीएमबाटै अधिकांश टर्क उपलब्ध हुने भएकाले सहर देखी राजमार्गसम्म सहज सञ्चालन अनुभव दिनेछ। मोटरसाइकलमा ६-स्पिड गियर प्रणाली, असिस्ट तथा स्लिप क्लच, राइड–बाइ–वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड समावेश गरिएको छ। त्यस्तै, ११ लिटर इन्धन ट्यांकी, एलइडी हेड लाइट, एकीकृत पछाडिको बत्ती, माथितिर उठाइएको साइलेन्सर तथा स्टेप्ड बेन्च सिट जस्ता विशेषता समावेश छन्।
यसमा ४३ मिलिमिटर शोवा टेलिस्कोपिक अगाडिको सस्पेन्सन, मोनो–शक पछाडिको सस्पेन्सन तथा १७ इन्चका ट्युब लेस टायर प्रयोग गरिएको कम्पनीले जनाएको छ। सबै भेरियन्टमा ४ इन्चको टीएफटी ‘ट्रिपर ड्यास’ उपलब्ध हुनेछ, जसमा नक्सा मार्ग निर्देशन तथा स्मार्टफोन जडान सुविधा समावेश गरिएको छ। कम्पनीका अनुसार एपेक्स भेरियन्टलाई थप स्पोर्टी स्वरूप दिइएको छ। यसमा सडक केन्द्रित टायर, विशेष डिजाइनयुक्त पछाडिको सिट कभर तथा रङ मिलाइएको अगाडिको कभर समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस !